बाजुरा।
बाजुरेली कृषक पछिल्लो समयमा स्याउ खेतीतर्फ आकर्षित भएका छन् । घरदैलोमै स्याउले उचित बजार पाउन थालेपछि कृषकले स्याउलाई व्यावसायिक खेतीका रूपमा लगानी गर्न थालेका हुन् । बाजुराका नौवटा स्थानीय तहका ६९ वडामध्ये प्रायः स्थानीय तहका वडास्तरसम्म सडक सञ्जाल पुग्नु र कृषि ज्ञान केन्द्र बाजुरालगायतका विभिन्न संघसंस्थाबाट ढुवानी तथा फलफूलका बोट अनुदान सहयोग पाएपछि कृषकहरू स्याउ खेतीतर्फ थप आकर्षित भएका हुन् ।
‘विगतमा पारी जुकोट र खत्याड खोलाबाट प्रसादका रूपमा चाख्न स्याउ किनेर ल्याउँथ्यौं । पछिल्ला वर्षयता पाण्डुसैनबाट स्याउ ल्याउँथ्यौंं । अहिले ढाडाकोट थिनी र कालापानीमा पनि राम्रो स्याउ फल्छन्’ –जगन्नाथ गाउँपालिका ढाडाकोटका गंगाप्रसाद उपाध्यायको भनाइ छ । पहिले प्रायः गाउँलेले स्याउ कस्ता हुन्छन् भनेर चिन्दैनथे, तर अहिले प्रत्येकका बारीमा स्याउका बोट भएको मोहतीका कलकबहादुर खत्रीले भबताउनुभयो । त्यस्तै, बूढीनन्दा नगरपालिका सिमकुरु, कुरुमा जौ, उवा, आलु, कोदो र सिमी त फल्थे स्याय लगाउने चलन थिएन । पछिल्लो समयमा परीक्षणका रूपमा लगाएका स्याउ पनि राम्रै फलेका छन् । स्याउलाई पनि व्यावसायिक रूपमा लगाउन थालिएको र आम्दानी पनि राम्रै भएको स्थानीय कृषक विशे रोकायले बताउनुभयो । रोकायले स्याउखेतीबाटै बालबालिकाको पढाइ खर्च र तराइतिर घरघडेरी किनेको बताउनुभयो ।
गत भदौ र असोज महिनामा मात्र बाजुरामा उत्पादित अर्गानिक स्याउ बिक्रीबाट १ करोड रुपियाँ बढीको आम्दानी भएको छ । बाजुराको स्वामिकार्तिक, हिमाली, जगन्नाथ र बूढीनन्दामा उत्पादित स्याउ बिक्रीबाट उक्त रकम आम्दानी गरिएको हो । अहिले बाजुरामा उत्पादित अर्गानिक स्याउ देशका ठूलाठूला सहर काठमाडौं, नेपालगञ्ज, सुर्खेत, धनगढीतर्फ निर्यात गरिएका छन् ।
बाजुराका किसानहरूले आफ्नो खेतबारीमा उत्पादन गरेको ठूलो परिणामको स्याउ बाह्य जिल्लामा निर्यात गर्ने गरेका छन् । कृषि ज्ञान केन्द्र बाजुराले ढुवानीमा अनुदान दिन थालेपछि स्याउ निर्यात गर्न सहज भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम साहनीले बताउनुभयो । यद्यपि, विगतको तुलनामा यस वर्ष स्याउ उत्पादनमा भने कमी आएको कार्यालय प्रमुख साहनीको भनाइ छ ।
बाजुरामा भदौ १५ गतेदेखि स्याउ पाक्न सुरु भएको थियो भने सदरमुकाम मार्तडीदेखि उत्तर पूर्वी क्षेत्रको सडक सञ्जाल तीन महिनासम्म सम्पर्क विच्छछेद हुँदा कतिपय किसानले डोकोमा बोकेर स्याउ बिक्री गरेका थिए । डोकोमै बोकेर पनि किसानले ठूलो परिणामको स्याउ बिक्री गरेको बाजुरामा स्याउ जोन क्षेत्र पनि छन् । स्थानीय बजार पनि राम्रो छ । सडक सञ्जालको स्तर उन्नति र प्रविधि जोड्न आवश्यक रहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
कृषि ज्ञान केन्द्रले ४ वर्षयता कृषकको बारीबाटै ढुवानी अनुदानसहित स्याउ जिल्ला बाहिर पठाउँदै आएको छ । बाजुरामा स्याउ उत्पादन हुने जम्मा ४२५ हेक्टर क्षेत्रफल रहेकोमा दुई सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ जहाँ जम्मा १ हजार ६ सय मेट्रिक टन स्याउ उत्पादन हुने गरेको छ । बाजुरामा फुजी, गोल्डेन, रेड डेलिसियस र स्थानीय जातको स्याउ उत्पादन हुने गरेको छ ।











प्रतिक्रिया