काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा त्रिपक्षीय छलफल सुरु भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा राजनीतिक दल, सरकार र जेनजी समूहका प्रतिनिधि सहभागी छन्।
निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलो पटक हुन लागेको उक्त छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत सहभागी छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार जेनजी समूहबाट १३ जना प्रतिनिधि सहभागी छन्।आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायतका विषय छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (एमाले) का तर्फबाट एक पदाधिकारीसहित केन्द्रीय सदस्य महेश बर्तौला, नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र माधव सापकोटाले छलफलमा सहभागी छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठको सहभागिता छ ।
छलफलमा जेनजी प्रतिनिधिका रुपमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपार्जन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल, राजन रानामगर सहभागी छन।
यसअघि कात्तिक ४ गते प्रधानन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो।त्यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेनजी समूहबीच छलफल भइसकेको छ।











प्रतिक्रिया