पुस्तक चर्चा: विजयश्वरी मन्दिर र मखँ छेँका देव ब्राह्मणहरु

752
Shares

काठमाडौँको मखनटोलका आदि देव ब्राह्मणहरुले पूजा–आराधना गर्ने देवालयहरुमध्ये का.म.न.पा. वडा नं. १५ स्थित विजयश्वरी मन्दिर पनि एक हो । यसैको सेरोफेरोमा रहेर मखँ छेँ खलकका देव ब्राह्मण लक्ष्मणराज शर्मा राजोपाध्यायले एक पुस्तक तयार गरी प्रकाशन गर्नुभएको छ ।

विजयश्वरी देवीको प्राचीनताका विषयमा उहाँले आफ्नो पुस्तकमा एक रोचक कहानी उल्लेख गर्नुभएको छ । उहाँका अनुसार मखनटोलकी एक ब्राह्मणपुत्री विजयश्वरी आकाशतिर प्रस्थान गरी आफू योगिनी तारागणमा लीन भएको आकाशवाणी गरिन् । राजा गुणकामदेवलाई स्वप्नामा यो कुरा बोध भएपछि उनले कलिगत संवत् ३८२५ मा कान्तिपुर शहर रक्षाका खातिर यिनै विजयश्वरी देवीको आराधाना गरी सिद्धि भएपछि उनको मूर्ति स्थापना गरिएको हो । यस मूर्तिलाई विद्येश्वरी नामले समेत पुकारियो । विजयश्वरीलाई आकाशयोगिनी, विद्येश्वरी, विद्याधरी आदि धेरै नामले पुकारिने गरेको लेखक शर्माको कथन छ ।

विजयश्वरी देवी मखनटोलकी देव ब्राह्मण–पुत्री भएकीले सो कुलमा जुठो–सुतक पर्दा विजयश्वरी मन्दिरमा गई देवीलाई सुनाउने परम्परा अद्यापि छँदै छ । छोरा जन्मिए एउटा सुपारी तर छोरी जन्मिएमा आधा सुपारी, ल्वाङ, एउटा सिक्का र फुस्रो सिन्दुर सँगै राखेर नेपाली कागजमा पोको पारी विज्यासः (विजयश्वरी) मन्दिरमा चढाउन पठाउने चलन छ । यसलाई फलानोको छोरा वा छोरी जन्मियो भनेर विजयश्वरीलाई सूचना दिइएको रुपमा लिइने गरेको पुस्तकमा उल्लेख छ ।
विजयश्वरी देवीलाई मखँ छेँ अर्थात् मखनटोलका देव ब्राह्मणहरुको एक महत्वपूर्ण धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक धरोहरका रुपमा मानिन्छ । हरेक वर्षको आषाढ शुक्ल अष्टमीमा विज्यास विहारमा गएर श्राद्ध गरिँदै आएकोमा वि.सं. २०२५ देखि श्राद्ध हुन नसकेकोमा शर्माले आफ्नो पुस्तकमा गुनासो पोख्नुभएको छ ।

विद्येश्वरी देवीको कोठामा दीक्षित मात्र बसेर तान्त्रिक पूजा गर्ने परम्परा हो । त्यसै क्रममा मखन टोलका विद्वान् नव्यन्यायाचार्य गोविन्द भक्तानन्द सुवेदीले पनि विद्येश्वरी देवीको पूजामा संलग्न हुने अवसर पाउनुभएको रहेछ । पुस्तकको मन्तव्यमा उहाँले उल्लेख गरेअनुसार जननाशौच वा मरणाशौच अथवा अन्य कारणले पूजा बन्द हुने स्थिति आएमा देवीकहाँ गई तपाईं आएर पूजा गरिदिनुस् भनी प्रार्थना गरिन्थ्यो । सुवेदीले लेख्नुभएको छ, ‘म बसेको घरको चोकमा एक छिमेकी वृद्धले भन्ने गर्थे– रातो पोशाकमा एक महिला पूजा–आरती गर्न आउने रहिछन्, मन्दिरको सानो झ्यालमा देख्छु तर आएको–गएको देखेको छैन ।’
काठमाडौँ यसै पनि मन्दिरै मन्दिरको शहर हो । त्यसमा पनि काठमाडौँको १५ नंं. वडा धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थान मानिन्छ । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्यदेखि लिएर हारती माता, शोभाभगवती, विजयश्वरी मन्दिर यस वडाका निधिहरु हुन् ।

लक्ष्मणराज शर्माद्वारा लिखित यस पुस्तकमा उल्लेख भएअनुसार काठमाडौँको पश्चिमतर्फ विष्णुमतीको पुल तर्नेबित्तिकै देखिने एउटा पहाडजस्तो ढिस्कोलाई नीलगिरि पर्वत भनिन्छ । यही पर्वतको पश्चिमपट्टिबाट सिँढी चढेर पीतलले मोरेको ढोकाबाट छिर्नासाथ सम्मुख हेर्दा विजयश्वरी देवीको चित्ताकर्षक मूर्ति देखिन्छ । सो मूर्तिको दायाँ खड्गयोगिनी र बायाँ वज्रवाराही एवं वज्रयोगिनी देवी विराजमान भएको पुस्तकमा उल्लेख छ । सनातनाचार र बौद्धाचार दुवै पक्षबाट सत्कार गरिने यस मन्दिरको विशेषता हो ।

यस पुस्तकमा मखँ छेँ र वघं छैँको कुलका बारेमा पनि जानकारी गराइएको छ । जसअनुसार मखँ छेँ (मखन कुल) बाट कर्मकाण्ड क्षेत्रको र वघं छेँ (इन्द्रचोक कुल) बाट पुरोहितको दायित्व निर्वाह हुँदै आएको छ । मखँ छेँका देव ब्राह्मणहरु सुवेदी थर भएका भारद्धाज गोत्रीय हुन् भने वंघः छेँका देव ब्राह्मणहरु कौशिक गोत्रीय रिमाल थरका हुन् । मखँ छेँका देव ब्राह्मणहरुले तन्त्र दीक्षाले सुसज्जित भई यजमानलाई समेत तन्त्र दीक्षाले दीक्षित बनाउने र आगम पूजाहरु सम्पादन गराउँदै आएको पाइन्छ ।मखँ छेँका देव ब्राह्मणहरुको कुल वंश र वंश विस्तारका बारेमा पनि यस पुस्तकमा उल्लेख छ ।

मखन टोलस्थित महेन्द्रश्वर महादेव मन्दिरपछाडिको चोकक्षेत्र मखँ छेँका देव ब्राह्मणहरुको उद्गम स्थल मानिएको छ । त्यहाँका प्राचीनकालका शिवभद्रकी छोरी नै विजयश्वरी देवी भएको लक्ष्मणराज शर्माले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।

मखन टोलस्थित महेन्द्रश्वर महादेव मन्दिरपछाडिको चोकक्षेत्र मखँ छेँका देव ब्राह्मणहरुको उद्गम स्थल मानिएको छ । त्यहाँका प्राचीनकालका शिवभद्रकी छोरी नै विजयश्वरी देवी भएको लक्ष्मणराज शर्माले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।

प्राचीनकालमा विजयश्वरीको दर्शनार्थ काठमाडौँवरपरबाट पनि आउने गरेको पुस्तकमा इङ्गित छ । पाञ्चाल (पनौती) का वज्रपाद पण्डित नेपाल (हालको काठमाडौँ) मा आई विजयश्वरीको जप–ध्यान गर्दा पौष शुक्ल षष्ठी माघे सङ्क्रान्तिका दिन विजयश्वरी (विद्याधरी) देवीको दर्शन पाएर अष्टसिद्धिको वरदान पाएको कुरा निकै रोचक छ । यस घटनाले विजयश्वरीप्रतिको आस्था बढाएको नकार्न सकिँदैन ।

देवकर्म, पितृकर्म, पर्वविधिहरुदेखि मखँ छेँका परिवारजनले गर्ने सम्पूर्ण क्रियाकर्ममा विजयश्वरी देवीलाई पारिवारिक सदस्यका रुपमा लिई स्मरण गरिने परम्परा अहिले पनि छ । यद्यपि तिहारको म्ह पूजामा समेत विजयश्वरीको नाममा छुट्टै मण्डप बनाई पूजा गरिँदै आएको पुस्तकमा वर्णन गरिएको छ ।

पुस्तक सानो भए पनि ऐतिहासिक एवं सांस्कृतिक पक्ष समेटिएकोले यस पुस्तकलाई हामी सबैको गहन सम्पत्तिका रुपमा लिन सकिन्छ । पुस्तकको अन्त्यमा केही हस्तलिखित कागजपत्रका प्रतिलिपि र विजयश्वरी मन्दिरका तस्वीरहरु दिइएकाले यसले पुस्तकको ओज झनै बढाएको छ । आवरण पृष्ठसहित २८ पृष्ठको यस पुस्तकको सम्पादन पक्ष कमजोर र भाषागत त्रुटिहरु धेरै छन् । लेखक लक्ष्मणराज शर्मा र गोविन्द भक्तानन्द राजोपाध्यायले मन्तव्य लेखेको मिति पुस्तकमा उल्लेख भए पनि यो पुस्तक कहिले प्रकाशन भयो भन्ने कतै उल्लेख गरिएको छैन । साथै यस पुस्तकको मूल्य पनि राखिएको छैन । यसले के झल्काउँछ भने, यो पुस्तक हतारमा विनासम्पादन प्रकाशन गरेको हुन सक्छ । अर्को कुरा, मूल्य नराख्नु भनेको बिक्रीका लागि नभएर ऐतिहासिक एवं सांस्कृतिक पक्षको जगेर्नाका लागि मात्रै पुस्तक प्रकाशन गरेको भन्ने बुझ्न सकिन्छ । जे होस्, लेखक शर्माको मेहनतलाई कदर गर्नै पर्छ ।