वार्ता र संवादबाट समाधान खोज्न आग्रह


काठमाडौं ।

चाडबाड सकिएलगत्तै विभिन्न समूहले प्रदर्शन गर्ने हल्लासँगै प्रधानमन्त्री निवास बालुवाटारमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे गम्भीर छलफल भएको छ । शनिवार प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभयो । करिब दुई घण्टासम्म चलेको छलफलमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गर्दै सम्भावित सुरक्षा चुनौतीका प्रधानमन्त्री कार्कीलाई जानकारी दिएका थिए ।

बैठकमा वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्ने विषयमा पनि छलफल भएको थियो । बैठकपछि गृहमन्त्री अर्यालले संचारकर्मीहरूसँग भन्नुभयो– ‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छांै । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन् । आफ्ना राजनीतिक मागहरू जिम्मेवार तवरमा राख्न सबै स्वतन्त्र छन् । राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौं । सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौं ।

संवादबाटै समस्याको समाधान चाहन्छौं ।’ उहाँले सरकार फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको जिकिर गर्दै अनावश्यक धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम नगर्न पनि आग्रह गर्नुभयो ।
यसैबीच गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले एक विज्ञप्ति जारी गरी निर्वाचन केन्द्रित वातावरण निर्माण हुँदै गरेको स्थितिमा हाल सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति तथा समूहका नाममा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएकोमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

सरकारले निर्वाचनसम्बन्धी कानुनमा संशोधन र श्रोत–साधनको व्यवस्थापनमा ध्यान केन्द्रित गर्नुका साथै राजनीतिक दलहरूसँग वार्ता गरिरहेको विषय सबैमा अवगतै रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– ‘देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवम् अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरू समेत सचेत हुनुपर्ने देखिन्छ ।’ विज्ञप्तिमा माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने अधिकारहरू कुण्ठित हुन नदिन आग्रह गरेको छ । सबैको जायज माग र चासोलाई सम्बोधन गर्न सरकार सदा तत्पर रहेको भन्दै गृह मन्त्रालयले यस्ता धर्ना, जुलुस र आन्दोलनका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध गरेको छ ।