काठमाडौं।
सामाजिक अभियन्ता र जेनजी आन्दोलनका प्रमुख सदस्य बब्लू गुप्ता नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन् ।
उनले तेस्रो पटक मन्त्रीपरिषद् विस्तारको क्रममा उक्त महत्वपूर्ण जिम्मेवारी सम्हालेका हुन् । सिराहाका मूल निवासी गुप्ता ‘१०० ग्रुप’ नामक परोपकारी समूहका संस्थापक हुन्, जसले कोभिड–१९ महामारीको बेला हजारौं श्रमिकलाई निःशुल्क खाना उपलब्ध गराई मानवीय योगदानको उदाहरण प्रस्तुत गरेको थियो ।
गुप्ता जेनजी आन्दोलनको अग्रपंक्तिमा रहेका थिए । गत भदौ २३ र २४ गतेको आन्दोलनमा उनले माइतीघरबाट बानेश्वरसम्मको मार्चमा सक्रिय रूपमा सहभागिता जनाएका थिए । उनले आन्दोलनको क्रममा घाइतेहरूलाई उपचारको लागि अस्पताल पु¥याउनु र रगत व्यवस्थापनमा सहयोग गर्नु जस्ता महत्वपूर्ण कार्य गरेका थिए । आन्दोलनका सहभागीहरूबीच उनले देखाएको नेतृत्व र सेवाभावका कारण गुप्ता युवापिढीमा ‘सेवा गर्ने नेता’ का रूपमा स्थापित भएका छन् ।
सामाजिक कार्यमा नौ वर्षको लामो अनुभव बटुलेका गुप्ताले ‘कपडा बैंक’, ‘किताब बैंक’ र ‘प्रोजेक्ट शिक्षा’ जस्ता अभियान्त्रिक गतिविधिहरू चलाउँदै विपन्न समुदायका बालबालिकाका लागि शिक्षा र जीवनका अवसरहरू सृजना गरेका छन् । हाल, उनले ११० जना विद्यार्थीलाई काठमाडौंमा निःशुल्क शिक्षा र बसोबासको सुविधा प्रदान गरिरहेका छन ।
राजनीतिक विश्लेषकहरूका अनुसार, बब्लू गुप्ताको मन्त्री नियुक्ति ‘नयाँ पुस्ताको प्रतिनिधित्व’ को प्रतीक हो । राजनीतिक अनुभव नभए पनि सामाजिक कार्यमा उनको प्रतिबद्धता र युवापिंढीमा भएको लोकप्रियता मन्त्री नियुक्तिको आधार बनेको छ । मन्त्रीको पद सम्हाल्नुअघि गुप्ताले आगामी योजनाबारे भने, “अबको लक्ष्य युवा पलायन रोक्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने हो । खेलकुद र सामाजिक क्षेत्रको पुनरुत्थानका लागि नयाँ सुरुवात गर्नेछु ।”











प्रतिक्रिया