काठमाडौं ।
अन्तर्राष्ट्रिय वित्तीय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई पुनः ‘ग्रे लिस्ट’ मा राख्ने निर्णय गरेको छ।
अक्टोबर २४ मा पेरिसमा सम्पन्न एफएटीएफको प्लेनरी बैठकले नेपालसहित १८ देशहरूको प्रगति समीक्षा गर्दै नेपालले फेब्रुअरी २०२५ मा दिएको उच्चस्तरीय राजनीतिक प्रतिबद्धता ठोस कार्यान्वयनमा रूपान्तरण गर्न नसकेको निष्कर्ष निकालेको हो ।
नेपाललाई करिब आठ महिना अघि ग्रे लिस्टमा सूचीकृत गरिए पनि सातवटा रणनीतिक कमजोरीहरू अझै सम्बोधन नभएको पाइन्छ । यसले नेपाललाई कालोसूचीमा पर्ने जोखिम नजिक पुर्याएको एफएटीएफले चेतावनी दिएको छ । समीक्षा बैठकमा नेपालले केही प्रगति देखाए पनि पूर्ण कार्यान्वयन नभएको ठहर गर्दै आगामी २४ महिनाभित्र आवश्यक सुधार पूरा गर्नुपर्ने र नसकेमा अन्तर्राष्ट्रिय वित्तीय प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी एफएटीएफले दिएको छ ।
एफएटीएफका अनुसार नेपालले सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन, बैंक तथा वित्तीय संस्थामा ग्राहक पहिचान (केवाईसी) र सन्देहपूर्ण कारोबार रिपोर्टिङ कडाइ, सहकारी क्षेत्रमा अनियमितता नियन्त्रण जस्ता सुधार गरेका भए पनि कार्यान्वयनमा ढिलाइ, राजनीतिक अस्थिरता र नियामक समन्वय अभावले गति सुस्त भएको छ । एफएटीएफको पछिल्लो निष्कर्षमा सम्पत्ति शुद्धीकरण, आतंकवादी वित्तीय लगानी जोखिम, जोखिम–आधारित सुपरिवेक्षण, अवैध ‘हुण्डी’ प्रवाह नियन्त्रणमा कमजोरी कायम रहेको पनि उल्लेख छ ।











प्रतिक्रिया