काठमाडौं ।
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा शर्मा गौतमले सोमबार बिहानैदेखि काठमाडौंका विभिन्न अस्पतालमा पुगी जेन–जी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो ।
मन्त्री शर्माले सोमबार काठमाडांै मेडिकल कलेज (केएमसी) सिनामंगल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) र ट्रमा सेन्टर पुगेर आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।
मन्त्री शर्माले टिचिङ अस्पताल पुगेर तीनजना घाइतेहरूलाई भेट्नुभएको थियो । घाइतेलाई भेटेपछि उहाँले भन्नुभयो, ‘म टिचिङ अस्पतालमा घाइतेहरूको अवस्था बुझ्न आएकी हुँ । जेन–जी आन्दोलनमा घाइते भएका तीन जना यहाँ हुनुहुँदो रहेछ । उहाँहरूको उपचारमा कुनै कमी छैन, राम्रोसँग उपचार भइरहेको छ ।’ उहाँका अनुसार तीन जनामध्ये दुई जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ भने एक जनाको हड्डी भाँचिएको र प्लास्टिक सर्जरी गरेर उपचार भइरहेको छ । आन्दोलनका घाइतेहरूलाई भेटेपछि मन्त्री शर्माले भावुक हुँदै भन्नुभयो, ‘यस्ता दृश्य देख्दा मलाई दुःख लाग्यो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ ।’
उहाँले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग उपचारको अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोगका लागि मन्त्रालयबाट सक्दो सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनका ११ जना घाइतेहरूको अझै पाँच अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा त्यसअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (एचईओसी) ले सार्वजनिक गरेको विवरणअनुसार, आन्दोलन सकिएको डेढ महिना बितिसक्दा पनि देशभरका पाँचवटा अस्पतालमा ती घाइतेहरूको अवस्था अझै स्थिर छ । गम्भीर चोटपटक भएका कारण लामो समयसम्म अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै संख्या राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौंमा चार जना उपचाररत छन् भने शिक्षण अस्पतालमा तीन जना, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, सिनामंगलमा दुई जना, बीएन्डबी अस्पताल, ग्वार्कोमा एक जना र विराटनगरको नोभेल मेडिकल कलेजमा एक जना उपचाररत रहेका छन् ।
एचईओसीका अनुसार आन्दोलनमा २ हजार ५ सय ७१ जना घाइते भएका थिए । उपचारपछि घर फर्केका घाइतेहरूको संख्या २, हजार ५ सय १० रहेको र अस्पतालमै रहेको संख्या ११ छ । साथै, आन्दोलन सम्बद्ध कुल ७६ जनाको मृत्यु भएको जनाइएको छ, यद्यपि अस्पतालमा आएर मृत्यु भएका संख्या ५० रहेको विवरणमा उल्लेख गरिएको छ ।











प्रतिक्रिया