बीमाले नभ्याए निजी क्षेत्रलाई सहुलियत कर्जा


काठमाडौं ।

अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा भएको निजी क्षेत्रको क्षति बीमा र वित्तीय प्रणालीले नसमेटेको खण्डमा सरकारले व्यहोर्ने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा तयार पारिएको ‘जेनजी आन्दोलनः ध्वंसपछिको अर्थतन्त्रको मार्गचित्र’ प्रतिवेदन ग्रहण गर्दै मन्त्री खनालले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री खनालका अनुसार आन्दोलनका क्रममा भएको क्षतिलाई केही भागमा बीमा र वित्तीय प्रणालीले कभर गर्न सक्ने भए पनि त्यसबाट नभरिने क्षति भए सरकारले व्यवस्थापन गर्नेछ । उहाँले भन्नुभयो–‘व्यवसायीहरूले गुमाएको सम्पत्ति पुनःस्थापना गर्नको निमित्त सरकारले अनुदान वा सफ्ट लोनको रूपमा सहयोग गर्नेछ । यो काम हाम्रो कार्यकालभित्रै सम्पन्न हुनेछ ।’ अहिले आधिकारिक क्षतिको तथ्यांक संकलन भइरहेको छ । टास्क फोर्समार्फत संकलित रिपोर्ट आएपछि आवश्यक सहयोग व्यवसायीहरूलाई प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।