प्रकृति पूजन–२‘इनर्जी क्यान नाइदर बि क्रिएटेड नर डिस्ट्रोएड’

282
Shares

यस प्रकृतिमा अवस्थित यावत् जीवजन्तु, प्राणी, तत्व, मनुष्य, सजीव, निर्जीव पदार्थमा जहाँतहीँ शक्ति फैलिरहेको छ । त्यसैले उद्बोधार्थ छुटपुट क्षमासहित ‘जलचर स्थलचर ग्रहगण तारा, सूर्यलगायत शूर मुनि सारा । केवल प्रभुकै करुणा पाई, गर्छन् निज–निज नित्य रमाई’ भन्ने पुरानो श्लोक प्रस्तुत गरेको छु । प्रकृतिमा रहेका पृथ्वी, जल, तेज, वायु र आकाश जसलाई पञ्चतत्व वा पञ्चमहाभूत पनि भन्ने गरिन्छ, पूर्णतया शक्तिमान् रहेका छन् ।

हाइड्रोजन र अक्सिजन ग्यासको मिश्रणले पानी बन्छ । शक्तिविना ग्यास पनि हुँदैन । माटोमा पनि जीवत्व रहेको भनाइ छ । शक्तिविना प्राणीको जन्म पनि हुँदैन । वीर्य गर्भाशयमा पसेपछि नै स्वभावतः मनुष्यको जन्मप्रक्रिया शुरु हुन्छ । माटोलाई आगोमा पोलेरै इँटा बनाउने गरिन्छ । एक हजार वर्ष जतिमा ढुङ्गा पनि माटोमा परिणत हुन्छ भन्ने लेख जमानामा पढेकोमा अहिले इँटा पनि माटोमा परिणत हुन सक्छ भने ढुङ्गा पनि माटोमा परिणत हुन सक्नेमा सकारात्मक हुँदै सन्तोष लाग्छ । हामीले खानपिन गरेको पदार्थ नै शक्तिको रुपमा मांसपेशी, छाला, रगत, हड्डी आदिमा प्रवेश भई जन्मने र हुर्कने गर्दछ भने हामीले नै त्यागेको मलमूत्र मलको रुपमा प्रयोग भई अन्न, फलफूल, तरकारी खाएको याद त पक्कै रहेको होला नि !

शरीरको लुगामा मयल जम्न गएमा वा पसिनाले पनि जुम्रो जन्मन्छ भन्दा ताजुब लाग्ला तर कुरा सत्य हो । चामल, दाल, गेडागुडी, सुकाएको, गलाएको, कुहिएको, गन्हाएको पदार्थ वा मासुमा समेत म्याद नाघेपछि कीटाणु पैदा हुन सक्ने तथ्यलाई सम्झनुहोला । कुनै कालखण्डमा सजीव निर्जीवमा र निर्जीव पनि सजीवमा परिणत हुन सक्ने बलियो सम्भावना छ । यसलाई पुष्टि गर्न यो कुरा यहाँ औँल्याइएको हो ।

मनुष्यको जन्म, हुर्काइ, बढाइ हुँदै बाल्यकाल पार गर्दै बैंसमा पुगी यौवन–यौवना, युवा–युवती, तरुण–तरुणी, जवान–जवानी लाग्दै रसरङ्ग, रमिता, हँस्यौली, ठट्यौली, मजाक, प्रेम प्रसङ्ग चल्दै, टिक्दै, तोडिँदै, पुनः कायम हुँदै, विछोड, मिलन, संसर्ग, सहवास, समागमको साथै वैवाहिक क्रियासमेत सकिँदै प्रौढकाल आइपुगेको त पक्कै हो नि ! प्रौढकाल त प्रायः घरधन्दा, कामकाज, सन्चो, बिसन्चो, किनमेल, चाडपर्व, रोगव्याधि, पीडा, व्यथा, सन्तुष्टि, असन्तुष्टि, भोजभतेर आदिले नै घेरिँदै, बेरिँदै समय घर्केको चालै नपाई सकिन्छ जस्तो लागेको छ । यसो हेर्दा जीवनको सुखसयल र आनन्दातिरेक उत्तम काल त यौवनकाल नै महसुस भएको छ । अनि प्रौढकाल सकिँदै वृद्धावस्थातिर घचेटिँदा त रोगव्याधिको साथै शरीरमा अनेकौँ कमी–कमजोरी र शिथिलताको संकेत, लक्षण र निराशाको बादलले घेरिएको हुन्छ ।

शरीरको मासु, छाला, रगत र हाडमा समेत शक्ति क्षीण भई अङ्गप्रत्यङ्गमा असजिलो महसुस हुन्छ । हातखुट्टा बाउँडिने, मासु फर्किने, निद्रा नलाग्ने कारणले पनि सताउने गर्दछ । यो अन्तिम कालबाट मुक्ति पाउनु नै अति गौरव र गर्वको क्षणजस्तो लाग्छ । छोरा, छोरी, बुहारी, नातिनातिनाहरुलाई साम्य पारी मृत्युवरण गर्दा अलि कठिन त हुन्छ नै । तर पुनर्जन्ममा फल चाख्न पाइयोस् भन्ने स्तुति र कामनासहित अन्त्य होइन्छ । तर यसमा पनि कोही गर्भमै, कोही अल्पायुमै, कोही प्रौढकालमै अर्थात् वृद्धकाल नलाग्दै मृत्यु भोगेका हुन्छन् । यसलाई जीवनको स्वरूप, पूर्वजन्मको धर्म–कर्म, पाप–पुण्य, दान–धर्म, पराक्रम, पहिचान, सुख–दुःख आदिको कारण वा भोगको फल भनी तौलिने र दाँजिने पनि गर्छन् । यो मेरो वश वा पहुँचभन्दा टाढा भएकोले विसर्जन गरेको छु ।

सृष्टिलाई ध्वंसात्मक वा रचनात्मकतर्फ लैजाने भन्ने विषयमा पनि मानवकै ठूलो देन रहेको छ । चन्द्रमामा मानव पदार्पण र मङ्गल ग्रहमा यान प्रक्षेपणमा पनि मानिसकै करामत रहेको छ । ज्ञान, विज्ञान र प्रविधिको विकासले मृतक व्यक्तिको मुटु, मृगौला र कलेजो निकाली अर्को विरामीमा प्रयोग गरेर प्राण बचाएको ज्वलन्त उदाहरण त हामीले देखेकै छौँ । प्रयासरत भएमा अझ बढी उपलब्धि हुने बलियो संभावना रहेकै छ ।

उपसंहार
१. जन्मपछि मृत्यु भएन भने जन्मको मतलब के ? मृत्युपछि जन्म भएन भने पुनर्जन्मको मतलब के ? त्यसैले जन्मपछि मृत्यु, मृत्युपछि पुनर्जन्मको परिकल्पना न्यायोचित छ । वास्तवमा प्रकृति वा धरती नै सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता हुन् ।
२. जीवन चलायमान स्थिति हो । शैशवकाल, यौवनकाल, प्रौढकाल र वृद्धकाल यसको स्वभाव हो । जीवनलाई रसिलो, भरिलो, चलमलिँदो तथा स्वादिलोसँग उपयोग गर्नु नै जीवनको सार्थकता हो । अरु सबै यथावत् भई अकालले बाहेक मरण नहुने गरेर तपाईंको आयुमा २ सय वर्ष बढी बाँच्ने आशीर्वाद पाउनुभयो भने कस्तो लाग्छ ? ठण्डा दिमागले एकाग्रचित्त भएर सोच्नुस् तं !

३. समय, काल, अवस्था र परिस्थितिअनुसार सत्य, असत्य, धर्म, पाप, दान, पुण्य, दण्ड, सजाय, न्याय, अन्याय, ठीक, बेठीक आदिको भाष्यमा समेत रुपान्तरण, फेरबदल, परिमार्जन हुन सक्छ र हुन्छ पनि । नत्र किन चाहियो सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग भनी युग परिवर्तन ? आजभन्दा १०५–११० वर्षअघिको र अहिलेको अवस्थाको मात्रै कल्पना गर्नुस् त ! प्रस्ट थाहा पाइनेछ ।

४. कारणवश प्रकृति, धरती वा ब्रह्माण्ड कुपित भई पूर्वावस्थामै याने ब्ल्याक होलमै स्थिर भयो भने सृष्टिको हालत के होला ? अनि ज्ञान के, अज्ञान के, धर्म के, अधर्म के, पुण्य के, पाप के, देव के, राक्षस के, न्याय के, अन्याय के, आत्मा के, परमात्मा के ? सबै शून्य, शून्य, शून्य ….! शून्यतामा रहनुको प्रयोजन के ? निरस, निश्चल, निश्शेष । (अघिल्लो सोमबारको बाँकी अंश समाप्त)
(लेखक वज्राचार्य पद्मोदय स्कूल, काठमाडौँका पूर्व–शिक्षक हुनुहुन्छ ।)