ललितपुर ।
भदौ २३ र २४ जेन्जी आन्दोलनको आगलागीबाट पूर्ण क्षतिग्रस्त ललितपुरको बुंगमती ( भैसेपाटी) प्रभाग स्थानीयको आर्थिक र जिन्सी सहयोगमा पुनः निर्माण सम्पन्नपछि हस्तान्तरण भएको छ । जेन्जीले लगाएको आगोबाट ध्वस्त भवन स्थानीयको आर्थिक र जिन्सी सहयोगमा पुन:निर्माणपछि हस्तान्तरण भएको छ ।
मंगलबार प्रहरी प्रभागमा आयोजित कार्यक्रममा भवन हस्तान्तरण भएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, भवन पुनः निर्माण समितिका संयोजक सुमन महतले शिलापत्र अनाबरण गरी उक्त भवन प्रभागलाई हस्तान्तरण गरेका थिए।

स्थानीयको आधा करोड रुपियाँ आर्थिक र कार्यालयलाई आवश्यक पर्ने जिन्सी सामान सहयोग भएको थियो । भदौ २४ गते आगलागीबाट क्षतिग्रस्त सो भवनमा २६ गते प्रभागका प्रहरी निरीक्षक शशिधर शर्मा सहितको टोली पुनःकार्यालय फर्केका थिए । सोहीदिन समितिका संयोजक महत सहितको टोलीले फूलमालाले स्वागत गरी पूर्ण क्षतिग्रस्त कार्यालयमा प्रवेश गराएका थिए । सोही दिनबाट केहीदिन प्रहरीलाई स्थानीयले खाना र बस्ने व्यवस्था गरेको थियो ।
लगत्तै समितिले सोक्षेत्रको चार वडाध्यक्ष सहितको समिति गठन गरी सहयोगका आव्हान गरेको थियो । लगत्तै समितिका संयोजक महतले ५० हजार १, ललितपुर महानगर–१८का अध्यक्ष दामोदर खड्का, २१ का रवीन्द्र महर्जन, २२ का सागर तुलाधर र २५ का दौलतकुमार खत्रीले जनही२५–२५ हजार रुपियाँ सहयोग गरेका थिए । सोही क्रममा प्रगति युवा क्लबले २० हजार रुपियाँ सहयोग गरेर अन्यलाई आव्हान गरेको थियो ।
१ सय ६६ जना व्यक्ति र संस्थाले २७ लाख ४४ हजार ७ सय ४० रुपियाँ आर्थिक सहयोग गरेका थिए । त्यस्तै ३३ जनाले जिन्सी सहयोग गरेका थिए । जस्मा २१ लाख ६८ हजार रुपियाँ बराबरको विभिन्न सामाग्री सहयोग भएको थियो ।
आम्दानी र खर्च विवरण सार्बजनिक गर्दै समितिका कोषाध्यक्ष प्रवीण थापाले सबै दाताको आर्थिक र जिन्सी सहयोग नभएको भए सायद यतिछिटो भवन बन्न मुस्किल पर्ने थियो भने। त्यसैले अहिले यो भवन भव्य बनेको छ । केही सामान्य बाहेक सबै काम सकिएको छ ।
उनले प्रभाग निर्माणमा २७ लाख ४६ हजार ५ सय ६८रुपियाँ खर्च भएको जानकारी दिए । त्यसमध्ये २७ लाख ४४ हजार ७ सय ४० रुपियाँ आर्थिक सहयोग भएको जानकारी दिए । २१ लाख ६८ हजार रुपियाँ जिन्सी सहयोग भएको कोषाध्यक्ष थापाले बताए ।

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षककार्कीले सुरक्षाको प्रत्याभूतिलाई महसुस हुने गरी आन्दोलनबाट पूर्णरुपमा क्षति भएको भवन पुनः निर्माण गरी हस्तान्तरण गरेकोमा प्रभाग र समितिलाई धन्यवाद व्यक्त गरे ।
नागरिकको अपेक्षा अनुरुप स्वच्छ, व्यावसायीक र पारदर्शी आचरण व्यवहार प्रस्तुत गर्दै मिठो बोली बचन प्रयोग गरी सभ्य र शान्तिपूर्ण समाज निर्माण गर्न प्रहरीलाई निर्देशन दिए । उनले भने–शान्तिपूर्ण समाज निर्माणमा नागरिक समाजको ऐक्यवद्धता आवश्यक छ, सामजबिरुद्ध गतिविधि गर्नेलाई निरुत्साहित गर्नु सबैको बर्तब्य हो ।
उनले प्रहरी र स्थानीयको सम्बन्धको कारण छोटो समयमा भवन निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गरे । उनले ले स्थानीयको सेवामा दत्तचित्त भएर लाग्न आग्रह गरे । भने–प्रहरी कर्मचारीलाई यो निर्देशन दिन चाहन्छु कि सेवा प्रदायक र सेवाग्राही बीचको सौहार्दपूर्ण व्यवहार हुनुपर्छ भन्ने चाहन्छु । जनता र प्रहरी सँगसँगै भएपछिमात्र शान्ति स्थापना हुन सक्ने उनको भनाई थियो । आगामी दिनमा सहयोगको निरन्तरता हुने अपेक्षा गरेको छु भन्दै सेवा प्रदायक र सेवाग्राही बीचको सौहार्दपूर्ण वातावरण हुनुपर्ने बताउँदै बोली बचन र व्यवहारमा परिवर्तन गर्न निर्देशन दिए ।

जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले प्रभाग पुनःनिर्माणमा स्थानीयले गरेको सहयोगको उच्च मुल्याङकन भएको बताए । भने–प्रहरीले यो भवन अस्थायी प्रयोग गर्ने मात्र हो । तपाईंहरु त स्थायी वासी हो । भवन तपाईँहरूको हो । उनले अपराधी समूहले प्रहरी चौकीमा आगजनी गरेको बताए । भने–कस्ले आगलागी गरेको हो ? भन्ने विषयमा अनुसन्धान जारी छ ।
उनले अब यो प्रभागलाई भैसेपाटी प्रभागको रुपमा स्थापित गर्न प्रक्रिया अघि बढाइने जानकारी दिए । जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी दत्तचित्त भएर लागि परेको बताए । उनले कहीकतै अपराधी घटना भए तत्काल जानकारी दिनसमेत आग्रह गरे ।
कार्यक्रममा बोल्दै वडा अध्यक्षहरुमध्येबाट ललितपुर महानगर–१८का अध्यक्ष दामोदर खड्काले छोटो समयमा भवन तयार भएकोमा समितिलाई धन्यवाद दिए । भने–सबै स्थानीयको सहयोगमा भवन तयार भएको छ । अब प्रहरी र स्थानीय सँगसँगै भएर शान्ति कामय गर्न अघि बढ्नुपर्छ ।

समितिका संयोजक सुमन महतले भदौ २३ र २४ गते जिन्जी आन्दोलनको क्रममा क्षतिग्रस्त तोकिएको भन्दा छिटो समयमा भवन पुनः निर्माण गरेर हस्तान्तरण गर्न सफल भएकोमा सबैलाई धन्यवाद दिए । भने–यो पुनीत काममा सबै सहयोगी हातहरुको मुख्य भुमिका छ ।
तपाईहरुकै साथ र सहयोगबाट ४८ दिनमै भवन पुनः निर्माण गरी हस्तान्तरण गर्न सफल भएका छौँ । प्रहरी प्रशासनको समन्वयमा पुरै कार्यालय बनाउने प्रण गरेका थियौं , पुरा भएको छ–उनको भनाई थियो ।

यो केवल भवन पुनःनिर्माणमात्र होइन प्रहरी र स्थानीयबीचको सम्बन्ध भएको उनको धारणा थियो । कार्यक्रममा प्रगति युवा क्लबका कार्यवाहक अध्यक्ष रवि शाहीले स्थानीय सहयोगी हातहरु र प्रहरीको सहयोेगको कारण भवन निर्माण सम्पन्न भएको बताए । कार्यक्रममा समितिका संरक्षक एवं वडा अध्यक्षहरु, प्रहरी प्रभाव बुंगमतीका प्रहरी निरीक्षक शर्मासहित प्रहरी कर्मचारीसहित आर्थिक र जिन्सी सहयोग गर्ने सबैलाई कदरपत्र वितरण गरिएको थियो ।



















प्रतिक्रिया