तातोपानी कुण्डमा नुहाउन समय तालिका

1.32k
Shares

म्याग्दी । प्राकृतिक चिकित्सालयको उपचारस्थलका रुपमा विकसित हुँदै गएको म्याग्दीको तातोपानी कुण्डमा नुहाउनेहरुको सङ्ख्या बढेको छ । बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानीको कुण्डमा नुहाउने बिरामी बढेपछि महिला र पुरुषका लागि नुहाउन छुट्टाछुट्टै समयतालिका बनाइएको हो ।


नेपालीहरुको मुख्य चाड बडादशैँ सकिएलगत्तै तातोपानी कुण्डमा नुहाउनेहरुको सङ्ख्यामा वृद्धि भएपछि महिला र पुरुषको छुट्टाछुट्टै समय तालिका बनाएर लागू गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । दैनिकजसो तातोपानी कुण्डमा महिला र पुरुष गरी करिब १ हजार जनाले स्नान गर्ने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो ।

तातोपानी कुण्डमा म्याग्दीसहित बागलुङ, पर्वत, कास्की, चितवन, रुपन्देही, काठमाडौंलगायत देशका अधिकांश जिल्लाहरुबाट बिरामी, सर्वसाधारण र पर्यटकहरु स्नान गर्न जाने गरेका छन् । तातोपानीमा नुहाउनेको भीड बढेपछि महिला र पुरुषलाई आ–आफ्नो पालोमा दुई घण्टाका दरले नुहाउन समयको व्यवस्थापन मिलाइएको छ । तातोपानीको मुख्य पोखरीमा हरेक दिन बिहान साढे ५ बजेदेखि साँझ साढे ५ बजेसम्म नुहाउने समय तालिका बनाइएको समितिका अध्यक्ष खड्काले बताउनुभयो ।

जमिनमुनिबाट ४८ देखि ५५ डिग्री सेल्सियसमा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा स्नान गरेपछि ग्यास्टिक, बाथरोग, गानोगोला, युरिक एसिड, घाउखटिरा, छालाको एलर्जी, हाडजोर्नी दुखाइ, मर्किएकोसहित चिसोबाट हुने सबै प्रकारका रोग निको हुने जनविश्वास छ । मुख्य पोखरीमा दैनिक १२ घण्टाको दरले स्नान गर्ने समय तालिका बनाएर लागू गरिएको छ । बिरामीको पनि चाप बढेको र कुण्डमा डुब्ने समय पनि २ घण्टाका दरले बढाइएको छ ।

कुण्डभन्दा बाहिरको एउटा पोखरी भने बिहान ६ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गर्ने गरिएको छ । यसमा तत्कालै कुण्डमा आएका बिरामी, सर्वसाधारण, पर्यटकहरु र भ्रमणमा आएकाहरुले नुवाइधुवाइ गर्ने गर्दछन् । कुण्डभन्दा बाहिर रहेका तातोपानीका धाराहरु २४सै घण्टा खुला राख्ने गरिएको छ । मुख्य कुण्डभन्दा बाहिरको पोखरीमा पनि नुहाउनका लागि छुट्टै टिकटको व्यवस्था गरिएको छ । यसमा बिहान ६ बजेदेखि ४ बजेसम्म प्रतिव्यक्ति १ सय र ४ देखि राति ९ बजेसम्म प्रतिव्यक्ति २ सय रुपियाँको टिकट लिनुपर्दछ । टिकट लिएपछि दुई घण्टासम्म मज्जाले नुहाउन पाइन्छ ।

तातोपानी कुण्डमा एकपटक आएर डुबेका बिरामीहरु फर्किएर पटक–पटक आउने गरेका छन् । स्वदेश तथा विदेशका ठूला र महँगा अस्पतालमा लाखौं रुपियाँ खर्च गर्दा पनि रोग निको नभएका बिरामीहरुसमेत तातोपानी कुण्डमा आएर डुबेपछि निको भएर फर्कने गरेको समितिको भनाइ छ । नेपालीका साथै विदेशी पर्यटक तथा बिरामीहरु पनि तातोपानी कुण्डमा स्नान गर्न आउने गरेका छन् । तिलोत्तमा नगरपालिका–२, रुपन्देहीका ५० वर्षीय चन्द्रबहादुर बुढामगरले आफूलाई घुँडा दुख्ने र नसासम्बन्धी समस्या देखिएकाले तातोपानीमा स्नान गर्ने र नुहाउने गरेपछि ठीक हुँदै गएको अनुभव सुनाउनुभयो ।

तातोपानी कुण्डबाट टिकटबापत प्राप्त हुने आम्दानीको केही प्रतिशत रकम स्थानीय सरस्वती माध्यमिक विद्यालयमा अध्यापनरत निजी शिक्षकहरुको तलब भत्तामा सहयोग गर्ने गरिएको छ । यसै गरी बेनी नगरपालिकालाई वार्षिकरुपमा २५ प्रतिशतका दरले कुण्डले राजस्व तिर्ने गरेको छ भने १३ प्रतिशत राजस्व नेपाल सरकारलाई भुक्तानी हुन्छ । कुण्ड परिसरमा आवश्यक भौतिक संरचनाहरु पनि कुण्डकै लगानीबाट विस्तार गरिएका छन् ।