अनियन्त्रित र अस्थिरताको संकेत


नेपाल फेरि अस्थिरतातर्फ धकेलिँदै गएको संकेत देखिन थालेको छ । भोलि के हुने हो भन्ने भय र अनिश्चितताको छाया देशभर फैलिएको छ । शासन प्रणालीमाथि विश्वास घट्दो छ र राज्यका संयन्त्रहरू नियन्त्रणबाहिरजस्तै देखिन थालेका छन् । अहिले मुलुकमा जसले जे गरे पनि हुन्छ भन्ने अवस्थाले स्थान लिँदै गएको छ । यो क्रम रोकिएन भने नेपाल केवल राजनीतिक अस्थिरता होइन, सामाजिक र सुरक्षा संकटको खाडलमा फस्ने निश्चित छ ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले मुलुकमा अराजकता फैलाएको छ । अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो तर त्यो स्वतन्त्रता जब जिम्मेवारीविहीन बन्छ, तब समाजमा विष घोल्न थाल्छ । पछिल्लो एक महिनाको डिजिटल गतिविधिले यही चित्र स्पष्ट देखाएको छ । अफवाह, हल्ला, धम्की र भ्रम फैलाउने अभियान तीव्र बनेको छ । प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सामाजिक सञ्जालको आतंकबाट तर्सिन थालेका छन् । अघिसम्म ‘नियमन अभिव्यक्तिमाथिको प्रहार हो’ भनेर विरोध गर्नेहरू अहिले नियमनकै माग गर्न थालेका छन् । यसले अब नेपालको सामाजिक सञ्जाल नियमन अपरिहार्य भइसकेको तथ्य पुष्टि गर्छ ।

यसबीच, आम नागरिक पनि सत्य र असत्य छुट्याउने प्रयास नगरी हरेक भ्रामक पोस्टको पछि लाग्ने प्रवृत्तिमा फैलिरहेका छन् । यस्ता ‘भीड–मनोविज्ञान’ ले समाजमा द्वेष, घृणा र विभाजनलाई जन्म दिइरहेको छ । कुनै समुदाय, दल वा व्यक्तिलाई लक्षित गरेर गरिने अपमानजनक टिप्पणीहरूले सामाजिक संरचनालाई भत्काउने काम गरिरहेका छन् । राज्यको अस्तित्व र विश्वसनीयता पनि अहिले गम्भीर संकटमा परेको छ । सरकार छ तर जनतामा सरकारको उपस्थिति छैन । सरकारका काम केवल कागजमा सीमित छन् । मन्त्री र नेताहरू आ–आफ्नै राजनीतिक अस्तित्व जोगाउन व्यस्त छन्, जनता भने असुरक्षा र अन्योलमा बाँचेका छन् ।

यो निराशाको वातावरणले पुराना राजनीतिक शक्ति र चरमपन्थी समूहहरूलाई फेरि जुर्मुराउन अवसर दिएको छ । मुलुकका विभिन्न भागमा स्वतन्त्र नामका बेताल समूहहरू सक्रिय हुन थालेका छन् । उनीहरूको संगठनात्मक आधार छैन तर राज्यको कमजोर उपस्थितिले उनीहरूलाई शक्तिशाली बनाइरहेको छ । यी समूहले कुनै पनि बेला द्वन्द्व र अराजकता निम्त्याउन सक्छन् । अर्कोतर्फ ‘हिन्दू राज्य र राजसंस्थाको पुनस्र्थापना’ जस्ता नारासहितका समूहहरू पनि उठिरहेका छन् । यी विषय केवल वैचारिक बहसका लागि होइन, अब राज्यसुरक्षाको संवेदनशील मुद्दा बनेका छन् ।

सुरक्षा संयन्त्रको अवस्था पनि चिन्ताजनक छ । ‘जेनजी आन्दोलन’ का नाममा भएको हिंसापछि प्रहरी संयन्त्र अझै पुनःसंरचनाको चरणमा छ । तर अपराधीहरू जेलबाट भागेर खुलेआम हिँडिरहेका छन्, समाजमा आतंक फैलाइरहेका छन् । प्रहरी भने निरीह बनेर हेरिरहेजस्तो देखिन्छ । यसले नागरिकमा प्रहरीमाथिको विश्वास गुमाएको छ र सुरक्षाका लागि टोल–टोलमा ‘नागरिक सुरक्षा समूह’ गठन गर्न थालेका छन् । हिजो आतंक मच्चाउने वा हिंसामा संलग्न व्यक्तिहरूको भिडियो क्लिपहरू अहिले भाइरल भइरहेका छन् तर राज्यले अझै निर्णायक कारबाही गर्न सकेको देखिँदैन । जब अपराधी दण्डविहीन रहन्छन्, तब अपराध नै संस्कृतिको रूपमा मौलाउँछ । अहिले नेपाल यही अवस्थाबाट गुज्रँदै छ ।

मुलुकको राजनीतिक अस्थिरतासँगै सामाजिक असन्तुलन, आर्थिक निराशा र संस्थागत विफलता एकैसाथ बढ्दै गएका छन् । यी सबै कारणले देशलाई अराजकताको दिशातर्फ धकेलिरहेको छ । मुलुकलाई स्थिरता, संयम र स्पष्ट दिशाको आवश्यकता छ । सामाजिक सञ्जालमा अनियन्त्रित विषवर्षा रोकिनुपर्छ, कानुनको शासन पुनः स्थापित हुनुपर्छ र सुरक्षातन्त्रलाई पुनः मजबुत बनाइनुपर्छ । नागरिकको सुरक्षाबोध पुनः जागृत गर्न नसके जनताको निराशा विद्रोहमा परिणत हुन सक्छ । नेपाल अहिले एउटा संवेदनशील मोडमा छ, जहाँ हरेक गलत निर्णयले ठूलो मूल्य चुकाउनुपर्नेछ । राज्यले तत्काल संयमित, दृढ र जिम्मेवार शासनको अभ्यास गर्नै पर्छ । अन्यथा, आजको अस्थिरता भोलिको विघटनमा रूपान्तरण हुन बेर लाग्दैन ।