चन्द्रपुरमा ध्यान योग केन्द्र निर्माण हुने

1.79k
Shares

रौतहट ।

 इतिहास जोडिएको चन्द्रपुर नगरपालिका–१ स्थित गोल्मा राजा बुद्ध बिहार परिसरमा ध्यान योग केन्द्र निर्माण हुने भएको छ । वाट थाई नेपालको सहयोगमा निर्माण हुने ध्यान योग केन्द्रको सोमबार एक विशेष समारोहका बीच शिलान्यास गरिएको छ ।

 करिब २ करोडको लागतमा निर्माण हुन लागेको ध्यान केन्द्रको भौतिक संरचनामा ७० फिट लम्बाई र ३५ फिट चौडाइ हुनेछ । निर्माण सम्पन्न भएपछि ध्यान योग केन्द्र बौद्ध साधना, योग अभ्यास र ध्यानका लागि आधुनिक सुविधा सम्पन्न केन्द्रका रूपमा विकास गरिने जनाइएको छ । भवनको शिलान्यास गर्नु पूर्व महान कठिन चिबर दान गरिएको थियो । 

शिलान्यास कार्यक्रममा थाइल्यान्डका भन्तेहरू र नेपालका भन्तेहरूको विशेष उपस्थिति रहेको थियो । ध्यान केन्द्रको निर्माणले यस क्षेत्रमा धार्मिक पर्यटन र बौद्ध संस्कृति प्रवद्र्धनमा सहयोग पुग्ने गोल्माराजा बुद्ध बिहारका भन्ते मेधंकर स्थबिरले बताए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बौद्ध समुदायका अगुवा र स्थानीयवासीहरूको सहभागिता रहेको थियो । मधेश प्रदेशकै एक ऐतिहासिक र सांस्कृतिक दृष्टिले गोल्मा राजा बुद्ध बिहार लाई महत्त्वपूर्ण स्थल मानिँदै आएको छ । समुदायका अगुवाहरूका अनुसार यो क्षेत्र करिब ३ सय ५० वर्ष पुरानो शेनबंिशय राजाको दरबारसँग सम्बन्धित रहेको छ ।

 पछिल्ला वर्षहरूमा बुद्ध बिहार परिसरमा धार्मिक संरचनाहरूको निर्माण र विस्तार कार्य भइरहेको छ । हालसालै यहाँ करिब २ करोड रुपैयाँ लागतमा बुद्धको विशाल मूर्ति स्थापना गरिएको छ । साथै, ७५ फिट अग्लो बौद्ध स्तूपा निर्माणको काम जारी छ भने २० हजार लिटर क्षमताको पानी टयाकिको निर्माण भई संचालनमा आईसकेको छ । गोल्मा बुद्ध बिहार वरिपरि फैलिएको वनक्षेत्रमा बेल, पारिजात र विभिन्न वनस्पति रुखहरू प्रशस्तै रहेको छ । यसले स्थललाई धार्मिक मात्र नभई प्राकृतिक दृष्टिले पनि अत्यन्त आकर्षक बनाएको छ ।