निजी क्षेत्रका नर्सहरुको आन्दोलन : सरकारी समिति निष्कर्षमा पुग्न असफल, भोली पुनः बैठक बस्ने


काठमाडौं। 

निजी क्षेत्रका नर्सहरुले उठाएका माग सम्बोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गठन गरिएको १४ सदस्यीय सरकारी समितिको बैठक आज बसे पनि कुनै ठोस निष्कर्षमा पुग्न सकेन । डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा बनेको सो समितिले तिहारअघि नै छलफल सुरु गरेको भए पनि आन्दोलनरत नर्सहरुको माग र निजी अस्पताल सञ्चालक पक्षबीच सहमति जुट्न नसकेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आजको बैठकमा समितिका सबै सदस्य सहभागी थिए, तर श्रम मन्त्रालयका प्रतिनिधि अनुपस्थित रहे । बैठकमा नर्सिङ पेशाका प्रतिनिधिहरुले पुनः सरकारी अस्पताल सरहको तलब सुविधा दिनुपर्ने आफ्नो पुरानो माग दोहोर्याएका थिए भने निजी मेडिकल तथा डेन्टल कलेज र अस्पताल सञ्चालकका प्रतिनिधिहरुले उक्त माग तत्काल कार्यान्वयन गर्न असमर्थता जनाएका थिए ।

‘नर्सहरुले स्वास्थ्य मन्त्रालयले गत मंसिर २६ गते गरेको निर्णय कार्यान्वयन हुनुपर्ने अडान लिएका छन्,’ एक सहभागी सदस्यले बताए, ‘तर निजी अस्पताल पक्षले सो माग यथास्थितिमा लागू गर्न नसकिने भन्दै वैकल्पिक मोडलका कुरा गरेका छन् । छलफल निकै गम्भीर भयो तर निष्कर्षमा पुग्न सकिएन ।’

बैठकमा विभिन्न मन्त्रालयका अधिकारी, निजी स्वास्थ्य संस्था सञ्चालक, आन्दोलनरत नर्सका प्रतिनिधि लगायत सहभागी थिए । निजी मेडिकल कलेज सञ्चालकहरूको तर्फबाट प्रा डा ज्ञानेन्द्रमान सिंह कार्की, निजी अस्पताल सञ्चालकहरूको तर्फबाट अफिन अध्यक्ष डा। पदम खड्का, तथा आन्दोलनरत नर्सहरूको तर्फबाट ज्योति रानाभाट लगायतले आ(आफ्ना धारणा राखेका थिए ।

बैठकको क्रममा “हामी नेपाली” संस्थाका प्रमुख सुदन गुरुङ पनि मन्त्रालयमा पुगेका थिए । तर प्रवक्ता बुढाथोकीका अनुसार उनलाई बैठकमा प्रवेश दिइएन । ‘डा। श्रेष्ठको संयोजकत्वमा सरकारको तर्फबाट तोकिएका सदस्यहरू मात्र बैठकमा सहभागी हुनुहुन्थ्यो,’ उनले बताए ।

छलफल निष्कर्षविहीन भएपछि समितिले भोली (शुक्रवार) बिहान ९ बजे पुनः बैठक बस्ने निर्णय गरेको छ । प्रवक्ता बुढाथोकीले भने‘आजको छलफलमा दुवै पक्षका धारणा सुन्न सकियो, तर सहमति नजुटेकाले अर्को बैठकमा विकल्प खोज्ने प्रयास हुनेछ ।’

नर्स संघको अडान : माग पुरा नभएसम्म आन्दोलन जारी

बैठकपछि नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष चन्द्रकला शर्माले पत्रकारहरूसँग कुरा गर्दै आजको छलफलले कुनै ठोस निष्कर्ष ननिकालेको जनाइन् । उनले माग पुरा नभएसम्म नर्सहरुको आन्दोलन निरन्तर रहने बताइन् । ‘हामीले उठाएका मागका विषयमा आज पनि छलफल भयो तर नतिजा आएको छैन,’ उनले भनिन्, ‘मन्त्रालयले निर्णय कार्यान्वयन नगरेसम्म हामी आन्दोलन रोकिने छैनौं ।’

एसोसिएसनले हालसम्मका आन्दोलन कार्यक्रम यथावत् राखेको छ । नर्सहरुले केही सातादेखि निजी अस्पताल र मेडिकल कलेजमा सेवा ठप्प पार्दै आएका छन् । उनीहरुको प्रमुख माग भनेको सरकारी अस्पतालमा कार्यरत नर्स सरह न्यूनतम तलब र सुविधा निजी क्षेत्रमा पनि लागू गरिनु हो ।

निजी क्षेत्रका सञ्चालकहरुले भने हालको अवस्थाले सो माग तत्काल कार्यान्वयन गर्न कठिन रहेको दाबी गरेका छन् । उनीहरुले अस्पताल सञ्चालन लागत, सेवा शुल्क र बजार अवस्थासँग मेल खाने गरी वैकल्पिक मोडल खोज्नुपर्ने मत राखेका छन् ।

सरकारले तिहारअघि आन्दोलनरत नर्सहरुको माग सम्बोधनका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा। श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरेको थियो । समितिले श्रम, शिक्षा, वित्त, चिकित्सा शिक्षा आयोग र निजी स्वास्थ्य संस्था प्रतिनिधिलगायतलाई समावेश गरेको छ ।

आन्दोलनका कारण देशभरका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य सेवा प्रभावित भएको छ । बिरामीहरुले उपचार पाउन कठिनाइ भोग्दै आएका छन् । अब भोली बिहान हुने बैठकले केही ठोस नतिजा निकाल्ने अपेक्षा गरिएको छ ।