आगजनी र लुटपाट गर्ने विरुद्धको उजुरी दर्ता भएन : महासंघ


काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघले हालैको जेन–जी आन्दोलनका क्रममा भएको घुसपैठ, उद्योग–व्यवसाय र निजी सम्पत्तिमा भएको लुटपाट, तोडफोड तथा आगजनीका घटनामा संलग्नहरूको छानबिन गरी कारबाही अघि बढाउन र निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ ।

महासंघले यस सम्बन्धमा प्राप्त गुनासोअनुसार केही घटनामा संलग्नप्रति जाहेरी दर्ता नहुनु र कारबाहीमा उदासीनता देखिनुले समाजमा दण्डहीनता बढ्ने र व्यवसायीहरू हतोत्साही हुने जनाएको छ । महासंघका अनुसार, ‘जाहेरी दर्ता नहुने र दोषीमाथि कारवाही नहुने अवस्था कायम रह्यो भने यसले लगानी वातावरणमा गम्भीर चुनौती सिर्जना गर्नेछ, जसले रोजगारी सिर्जना, राजस्व संकलन र समग्र अर्थतन्त्रमा दीर्घकालीन असर पार्नेछ ।’

यसैबीच, निजी क्षेत्रको सुरक्षा प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित जिल्ला–नगर उद्योग वाणिज्य संघका अध्यक्ष र प्रतिनिधिहरूलाई सहभागी गराउने माग पनि गरिएको छ । महासंघले गृह मन्त्रालयलाई औपचारिक पत्राचारमार्फत यस सम्बन्धमा ध्यानाकर्षण गराइसकेको छ ।

महासंघले भनेको छ–‘घटनामा संलग्नहरुको जाहेरी नै नलिएको सदस्यहरूबाट गुनासो आइरहेको हुँदा यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही छन् । यी घटनाले निजी क्षेत्रको मनोबल कमजोर पार्ने मात्र नभई आर्थिक क्रियाकलाप मै नकारात्मक असर पु¥याएको छ । यस्तै महासंघले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिको सहभागिताका लागि पनि आग्रह गरेको छ । सबै तहमा सरकार निजी क्षेत्र समन्वय र मुख्य गरी जिल्ला स्तरिय सुरक्षा योजना, जोखिम मुल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा पनि व्यवसायिक समुदाय प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न महासंघले समितिमा आफ्नो र सदस्य संघहरूको सहभागिताका लागि आग्रह गरेको हो ।

पदाधिकारी, स्थायी समिति तथा समिति÷फोरमका सभापतिहरू सम्मिलित छलफलमा महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठले शान्ति सुरक्षा नहुँदा स्थायित्व रहँदैन, स्थायित्व नहुँदा उद्यम व्यवसाय सञ्चालन हुन सक्दैन, र व्यवसाय सञ्चालन नहुँदा अर्थतन्त्रमै गम्भीर समस्या उत्पन्न हुन्छ । त्यसैले व्यवसायीको शान्ति सुरक्षा अपरिहार्य रहेको बताउनुभयो । उहाँले भविष्यमा पनि उद्यम–व्यवसायीमाथि आक्रमण नहुने सुनिश्चितता गर्न दण्डहीनता अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । निवर्तमान अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक गतिविधि दिगो रूपमा अघि बढाउन, लगानीको वातावरण विश्वसनीय बनाउन र निजी क्षेत्र आत्मविश्वास पूर्वक काम गर्न सक्ने अवस्था सिर्जना गर्न सरकारले सक्रिय भूमिका खेल्नु आवश्यक रहेकाले वर्तमान अवस्थामा शान्ति सुरक्षा कायम राख्दै उद्योगी–व्यवसायीको मनोबल उठाउने विषयमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।