काँकरभिट्टाबाट आयात बढ्यो, निर्यात घट्यो


झापा ।

चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो तीन महिनामा पूर्वी नाका काँकरभिट्टाबाट १२ अर्ब २८ करोड ३० लाख रुपियाँँका मालवस्तु आयात भएका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब ४४ करोड २७ लाख रुपियाँँ (१३.३१ प्रतिशत) बढी हो ।

मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासिकमा यस नाकाबाट १० अर्ब ८४ करोड ३ लाख बराबरको सामान आयात भएको थियो । सोही अवधिमा निर्यात भने घटेको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । चालु वर्षको पहिलो त्रैमासिकमा ४ अर्ब ८० करोड ३९ लाख रुपियाँँ बराबरको मात्र वस्तु निर्यात भएको छ, जस भने गत वर्षको सोही अवधिमा ६ अर्ब ८ करोड ६९ लाख रुपियाँँ थियो ।

यस आधारमा निर्यात २१.०८ प्रतिशतले घटेको कार्यालयले जनाएको छ ।काँकरभिट्टाबाट निर्यात हुने प्रमुख वस्तुहरूमा अलैंची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनियर सिट र मोलासिस रहेका छन्। त्यस्तै आयात हुने प्रमुख वस्तुहरूमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराका कच्चा पदार्थ, तरकारी, फलफूल, खनिजजन्य उत्पादन र तयारी कपडा पर्छन् ।

भन्सार कार्यालयका अनुसार व्यापार गतिविधिबाट चालु आवको पहिलो त्रैमासिकमा ४ अर्ब १५ करोड २० लाख ८ हजार रुपियाँँ राजस्व संकलन भएको छ। यो गत वर्षको तुलनामा १५.६९ प्रतिशत अर्थात् ५६ करोड २९ लाख ९७ हजार रुपियाँँले बढी हो ।