बक्यौता नतिर्ने दुई दर्जन उद्योगको लाइन काटियो

1.32k
Shares

काठमाडौं ।

झण्डै एक दशकदेखि बल्झिँदै आएको डेडिकेटेड फिडर तथा ट्रंकलाइन विद्युत् महशुल विवाद पुनः चर्किएको छ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत् विद्युत उपयोग गर्ने तर त्यसवापतको महसुल नतिर्ने दुई दर्जन उद्योगको विद्युत् आपूर्ति बन्द गरेसँगै यो चर्किएको हो ।

प्राधिकरणले गत असोज १२ गते सूचना जारी गरी २१ दिनको म्याद दिएर पनि भुक्तानी प्रक्रिया सुरु नगरेपछि पहिलो चरणमा ६ वटा र त्यसपछि थप १९ उद्योगको लाइन काट्दै कारबाही अघि बढाएको छ । सो विवादमा करिब ५ दर्जन उद्योगको नाम जोडिएको भए पनि केहीले बक्यौता महशुलको किस्ता तिर्न थालेका छन् । बक्यौता रहेकामध्ये १४ उद्योगले किस्ताबन्दीमा भुक्तानी सुरु गरेका छन् भने ६ उद्योगले अदालतबाट अन्तरिम आदेश लिएका छन् ।

प्राधिकरणले पछिल्लो चरणमा पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्ड्रस्टिज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको बिजुली काटिएको छ । यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको थियो ।

मन्त्रिपरिषद्को २०८१ वैशाख २७ गतेको बैठकले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत् विद्युत् प्रयोग गरेका ग्राहकले महसुल तिर्नुपर्ने निर्णय गरेको थियो । तर, सोअनुसार बक्यौता असुली हुन सकेको छैन । डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् प्रयोग गरेका ६१ वटा उद्योगको ६ अर्ब ६० करोड ७८ लाख रुपियाँ महसुल बक्यौता रहेको निष्कर्षसहित मन्त्रिपरिषद्ले सो निर्णय गरेको थियो ।

त्यसमा २५ प्रतिशत जरिवाना जोडिँदा करिब ८ अर्ब रुपियाँभन्दा हुनेछ । सरकारले डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवाद सुल्झाउनका लागि लाल आयोग गठन गरेको थियो । सो आयोगको प्रतिवेदनका आधारमा उद्योगीले अर्बौै रुपियाँ छट पाएका छन् । जसमा २०७५ जेठदेखि पुससम्मको १ अर्ब ४१ करोड ९० लाख ५० हजार र २०७५ वैशाखदेखि २०७७ जेठसम्मको ९ अर्ब १ करोड ९५ लाख १५ हजार गरी उद्योगीले १० अर्ब ४३ करोड ८५ लाख रुपियाँ तथा त्यसमा लाग्ने जरिवाना छुट भएको छ ।

डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत् विद्युत् प्रयोग गरेका उद्योगीहरूले महसुल नतिर्न गरेको हरेक प्रयास अहिलेसम्म असफल हुँदै आएका छन् । डेडिकेटेड फिडर एवम् ट्रंक लाइनको महसुलका विषयमा उद्योगहरूले दायर गरेका ९० वटाभन्दा बढी मुद्दाको विपक्षमा आदेश आएको छ ।

डेडिकेटेड फिडर तथा ट्रंक लाइन विवादलाई सम्बन्धित उद्योगी व्यवसायीहरूले न्यायिक निरुपण गर्ने भन्दा पनि राजनीतिक दबाब दिएर ‘सेटिङ’ गराउन खोज्दा झण्डै एक दशकदेखि यो विषय गिजोलिँदै आएको छ ।

विद्युत वितरण विनियमावली, २०६९ को विनियम २० (६) अनुसार छुट बिल गरिएको रकम ३५ दिनभित्र बुझाउन सूचना दिइएकोमा सो सूचना र विनियम ५५ (१) अनुसार छुट विलको निर्णयमा चित्त नबुझेका उपभोक्ताले प्राधिकरणको पुनरावलोकन समितिमा उजुर गर्न सक्ने वैकल्पिक कानूनी उपचारको व्यवस्था भए पनि उद्योगीहरूले पुनरावलोकन समितिमा छुट बिलको निर्णय बदर गरी पाउँ भनेर निवेदनसमेत दिएका छैनन् ।

उद्योगीहरूले भने डेडिकेटेड फिडरको प्रिमियम महसुलको आधार नै प्रमाणित नभएको आरोप दोहो¥याउँदै आएका छन् । आफूहरूले डेडिकेटेड र ट्रंकलाइन सेवा नलिएको र टीओडी मिटरअनुसारको बिल मात्रै स्वीकार्य हुने अडान पूर्ववत् छ । उनीहरूका दाबीमा प्राधिकरणले तोकेको प्रिमियम शुल्क प्रमाणबिहीन, एकतर्फी र गलत आधारमा बनाइएको उद्योगीहरुको आरोप छ ।

उद्योग र बक्यौता विद्युत् महशुल
क्र.स उद्योगको नाम जरिवानाबाहेकको बक्यौता (रुपियाँमा )

१ बाबा जुट मिल्स २,४९,२६,५४९
२ रघुपति जुट मिल्स ८,५१,४०,३७५
३ रिलायन्स स्पिनिङ मिल्स ७५,३६,८४,३३५
४ निगाले सिमेन्ट ५,८१,१८,००८
५ अरिहन्त मल्टिफाइवर ११,५२,९६,२७९
६ अरिहन्त पोलिप्याक ६,६२,४७,०५०
७ मारुती सिमेन्ट ५७,४४,७९,४९३
८ त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज ४,३९,८३,१७९
९ हिमाल आइरन एण्ड स्टील १३,६५,०१,९०२
१० त्रिवेणी स्पिनिङ मिल्स ३२,०९,८६,७९३
११ जगदम्बा स्टील १,६०,१८,४३,१२५
१२ अशोक स्टील १७,५८,१४,४०६
१३ हुलास स्टील १४,१२,०५,८६२
१४ हामा आइरन ५,८५,१७,९३६
१५ एभरेष्ट पेपर मिल ९,४४,२१,४९६
१६ कसमस सिमेन्ट ९,७७,२५,५१५
१७ युनाइटेड सिमेन्ट ११,३६,८३,९०९
१८ अर्घाखाँची सिमेन्ट ४४,८४,३२,५७३
१९ विशाल सिमेन्ट ३,३५,२५,९१५
२० एभरेष्ट रोलिङ मिल्स १७,५७,८०९
२१ जगदम्बा सिन्थेटिक २०,५०,४३,९८९
२२ एसआर फुड्स १,४८,५४,८९२
२३ घराना फुड्स १,८७,६९,३५३
२४ सिद्धार्थ पेटप्लास्ट १,८२,८६,३३३
२५ गोयन्का फुड्स १,४७,६७,३१९
२६ भलवारी स्वचालित कारखाना २९,९३,६४५
२७ श्याम प्लास्टिक उद्योग ४९,०९,६७७
२८ पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज २४,६३,८७६
२९ पञ्चकन्या स्टील ५२,१९,३६२
३० एसआर स्टील इन्डष्ट्रिज १६,२४,५९७
३१ बुटवल सिमेन्ट १८,४५,४९,४८१
३२ लक्ष्मी स्टील २३,७९,३१,०३७
३३ सोनापुर मिनरल्स एण्ड आयल २४,२९,९९,२७३
३४ घोराही सिमेन्ट ५०,८५,३५,३४१
जम्मा ६,४०.९२,४०,७०१
स्रोत : नेपाल विद्युत प्राधिकरण