फोहोर व्यवस्थापनमा गम्भीर बन


बन्चरेडाँडा ल्यान्डफिल साइटवासीले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि बन्द गरेपछि उपत्यकाका विभिन्न स्थानको फोहोर स्रोतमै थन्किन थालेको छ । ल्यान्डफिल साइटका प्रभावित स्थानीयले फोहोर सदाका लागि बन्द गरेको जनाएका छन् । ककनी र धुनीबेसी गरी दुई स्थानीय तहका जनता सडकमा उत्रिएर सदाका लागि फोहोर ढुवानी बन्द भएको जनाएका छन् । अत्यावश्यक सेवामा बन्द र हड्ताल गर्न हुँदैन । तैपनि स्थानीयले वर्षौं पुरानो माग राखी फोहोर ढुवानी बन्द गरेका छन् । स्थानीयले आन्दोलन गरेपछि बुधबारबाट फोहोर विसर्जन गर्न पुगेका दर्जनौं सवारीसाधन बीचबाटोबाट फर्किएका छन् ।

विगतमा भएका सम्झौता कार्यान्वयन गर्न माग गर्दै फोहोर विसर्जन बन्द गरेको स्थानीयको भनाइ छ । पुरानै सम्झौताअनुसार माग पूरा नभएपछि अति प्रभावित स्थानीय आन्दोलनमा उत्रिन बाध्य भएको दाबी छ । स्थानीयले पटकैपिच्छे विभिन्न भाग राखी फोहोर ढुवानी बन्द गर्र्दै आएका छन् । यसपालि लामो समयपछि यसरी बन्द गरेका छन् । फोहोर विसर्जन बन्द भएपछि उपत्यकाका दुई महानगरसहित १८ स्थानीय निकायको फोहोर बाटोमै थुप्रिन थालेको छ । झन् दुईदिने झरीले गर्दा फोहोर मिसिएको हिलोले बाटोमा टेक्नै नहुने भएको छ ।

दुई वर्षअघि स्थानीय पीडित संघर्ष समितिसँग भएको १८ बँुदे प्रतिबद्धता कामपाका मेयर बालेन्द्र साहले पूरा गर्नुपर्ने स्थानीयको भनाइ छ । तर काठमाडौं महानगरपालिकाले स्थानीयको माग पूरा गर्न सक्ने अवस्था छैन । महानगरले सकेसम्म स्थानीयको माग पूरा गरिरहेको छ । बर्सेनि ५ करोड बढी रकम स्थानीयलाई सहयोग गरिरहेको छ । तर स्थानीयवासी भने छुमन्तर गरेजस्तो तत्काल सबै माग पूरा गर्न दबाब दिन थालेका छन् । आन्दोलनमा उत्रिएका स्थानीयले केही दिनअघि शहरी विकासमन्त्री कुलमान घिसिङसँग भेटेका थिए ।

मन्त्रीको आश्वासनले काम नगरेपछि हिजो बुधबारबाट अनिश्चितकालको लागि ल्यान्डफिल साइटमा फोहोर ढुवानी ठप्प पारेका छन् । फोहोर ढुवानी ठप्प हुँदा पनि सरकारले पहल गरेको देखिँदैन । तालुकदार निकाय गृह मन्त्रालय चुप बसेको छ । यसअघि गृह मन्त्रालयको पहलमा वार्ता हुने गरेको थियो । अहिले गृहमन्त्री ओमप्रकाश अर्यालसँग कुनै संवाद भएको छैन । कामपाको मुख्य जिम्मेवारीभित्र पर्ने फोहोर व्यवस्थापनमा देखिएको समस्या कसरी समाधान गर्ने भन्ने विषय यतिखेर अन्योलमा छ ।

यसअघि स्थानीयसँगै कामपा र शहरी विकासबीच चरणबद्ध वार्ता हुने गरेको थियो । वार्तापछि फोहोर सुचारु हुने गरेको थियो । अहिले कसले जिम्मेवारी लिने ? प्रश्न उठेको छ । तथ्याङ्कअनुसार ल्यान्डफिल साइटमा दैनिक १ हजार ४ सय टन फोहोर विर्सन हुने गरेको छ । त्यसमध्ये कामपाबाट दैनिक ७ सय र ललितपुर महानगरपालिकाबाट दैनिक करिब १ सय ५० टन फोहोर व्यवस्थापन हुने गरेको छ ।

त्यसबाहेक अन्य १६ स्थानीय निकायबाट करिब ५ सय ५० टन फोहोर बन्चरे ल्यान्डफिल साइटमा लैजाने गरेको छ । दैनिक करिब १ हजार ५ सय टन फोहोर व्यवस्थापन भइरहेको ल्यान्डफिल साइट ठप्प भएपछि फोहोर व्यवस्थापन गर्न गम्भीर समस्या भएको छ । समस्या समाधान गर्न सरकार एवं कामपाले चासो देखाउनुपर्छ । अन्यथा राजधानीलगायत १८ स्थानीय निकाय प्रदूषित शहरको रुपमा पहिचान हुन सक्छ । यस विषयमा तत्काल सोच्नु जरुरी छ ।