काठमाडौं ।
नेपाल सरकार र जापान सरकारबीच वि.पी. राजमार्गको बाढी प्रभावित खण्डहरूको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा बिहीबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।
महोत्तरीको बर्दिबासदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म १५९ किलोमिटर लम्बाई भएको वि.पी. राजमार्ग जापानको सहयोगमा निर्माण गरिएको राष्ट्रिय स्तरको महत्वपूर्ण पूर्वाधार हो। गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण राजमार्गका विभिन्न खण्ड गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए। विशेषगरी रोशी नदी आसपासका केही भाग पूर्ण रूपमा नष्ट भएपछि त्यसको पुनर्निर्माण अत्यावश्यक भएको थियो।
राजमार्ग पुनर्निर्माणका लागि जापान सरकारले नेपाल सरकारलाई २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ।
सम्झौताअनुसार, अनुदान सहायतासम्बन्धी Exchange of Notes मा नेपाल सरकारको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र जापानका तर्फबाट नेपालका लागि राजदूत महामहिम तोरु माएदाले हस्ताक्षर गरे। सोही अवसरमा अनुदान सम्झौतामा नेपाल सरकारका तर्फबाट वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (JICA) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरे।
हस्ताक्षर समारोहमा मन्त्रीमण्डलका सदस्य, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरू, जापान दूतावासका प्रतिनिधि र जाइका नेपालका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।
समारोहपछि सम्बोधन गर्दै अर्थमन्त्री खनालले जापान नेपालका लागि विश्वसनीय र दीर्घकालीन विकास साझेदार रहेको उल्लेख गर्दै नेपालको आर्थिक-सामाजिक विकास र पूर्वाधार निर्माणमा निरन्तर सहयोग पुर्याउँदै आएको जापान सरकारप्रति आभार व्यक्त गरे। उहाँले हाल प्रदान गरिएको अनुदान सहायता नेपाल–जापान मित्रता र सहकार्यको अर्को महत्वपूर्ण प्रतीक भएको बताए।
जापानका राजदूत तोरु माएदाले वि.पी. राजमार्ग पुनर्निर्माण परियोजना दुवै देशबीचको दशकौँ पुरानो मित्रता र विश्वासको निरन्तरता भएको बताए। उनले यो सहयोगले बाढी–पहिरोबाट क्षतिग्रस्त राजमार्गका खण्ड पुनःस्थापना गर्न र यातायात सहज बनाउन ठोस योगदान पुर्याउने विश्वास व्यक्त गरे।
वि.पी. राजमार्ग नेपालको पूर्व–पश्चिम आवागमनमा वैकल्पिक मार्गका रूपमा रहेको र यसले आर्थिक गतिविधि, पर्यटन, र स्थानीय जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पु-याउँदै आएको छ। जापानको सहयोगमा हुन लागेको यो पुनर्निर्माण कार्यले उक्त मार्गलाई दीगो र सुरक्षित बनाउन मद्दत गर्ने जनाइएको छ।











प्रतिक्रिया