केपी ओली : हिटलर कि सुकार्नो !

1.13k
Shares

पछिल्लो समय ‘लुसिफर’को चर्चा छ । राजनीतिक विश्लेषक सौरभले सिम्बोलिक रुपमा काठमाडौँ महानरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई ‘लुसिफर’को उपमा दिएपछि यो पात्रको चर्चा र खोजी सर्वाधिक रुपमा भइरहेको छ ।
ल्याटिन भाषामा ‘लुसिफर’ भनेको ‘उज्यालो ल्याउने’ वा ‘बिहानीको तारा’ हो । यो अर्थजस्तै ‘लुसिफर’ कुनै समयका सुन्दर र शक्तिशाली स्वर्गदूत थिए– सौन्दर्य, शक्ति र बुद्धिमा सर्वश्रेष्ठ । तर उनलाई यही सुन्दरता, शक्ति र बुद्धिले घमण्डी बनायो । उनले आफूलाई ईश्वरको बराबरी दर्जा दिन लागे । आफ्नो घमण्डका कारण स्वर्गमा उनले द्वन्द्व शुरु गरे । उनको यो द्वन्द्वलाई ईश्वरले पाप ठाने र उनलाई स्वर्गबाट खसालिदिए । अनि उनी नर्कमा पुगे र पतीत स्वर्गदूतको नामबाट पुकारिन थाले ।
पश्चिमी सभ्यतामा ‘लुसिफर’लाई सैतान (दानव) भनिएको छ । क्रिश्चियन धर्मग्रन्थमा ‘लुसिफर’लाई पतीत स्वर्गदूत र दानव भनेर चित्रण गरिएको छ ।

‘उज्यालो ल्याउने’ वा ‘बिहानीको तारा’ भनिएको ‘लुसिफर’ जब सैतान बने । उनले मान्छेलाई पथभ्रष्ट गर्ने, पाप कार्यतिर आकर्षित गर्नेजस्ता गलत कार्यमा लागेको विश्वास गरिन्छ ।

राजनीतिक विश्लेषक सौरभले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई किन ‘लुसिफर’सँग तुलना गरे ? त्यो कि उनैलाई थाहा होला, कि समयले त्यसको अर्थ प्रस्ट्याउन सक्ला । तर मलाई यतिचाहिँ थाहा छ, कुनै समय चर्चा र प्रशंसाको गौरवमण्डित गरिएका बालेन्द्र शाह अहिले क्रमशः समयको चोटले सबै कुराबाट स्खलित हुँदै गएका छन् ।
‘लुसिफर’ जस्तै ‘उज्यालो ल्याउने’ वा ‘बिहानीको तारा’ ठानेर पुज्ने हजारौँ महानगरवासीले अहिले उनलाई ‘विदेशी दलाल’ भन्दै आरोपित गरिरहेका छन् । कालो चस्मा, टिसर्ट र कोटमा कपाल हल्लाउँदै हिँड्ने बालेनलाई सुन्दर, शक्तिशाली र बौद्धिक ठान्ने महानरवासीहरुबाटै सामाजिक सञ्जालमा उनको अनुहार दानवसँग जोडेर खिल्ली उडाउन थालिएको छ ।

यो तीतो चर्चा सत्य हो वा गोयबल प्रचार, त्यसको छिनोफानो उनै बालेन्द्र शाहले गर्नेछन् । कुनै समय बालेन्द्र शाहको प्रशंसा गरेर मैले लेखेको लेख असत्य नबनोस् ! मेरो मनोकांक्षा यत्ति छ । अहिले भने म पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सङ्कटको संघारमा ‘हिटलर’ र ‘सुकार्नो’को प्रसंग केलाउन खोजिरहेको छु ।
नाकाबन्दीको समय र चुच्चे नक्सा जारी भएपछि धेरै नेपालीले केपी शर्मा ओलीलाई राष्ट्रवादी नेता भन्दै अभ्युदित गरिदिए । जेनजी उमेर समूहका धेरैले त ‘आई लभ यु केपी बा’ भन्दै आत्मीयता दर्शाए । केपी शर्मा ओलीले पनि मेरा छोरा–छोरी भन्दै प्रेम प्रकट गरे ।

यही मेसोमा मुलुकमा नातावाद–कृपावाद चुलिएको, नेता–कर्मचारी सबै भ्रष्टाचारमा चुर्लुम्म डुबेको, बेथिति बढ्दै गएको, शासनमा निरंकुशता बढ्दै गएको भनेर उनै केपी शर्मा ओलीलाई ‘हिटलर’को उपमा दिन थालियो । हुँदा–हुँदा ‘आई लभ यु केपी बा’ भन्ने उमेर समूहका युवा–युवतीको जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री उनै केपी शर्मा ओलीलाई सत्ताच्यूत गरिदियो ।

अब अलिकता ‘हिटलर’ र ‘सुकार्नो’को प्रसंगतिर लागौँ । अस्ट्रियामा जन्मिएका ‘हिटलर’ जर्मनका क्रुर शासक थिए । नाजीका नेता ‘हिटलर’ले सन् १९३४ देखि १९४५ सम्म जर्मनीमा शासन गरे । उनको बाल्यकाल सुखद थिएन ।
जर्मनीमा ‘हिटलर’ले सत्ता सम्हालेपछि निरंकुशता बढ्दै गयो । कम्युनिस्ट पार्टीमा प्रतिबन्ध लागेपछि १० हजार कम्युनिस्ट नेता–कार्यकर्ता पक्राउ परे । उनीहरुलाई राख्न शिविर खडा गरियो । जहाँ उनीहरुलाई यातना, दुव्र्यवहार र केहीको हत्यासमेत गरियो । सत्तामा आएपछि उनको उन्माद बढेको थियो । उनले विपक्षलाई चरम दमन गरेका थिए । उनको निरंकुशता र दमनले देश खोक्रो हुँदै गयो र लोकतन्त्रको अन्त्य भयो । पछि ‘हिटलर’ले श्रीमतीसहित आत्महत्या गरे ।

यसको ठीक विपरीत इन्डोनेसियाका प्रथम राष्ट्रपति ‘सुकार्नो’ स्वतन्त्रता आन्दोलनका अग्रणी नेता थिए । उनले डच (नेदरल्यान्ड) को उपनिवेशका विरुद्ध इन्डोनेसियाली जनतालाई जागृत गराएका थिए । सन् १९३० देखि १९४२ को बीचमा उनी धेरै पटक जेल र निर्वासनमा रहेर पनि स्वतन्त्रता आन्दोलनलाई अगाडि बढाइरहे । हजारौँ टापुहरुको देश इन्डोनेसियालाई एक राष्ट्रिय पहिचान दिन उनले भाषा, झन्डा र राष्ट्रिय भावनाको एकरुपता शुरु गरे । ‘सुकार्नो’ले व्यक्तिगत लाभको लागि नभई देशको स्वतन्त्रता, पहिचान र एकताको लागि जीवनभर संघर्ष गरिरहे । उनी इन्डोनेसियाको प्रेरणाका स्रोत बनेका थिए ।

तर उनको राजनीतिक बहिर्गमन सुखद भएन । उनको राष्ट्रिय भावना, स्वतन्त्रताको लागि उनले गरेको संघर्ष र हजारौँ टापुहरुलाई एकतामा बाँध्न उनले अपनाएको भाषा, झन्डा र राष्ट्रिय भावनाबाट अतालिएका देशभित्र र देशबाहिरका धेरै शक्तिहरुले ठीक मानेनन् । उनलाई सत्ताच्यूत गर्न अनेक बहाना र प्रचारहरु गरिए । सेना, साम्यवादी पार्टी (पीकेआई) र धार्मिक शक्तिहरुबीच असन्तुलन र प्रतिस्प्रर्धा बढ्न थाल्यो । यसले इन्डोनेसियाको अर्थतन्त्र कमजोर भयो, बेरोजगारी बढ्दै गयो ।
३० सेप्टेम्बर १९६५ मा ‘गारेकन ३० सेप्टेम्बर’ (जी ३० एस) नामक समूहले केही शीर्ष सेनानीहरुलाई हत्या ग¥यो । यो घटनाको दोष तत्कालीन कम्युनिस्ट पार्टी पीकेआईमाथि लगाइयो । तर यो घटनाको मास्टर माइन्ड को थिए भन्ने अझै रहस्यमय नै छ । धेरैले यो घटना सेनाभित्रको आन्तरिक षड्यन्त्रसमेत भनेका छन् ।

यो घटनापछि सेनाको नियन्त्रण जनरल ‘सुहार्तो’ले लिए र देशमा स्थिरताको नारा दिएर कम्युनिस्ट पार्टी पीकेआईविरुद्ध व्यापक हिंसा शुरु गरे । यो क्रममा लाखौँ मानिस मारिए र जेलसमेत परे । त्यसपछि ‘सुकार्नो’ले राज्यमा नियन्त्रण गुमाउँदै गए । यही क्रममा ‘सुहार्तो’ले एउटा महत्वपूर्ण आदेशपत्रमा ‘सुकार्नो’लाई हस्ताक्षर गर्न लगाए र शासन आफ्नो हातमा लिए । सन् १९६७ मा संसद्ले ‘सुकार्नो’लाई राष्ट्रपतिबाट हटायो ।
राष्ट्रपतिबाट हटेपछि उनलाई घरमै नजरबन्द गरेर राजनीतिक रुपमा निष्क्रिय गराइयो । सन् १९७० जुन २१ मा ‘सुकार्नो’को निधन भयो ।

केपी शर्मा ओली र ‘सुकार्नो’को राजनीतिक यात्रामा केही समानताहरु छन् । तर ‘हिटलर’सँग केपी शर्मा ओलीको राजनीतिक यात्रामा मैले कहीँ–कतै समानता देखेको छैन । ‘सुकार्नो’ले जस्तै केपी शर्मा ओलीले पनि स्वतन्त्रता र स्वाधीनताको लडाइँको क्रममा १४ वर्ष जेलजीवन बिताएका हुन् । ओलीले सबै राजनीतिक दललाई सहमत गराएर आफ्नो गुमेको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश भएको नक्सा संसद्बाट अनुमोदन गराएर राष्ट्रियताको पक्षमा चट्टानी अठोट प्रदर्शन गरे । सत्ताच्यूत हुनु केही दिनअघि भएको चीन भ्रमणको क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाएर यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गरे । भारत भ्रमणको तयारीमा रहेका उनले यो विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राख्ने तयारी गरिरहेका थिए ।

यही मेसोमा जेनजी आन्दोलन भयो र ओली सत्ताच्यूत भए । इन्डोनेसियामा जसरी जी ३० एस समूहको उदय भयो, त्यसै गरी नेपालमा जेनजी समूहको उदय भएको देखिन्छ । इन्डोनेसियामा जस्तै नेपालमा पनि जेनजी आन्दोलनको क्रममा सेनाको भूमिकामाथि प्रश्न उठाइएको छ । भलै नेपाली सेनाले आशंकाको विषयमा धेरै पटक संस्थागत प्रष्टीकरण दिइसकेको छ ।
अहिले केपी शर्मा ओलीलाई उपत्यका छोड्न बन्देज छ र पासर्पोट रोक्का गरिएको छ । वर्तमान सरकारले उनीविरुद्ध कुनै मुद्दा लगाएर पक्राउ ग¥यो भने पनि अन्यथा मान्नुपर्दैन ।

अहिले परिस्थति यस्तो बनेको छ कि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा केही कुरा लेख्यो, बोल्यो भने पनि प्रजातन्त्रविरोधी हुने डर छ । उनलाई जेनजी आन्दोलनको दमनकारी, बालबालिकाको हत्यारा र भ्रष्टाचारीको संरक्षकको रुपमा प्रस्तुत गरिँदै आएको छ ।

अहिले आरोपित गरिएजस्तै के केपी शर्मा ओली निरंकुश नै हुन् ? अहंकारी र भ्रष्टाचारीको संरक्षक हुन् ? बालबालिकाको हत्यारा र राष्ट्रघाती हुन् ? यसको ठोस प्रमाणसहितको जवाफ कसैसँग पनि छैन । सरकारले जेनजी आन्दोलनमा भएको दमन र ध्वंसको विषयमा छानबिन गर्न समिति बनाएको छ । त्यो समितिले निष्पक्ष छानबिन गरेर प्रमाणसहित तथ्यगत प्रतिवेदन ल्यायो भने दोषी देखिएका जो–कोही सजायको भागेदार बन्नै पर्छ । अन्यथा आवेग र भीडको त्रासमा कुनै पनि कुराको निष्कर्ष समाज र राष्ट्रकै लागि हानिकारक हुनेछ ।

केपी शर्मा ओली दूधले धोएका असाध्य शुद्ध नेता हुन् भन्दिन म । उनीसँग पनि कमी–कमजोरी रहेका छन् । थोरै घमण्डी, असहिष्णु र जिताहा भएकै हुन् । आफ्नो धारणा, विचार र निर्णय नै अन्तिम ठान्ने स्वभाव विकास भएकै हो । तर स्वतन्त्रता, राष्ट्रियता, अद्भूत ज्ञान र क्रियाशीलता, विकास र समृद्धिको दृष्टिकोणसहितको निडर तथा अडान भएका नेता हुन् उनी । अहिले यो सङ्कटको घडीमा उनलाई पार्टी नेतृत्वबाट विस्थापित गर्ने सोच आत्मसमर्पणवादी नश्लको परिणाम ठान्दछु म । पार्टीले आगामी मंसिर अन्त्यमा महाधिवेशन गर्ने निर्णय गरेकोले नेतृत्वको बहस त्यो बेला नै गर्नु उपयुक्त हो ।

आफूलाई जेनजीको असली कार्यकर्ता ठान्ने राजनीतिक दलका केही नेता–कार्यकर्ताले आफ्नो लिडरलाई खुइल्याएर ज्यान–धनको संरक्षण खोज्नुभन्दा स्वतन्त्र तथा समृद्ध राष्ट्र निर्माणको बुँदागत कार्यक्रम र कार्यान्वयनको चरणसहितका योजना पेस गरेर नेपाली जनतको मन जित्दै नेतृत्वमा अग्रसर हुनु बुद्धिमता देखिन्छ ।

नेतृत्वको कमी–कमजोरीको आलोचना नगर्ने, बरु सधैँ आफ्नो अनुकूलताको लागि चाकडी–चाप्लुसीको सूत्र अवलम्बन गर्ने तमाम पार्टी नेताहरुले नै भ्रष्टाचार, अनियमितता, नातावाद, कृपावाद र निरंकुशताको बीजारोपणसँगै मलजलसमेत गरेका हुन् । अनि अहिले सङ्कटमा तिनै नेताहरुले सबै दोष नेतृत्वलाई दिएर आफू जेनजीको असली कार्यकर्ता बन्न खोज्नु विश्वासघातको पराकाष्ठा हो । यो चरित्रले न नीति सुध्रिन्छ, न नेता ।