झन्डै दुई वर्षअघि प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा परी मारिएका विपिन जोशीको शव आखिर नेपाल ल्याएर दाहसंस्कारसमेत गरियो । उनको पार्थिव शरीर नेपाल फर्काइनुअघि इजरायली परराष्ट्र मन्त्रालयले इजरायलको तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीप्रति श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेको थियो ।
सो अवसरमा इजरायली सरकारका बन्धक मामिलाका समन्वयकर्ता गल हिर्स, इजरायलको परराष्ट्र मन्त्रालयका उपमहानिर्देशक एवं इजरायलको अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सी (मासाभ)का प्रमुख एइनात स्लाइनलगायतका इजरायली अधिकारीहरूका साथै किब्बुट्ज अलुमिम र स्दोत हानेगेभ क्षेत्रीय परिषद्का बासिन्दा, नेपाली दूतावासका पदाधिकारी र इजरायलमा रहेका नेपाली समुदायको उपस्थिति थियो । यो उपस्थितिले नेपालीप्रतिको गहिरो संवेदना झल्काएको मान्न सकिन्छ ।
समाचारअनुसार इजरायल पुगेको तीन सातामै विपिन हमासको कब्जामा परेका थिए । सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आतंककारी आक्रमणको क्रममा उनी बन्धक बनाइएका थिए । उनको रिहाइका लागि गत अगस्टमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल पुग्नुभएको थियो । उहाँहरूले इजरायली राष्ट्रपतिसँग समेत भेटेर विपिनको रिहाइका लागि पहल गरिदिन अनुरोध गर्नुभएको थियो । गत सेप्टेम्बरमा अमेरिकामा आयोजित संयुक्त राष्ट्रसंघको महासभामा पुगेर समेत उहाँहरूले विपिनको रिहाइका लागि विश्व समुदायसमक्ष अनुरोध गर्नुभएको समाचार प्रकाशमा आएको थियो ।
हमास आतंककारीहरूले बंकरमा लुकेर बसेका दुई नेपालीको हत्यापछि २ वटा ग्रिनेड फ्याँकेका थिए । विपिनले तीमध्ये एउटा ग्रिनेड बाहिर फ्याँकेर आफ्ना साथीहरूको ज्यान जोगाएका थिए । त्यसपछि उनलाई आतंककारीहरूले अपहरण गरी गाजामा लगेका थिए । बन्धक बनाएको एक–दुई महिनापछि नै विपिनको हत्या भएको अनुमान गर्न सकिन्छ । हालै इजरायल र हमासबीच भएको युद्धविराम र बन्धक साटासाट सम्झौतापछि हमासले विपिनसहित ४ बन्धकको मृत्यु भइसकेको जानकारी दिँदै इजरायललाई चारैजनाको शव बुझाएको थियो । त्यसपछि इजरायलले डीएनए परीक्षण गरी उनको मृत्युको औपचारिक पुष्टि गर्दै पार्थिव शरीर नेपाल फर्काउने व्यवस्था ग¥यो ।
अहिले उनको पार्थिव शरीरको दाहसंस्कार गरिसकिएको छ । अब उनी बाँचेकै छन् भन्ने झीनो आशा पनि समाप्त भइसकेको छ । अब यसरी विदेशमा गएर कुनै नेपालीले ज्यान गुमाउन नपरोस् । विपिनप्रति हार्दिक श्रद्धाञ्जलि ।
– वीरञ्चन श्रेष्ठ, हाल : युएई ।











प्रतिक्रिया