–सरकारीसरह न्यूनतम तलब ३४,७३० र ५,००० महँगी भत्ता लागू गर्ने
–प्रशिक्षार्थी नर्सको नाममा श्रमशोषण रोक्ने
–जोखिम भत्ता सुनिश्चित गर्ने
–कार्यस्थलमा सम्मानजनक व्यवहार र पेशागत अधिकारको प्रत्याभूति
काठमाडौं ।
देशभरका नर्स र स्वास्थ्यकर्मीहरूले न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै थालेको आन्दोलन तीव्र बन्दै जाँदा सरकारले सातै प्रदेशमा स्थलगत अनुगमन टोली गठन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णयअनुसार बनेको उच्चस्तरीय समन्वय समितिको पहिलो बैठकले यही कात्तिक ५ गते अनुगमन टोली गठन गर्ने निर्णय गरेको हो । समितिले टोलीलाई आन्दोलनरत नर्सहरूसँग वार्ताका लागि सहजीकरण गर्दै समस्याको दीर्घकालीन समाधानका सिफारिससहित प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा बनेको समन्वय समितिमा मन्त्रालयका नीति महाशाखा प्रमुख, चिकित्सा शिक्षा आयोगका प्रतिनिधि, नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. चन्द्रकला शर्मा, निजी मेडिकल तथा डेन्टल कलेज संघका प्रतिनिधि शान्तराज बतास, र स्वतन्त्र नर्स समूहकी ज्योति रानाभाट सदस्य रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले पठाएको पत्रमा प्रत्येक प्रदेशमा नेपाल नर्सिङ संघको प्रदेश संयोजकको नेतृत्वमा अनुगमन टोली गठन गर्ने व्यवस्था गरिएको छ । टोलीमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, आन्दोलनरत नर्सका प्रतिनिधि, र प्रदेश स्वास्थ्य मन्त्रालयका अधिकारीहरू सदस्य रहने व्यवस्था गरिएको छ । यी टोलीहरूले आफ्ना प्रदेशका निजी मेडिकल कलेज, निजी अस्पताल र अन्य स्वास्थ्य संस्थामा पुगेर कार्यरत नर्सहरूको तलब, सेवा–सुविधा र श्रम–परिस्थितिको विस्तृत अध्ययन गर्नेछन् ।
अनुगमनपछि तयार हुने प्रतिवेदन एक साताभित्र समितिलाई बुझाउनुपर्ने पत्रमा उल्लेख छ । यसका लागि सरकारले गृह मन्त्रालयलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा आवश्यक पत्राचार गर्न पनि निर्देशन दिएको छ ।
त्यससँगै, नेपाल नर्सिङ संघलाई आन्दोलनरत नर्सहरूबीच सहजीकरणको जिम्मा दिइएको छ, जसले वार्ता प्रक्रिया सहज बनाउन सहयोग गर्नेछ । अनुगमन टोलीसँग समन्वय र सम्पर्क कार्यका लागि डा. सुनीता लम्साललाई सदस्य सचिव तोकिएको मन्त्रालय स्रोतले जनाएको छ ।
सरकारको यो निर्णयलाई नर्सिङ संघले सकारात्मक संकेतका रूपमा व्याख्या गरे पनि, उनीहरूले आफ्ना मागहरूको ठोस कार्यान्वयन र तलब मापदण्ड कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
विगत दुई दशकदेखि नै नेपालमा नर्सहरूले पारिश्रमिक र सेवा सुविधामा समानताको माग गर्दै आइरहेका छन् । तर, निजी स्वास्थ्य संस्थाहरूमा अझै पनि न्यूनतम तलबको कार्यान्वयन भएको छैन भने स्थायीले पाउनुपर्ने सेवा सुविधा पनि उपलब्ध छैन ।
२०८१ साल मंसिरमा तत्कालीन स्वास्थ्य मन्त्रीले नर्सहरूको पारिश्रमिक सरकारीसरह बनाउने निर्णय गरेका थिए । तर, एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले यसले आर्थिक दिगोपनामा नकारात्मक असर पार्ने भन्दै सो नीति लागू गर्न अस्वीकार गरेको थियो ।
त्यसयता निजी मेडिकल कलेज र अस्पतालका नर्सहरू पटक–पटक सडकमा उत्रिँदै आएका छन् । हालै पोखराको मणिपाल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजमा सुरु भएको आन्दोलन सुदूरपश्चिम, चितवन, जनकपुर र काठमाडौंका अस्पतालहरूमा समेत फैलिएको छ । यसै अवधिमा नर्भिक इन्टरनेसनल अस्पतालले भने नर्सहरूको आन्दोलनलाई समर्थन गर्दै ३४,७३० र रु.५००० महंगी भत्ता लागू गरेको जनाएको छ ।
नर्सहरूको मागलाई सकारात्मक रूपमा लिई तत्काल समस्या समाधानका लागि प्रधानमन्त्री सुशीला कार्कीले गत साता स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर आन्दोलनरत नर्सहरूसँग तत्काल छलफल गरी समाधान खोज्न निर्देशन दिनुभएको थियो ।
सोहीअनुरूप स्वास्थ्य मन्त्रालयमा भएको प्रारम्भिक छलफलमा नेपाल नर्सिङ संघ, निजी मेडिकल तथा डेन्टल कलेज संघ, चिकित्सा शिक्षा आयोग, जेन–जी समूह र स्वतन्त्र नर्स प्रतिनिधिहरू सहभागी एक उच्च स्तरिय समन्वय समिति गठन भएको थियो । समितिले कात्तिक २ दिउँसो २ बजे राखेको सर्वपक्षीय वार्ताले एक साताभित्र छानबिन गरी निकास निकाल्ने सहमति बनेअनुरूप वार्ता टोलीले तिहार र बिदाका समयमा पनि भर्चुअल बैठक बसेको थियो । समितिको दोस्रो बैठक ९ कात्तिकमा बस्ने भएको छ ।
नर्सिङ संघकी अध्यक्ष प्रा. चन्द्रकला शर्माका अनुसार श्रमको सम्मान नभएसम्म नर्स आन्दोलन जारी रहनेछ । नेविसंघको समर्थनपछि श्रमिक संगठनहरू, चिकित्सा विद्यार्थी र महिला अधिकार समूहहरूले पनि नर्सहरूको आन्दोलनको पक्षमा वक्तव्य जारी गरेका छन् ।
नर्सिङ पेशा लामो समयदेखि ‘फ्रन्टलाइन’ स्वास्थ्य सेवाको मेरुदण्ड मानिँदै आएको भए पनि नर्सहरू नै न्यूनतम तलब र सम्मानबाट वञ्चित हुनु विडम्बनापूर्ण अवस्था भएको नर्सिङ संघको भनाइ छ ।
नेविसंघको ऐक्यबद्धता
देशभरका नर्स र स्वास्थ्यकर्मीहरूले तलबवृद्धि, जोखिम भत्ता र पेशागत सम्मानका मागसहित सुरु गरेको आन्दोलनले नयाँ मोड लिएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शनिवार एक विज्ञप्ति जारी गर्दै नर्स आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरेको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित गरेको विज्ञप्तिमा भनिएको छ– ‘नेपालका नर्स र स्वास्थ्यकर्मीहरू न्यून पारिश्रमिक, असमान व्यवहार र पेशागत अधिकारको अभावका कारण गम्भीर अन्यायमा परेका छन् । उनीहरूको माग न्यायोचित र वैधानिक छ, सरकारले तत्काल सम्बोधन गर्नुपर्छ ।’
श्रम ऐन २०७४ ले न्यूनतम ज्याला रु.१९,५५० तोकेको भए तापनि अहिलेसम्म धेरै नर्सहरू मासिक रु.१५,००० देखि रु.२०,००० सम्मको पारिश्रमिकमा काम गर्न बाध्य छन् । यससँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८१ मंसिर २७ गते जारी गरेको निर्देशनमा नर्सहरूको न्यूनतम तलब पाँचौं तहअनुसार रु.३४,७३० निर्धारण गरेको भए पनि, निजी अस्पताल र मेडिकल कलेजहरूले सो मापदण्ड कार्यान्वयन गरेका छैनन् ।
नेविसंघको विज्ञप्तिमा भनिएको छ– ‘नर्स र स्वास्थ्यकर्मीहरूले आम जनताको स्वास्थ्य सेवामा निस्वार्थ समर्पण गरेका छन्, तर उनीहरूकै श्रमको उचित मूल्य र सम्मान सुनिश्चित हुन सकेको छैन, जुन अत्यन्त चिन्ताजनक अवस्था हो ।’
नेविसंघले श्रम शोषण रोक्न, निजी स्वास्थ्य संस्थामा सरकारीसरह तलब सुविधा लागू गर्न र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्दै पेशागत न्याय र नर्सहरूको जीवनस्तर उकास्न सरकारले ठोस नीति ल्याउनुपर्नेमा जोड दिएको छ ।











प्रतिक्रिया