काठमाडौँ।
जेनजी आन्दोलनका क्रममा जलेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अहिले खण्डहर बनेको छ। भवन र अभिलेखसहित थुप्रै सामग्री नष्ट भएको यस्तै चुनौतीपूर्ण अवस्थामाझ नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले आइतवार पदभार ग्रहण गरेकी छन्।
डा. शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारको सट्टा अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) भवनमा सञ्चालनमा ल्याइएको मन्त्रालय पुगेर पदभार ग्रहण गरिन् ।
पदभार ग्रहण समारोहमा उनले जेनजी आन्दोलनका क्रममा घाइते भएकाप्रति सहानुभूति र सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मनोपरामर्शसहितको तीन बुँदे निर्णयमा हस्ताक्षर गरिन् ।
तीन बुँदे निर्णय
आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई निःशुल्क उपचारको व्यवस्था।
सहिद परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको पहल।
मानसिक स्वास्थ्य सुधारका लागि मनोसामाजिक परामर्श सेवा विस्तार।
डा. शर्माले पदभार ग्रहणपछि भनिन्,“कुनै तहमा पनि भ्रष्टाचार भएको सुनिनु नपरोस्। म सचिव भएर काम गरिसकेकी हुँ, अहिले फरक जिम्मेवारीमा छु। अब परिणाम देखिनुपर्छ।”
उनले मन्त्रालयका सचिवहरूलाई एक साताभित्र स्पष्ट कार्ययोजना (Action Plan) तयार गर्न निर्देशन दिँदै अल्पकालीन तर प्रभावकारी कामहरू गर्नुपर्नेमा जोड दिए।

डा. शर्माले प्राथमिकताका रूपमा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशसँग सहकार्य गरी स्वास्थ्य सेवा विस्तार गर्ने, स्वास्थ्य शिक्षामा योग्य जनशक्ति समावेश गर्ने, र वैदेशिक रोजगारमा रहेका नेपाली कामदारका लागि अनलाइन स्वास्थ्य परामर्श र सूचना प्रणाली विकास गर्ने बताइन् ।
उनका अनुसार,“देशमा रहेका सीपयुक्त स्वास्थ्यकर्मीलाई उचित उपयोग गर्नुपर्छ। अनलाइन सल्लाह र मानसिक स्वास्थ्यसम्बन्धी सहयोगले धेरै नेपालीलाई राहत पुर्याउन सक्छ।”
डा. शर्माले हालको जेनजेड आन्दोलनलाई असमानता र नातापाताबाट उत्पन्न असन्तोषको परिणाम भन्दै प्रणालीगत सुधार आवश्यक रहेको औंल्याइन् ।
“युवाहरूले परिवर्तनको माग गरेका हुन्। त्यसलाई सुन्न र कार्यान्वयन गर्न सरकारले गम्भीर हुनुपर्छ,” उनले बताइन् ।
अस्थायी कार्यालय र पुनर्निर्माणको तयारी
स्वास्थ्य मन्त्रालय हाल अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् भवनबाट सञ्चालनमा ल्याइने भएको छ। मन्त्रालयले भवन पुनर्निर्माणका लागि इञ्जिनियरिङ् मूल्याङ्कन समिति गठन गर्ने तयारी गरेको छ।
डा. शर्मा यसअघि पनि सन् २००८ देखि २०११ सम्म स्वास्थ्य सचिवका रूपमा कार्यरत रहेकी थिइन् । उनले मातृ स्वास्थ्य, सुरक्षित प्रसूति र ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा उल्लेखनीय योगदान पुर्याउएकी थिइन्।
यस पटक मन्त्रीको रूपमा फर्किँदै उनले संस्थागत सुधार, पारदर्शिता र तीनै तहबीचको समन्वयलाई मुख्य कार्यसूचीका रूपमा अघि सार्ने बताएकि छन्।
“जनताले महसुस गर्न सक्ने सुधार ल्याउनुपर्छ। सरकार जनतासँग जोडिन सके मात्र परिवर्तन सम्भव हुन्छ,” —उनले भनिन्
प्राथमिकता क्षेत्रहरू
जलेको स्वास्थ्य मन्त्रालयको पुनर्निर्माण
आन्दोलनमा घाइतेहरूको उपचार
सहिद परिवारका लागि राहत र बीमा कार्यक्रम
स्वास्थ्य प्रणाली सुधार र पारदर्शिता











प्रतिक्रिया