जनताको रगतमा बनेको गणतन्त्र, नेताको विलासमा हरायो”

4.7k
Shares

मुखिया को हलो जोतेर एक पाथी कोदो लगेर फाँडो खानेका लागि गणतन्त्र चाहिएको थियो। गणतन्त्र त ती शोषित, उत्पीडित, दलित, श्रमिक र किसानहरूको जीवनमा उज्यालो ल्याउने सपना थियो, जसले सधैँ “दुई छाक खान पाइयोस्, आफ्नो सम्मानले बाँच्न पाइयोस्” भन्ने सरल चाहना बोकेका थिए। तर त्यो सपना सत्ताको गलियारामा पुग्नेबित्तिकै विकृत गरियो। अहिले गणतन्त्र नामको यो राज्य प्रणाली सामन्त र माफियाको खेलौना बनेको छ। जसले जनता होइन, आफैँलाई स्वतन्त्र बनायो — नियमभन्दा माथि, नैतिकता भन्दा पर।

राजाको दरबारमा हजुरी गरी बिर्ता नाप्ने, गाउँमा ग़रीबमाथि दमन गरी धाने ब्याज खाने निरंकुश र सामन्तीहरूलाई गणतन्त्र चाहिएको थिएन। उनीहरूलाई त आफ्नो प्रभुत्व, आफ्नो ठेक्का, आफ्नो मुनाफा चाहिएको थियो। जनयुद्धको ध्वजामुनि जसले गाउँका ढुंगाहरू उठाए, जसले जंगलका पातहरूमा रगतको अक्षरले “स्वतन्त्रता” लेखे, उनीहरूको सपना यो लुटतन्त्र थिएन। आज सडकमा रोपिएका गुँडहरूमा भ्रष्टाचारका चराहरू गुठी बनाई बसेका छन्। जसले क्रान्तिको नाममा सत्ता कब्जा गरे, उनीहरूले जनताको सपनामा कर तिरेनन्, तर सिंहदरबारमा दरबार सजाए।

गणतन्त्रको पहिलो दिनदेखि नै यस देशमा एउटा प्रश्न गुँजिरहेछ — “यो व्यवस्था कसका लागि हो?” त्यो प्रश्नको उत्तर आजसम्म सत्ताधारी दलहरूले दिन सकेका छैनन्। जनताको पसिना र आँसुबाट खडा भएको यो राष्ट्र फेरि सामन्तीहरूको चंगुलमा परेको छ। हिजो राजाको राजदूतका रूपमा हजूरी गर्नेहरू आज गणतन्त्रका नायक बन्न पुगेका छन्। त्यसैले नै जनयुद्धका घाउ अझै निको भएका छैनन्। जसले जनतालाई बन्दुक हातमा दिन सिकायो, उनीहरू आज बन्दुकका छायामा भाषण दिँदैछन् — “हामीले देश बनायौं।”

साँचो देश त बनाउने तिनीहरू थिए जसले माटोमा पसिना झारे, जसले पहाडका पाखामा रगतको सिंचाइ गरे। ती अन्नदाता, ती श्रमिक, ती विद्यार्थी र ती आमाहरू जसले आफ्ना छोराछोरी जनयुद्धमा पठाए। तर आज उनीहरूकै नाममा व्यापार चल्ने गरेको छ। प्रचण्डका भाषणहरू अब जनतालाई होइन, आफ्नै बचाउका लागि लेखिन्छन्। माओवादीको आन्दोलन जनताको आवाज थियो, तर अहिले त्यो आवाज सत्ताको गल्लीमा हराएको छ। सत्ताको भित्तामा टाँसिएका ठेकेदारहरूको मुस्कानभित्र लुकेका छन् जनताको पीडा।

यो देश जनताको बलिदानले बनेको हो। ती बलिदानहरू कुनै पार्टीको स्वामित्व होइन। तर अहिले गणतन्त्रको साइनबोर्डमुनि माफिया, ठेकेदार, दलाल र व्यापारीहरू सामन्तीहरूको नयाँ रूप बनेका छन्। उनीहरू जनयुद्धका सपनालाई “नाफा” मा रूपान्तरण गर्दैछन्। विकासका नाममा भ्रष्टाचार, रोजगारका नाममा पलायन, र देशभक्तिका नाममा नक्कली देशभक्त — यही हो अहिलेको यथार्थ।

गणतन्त्र त त्यो व्यवस्था हो जहाँ मुखियाले होइन, किसानले आफ्नो माटोमा हक जमाउँछ। तर अहिले त मुखियाको छोरा नै मन्त्री, सांसद र व्यवसायी बनेको छ। त्यो किसान अझै ऋणको भारी बोक्दै गाउँमा श्रम बेच्न बाध्य छ। गणतन्त्रले उसलाई नयाँ कुरा सिकायो — कागजमा नागरिक समानता र व्यवहारमा भेदभाव। गाउँका जनता अझै प्रशासनको ढोका धक्का मार्दै न्याय खोज्दैछन्, तर न्याय दलका नीतिहरूको भित्ताभित्र बन्द छ।

नेपालको माओवादी जनयुद्ध केवल बन्दुक र बारुदको इतिहास होइन, यो परिवर्तनको दस्तावेज हो। तर त्यो दस्तावेज अहिले सत्ताको सन्दूकमा बन्द छ। नेताहरूले जनयुद्धलाई आफ्नो राजनैतिक पूँजी बनाए, जनताको सपना बेचेर। जसले सहिदको नाममा कोठी बनायो, जसले रगतको मूल्यमा गाडी किन्यो — ती सबैले गणतन्त्रको अस्तित्वलाई कलंकित बनाए। जनयुद्धको उद्देश्य राज्यको पुनर्संरचना थियो, तर अहिले त राज्य फेरि त्यही पुरानो सामन्ती संरचनामा फर्किएको छ।
सत्तामा पुगेका माओवादी नेताहरूले आफूलाई क्रान्तिकारी भन्दा पनि सुविधाभोगी बनाएका छन्। गाउँमा टर्की बाँडेर विकासको ढोल पिट्नेहरू काठमाडौंमा कुटनीतिक भाषण दिँदैछन्। देशका विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने कारखाना बनेका छन्। अस्पतालहरूमा दलका सिफारिस पत्र बिना उपचार हुँदैन। प्रशासनमा इमान्दार कर्मचारी सधैँ नोक्सानमा रहन्छ। अनि नेताहरू भने विदेशी बैंकमा खाता राखेर देशभक्ति देखाउँछन्।

गणतन्त्रको आत्मा जनतामा बाँच्नुपर्थ्यो, तर त्यो आत्मा सत्तामा मरेको छ। जनयुद्धका घाइतेहरू उपचारको लागि चन्दा माग्दै हिँड्छन्, जबकि युद्धका “नेता” विदेशमा सम्मेलनमा जाँदैछन्। यो जनताको रक्तपसिनाको अपमान हो।

होशियार निर्लज्ज सामन्तहरू — जनयुद्धको वाक् स्वतन्त्रतालाई दुरुपयोग गरेर गणतन्त्रको विरोध नगर। गणतन्त्र कुनै पार्टीको जागिर होइन, यो जनताको अधिकार हो। प्रचण्डले यस्ता नाजायज खेलहरू रोक्नुपर्छ। यी साउने च्याउजस्ता गलत मैथुनबाट निस्किएका जीवहरू — जो हिजो जनयुद्धको विरोध गर्थे, आज स्वतन्त्रताको भाषण गर्छन् — उनीहरूको ठेगान लगाउनु अनिवार्य छ।

गणतन्त्रले सबैलाई बोल्ने अधिकार दिएको छ, तर त्यो अधिकार जनताको रगत माथि थुकेको भाषण बन्नु हुँदैन। देशको संविधानलाई ठेकेदारको कागजजस्तो व्यवहार नगर। गणतन्त्र यदि रक्षा गर्न चाहिन्छ भने, फेरि एक पटक आत्ममूल्यांकन गर्नुपर्छ। किनकि गणतन्त्र केवल शासन प्रणाली होइन — त्यो चेतना हो, त्यो जनताको स्वाभिमान हो, त्यो हरेक नेपालीको सपना हो।

आजको नेपालमा गणतन्त्रको भविष्य त्यही दिन अन्धकारमा हराउनेछ जब हामी माओवादी आन्दोलनका त्यागहरू बिर्सन्छौं। जब हामी फेरि सामन्तीहरूको मुखियालाई नायक बनाउँछौँ। र जब नेताहरू मौन रहन्छन्, अनि जनतालाई केवल भाषण बाँड्छन्।

गणतन्त्रको रक्षा केवल भाषणले होइन, व्यवहारले हुन्छ। त्यो व्यवहार अहिले देशका किसान, श्रमिक र युवामा देखिनु पर्छ। जसले देश बनाउन सक्छन्, उनीहरूलाई देशको निर्णय प्रक्रियामा सहभागी गरिनु पर्छ। होइन भने, गणतन्त्र केवल एउटा नाममात्रको उत्सव बन्छ, जसको मूल आत्मा पहिल्यै लुटिसकिएको हुन्छ।
नेपाललाई फेरि एकपटक चेतना आवश्यक छ — गणतन्त्र बचाउन, सामन्तवाद हटाउन, र जनताको रगतलाई व्यर्थ जान नदिन। यदि अब पनि प्रचण्ड र उनका सहयात्रीहरू मौन बस्ने हुन् भने, इतिहास फेरि लेखिनेछ र त्यो इतिहासमा लेखिनेछ, “गणतन्त्रको हत्या आफैंका हातले भयो।”