केही मख्ख, केहीलाई टोक्नु कि बोक्नु

कामपाका विभागीय र इकाइ प्रमुखलाई सबै अधिकार

4.04k
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको बोलपत्र स्वीकृतदेखि १० करोडसम्मको बजेट स्वीकृत गर्ने अधिकार पाएका १९ विभागीय र इकाइ प्रमुखले प्रमुख प्रशासकीय अधिकृतसरह अधिकार पाए पनि काम गर्न सकेका छैनन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि अनेक दबाब दिएर गुटबन्दी गर्न पल्केका विभागीय प्रमुख आफैंले अधिकार पाएपछि अक्क न बक्क भएका छन् । यो असीमित अधिकारले केही मख्ख छन् । केहीलाई टोक्नु कि बोक्नु भएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई प्राप्त नीतिगतबाहेक सबै अधिकार विभागीय र इकाइ प्रमुखलाई दिइएको छ ।

यसअघि मेयर बालेन्द्र साहका सचिवालयका सदस्यले दर्जनांै फाइल स्वीकृत गर्न प्रमुख प्रशासकीय अधिकृतमाथि दबाब दिने गरेका थिए । अहिले सबै विभागीय प्रमुखले अधिकार पाएपछि मेयर साहका सचिवालयका सदस्यलाई बोलपत्रमा सेटिङदेखि भुक्तानी दिनसम्म सजिलो भएको छ । स्रोतका अनुसार जेन–जी आन्दोलनको पर्सिपल्ट मेयर सचिवालय केही सदस्यले आधादर्जन बढी फाइल स्वीकृत गर्न प्रशासन विभाग र प्रमुख प्रशासकीय अधिकृतलाई दबाब दिएका थिए ।

दबाब थेग्न नसकेपछि प्रमुख प्रशासकीय अधिकृत गुरागार्इंले चालू आर्थिक वर्षमा स्वीकृत भएका बजेट तथा कार्यक्रमको बोलपत्र, लागत अनुमान, स्पेसिफिकेसन, टेन्डर स्वीकृत गर्ने, सबै बोलपत्र कागजात तयार पार्ने, टेन्डर सूचना जारी गर्नेसम्मको अधिकार विभाग र इकाइ प्रमुखको अधिकार क्षेत्रभित्र पर्ने गरी हस्तान्तरण गरिएको थियो ।
अधिकार प्रत्यायोजन गरेपछि केही विभागीय प्रमुख खुसी देखिएका छन्, केही दुःखी । स्रोतका अनुसार मेयर सचिवालयको टिमसँग नजिक भएर प्रमुख प्रशासकीय अधिकृतको कुरा काट्दै हिँड्ने विभागीय प्रमुख खुसी छन् । नियमभित्र रहेर काम गर्ने दुःखी छन् ।

‘प्रमुख प्रशासकीय अधिकृतले १० करोडभन्दा माथिको अन्तिम बोलपत्र स्वीकृत, चेक भुक्तानी, खरिद, निर्माण र छनोट भएका बोलपत्रको अन्तिम स्वीकृत गर्ने अधिकार खरिद इकाइ प्रमुख रामरतन साहलाई दिएका छन् । उक्त अधिकार पाएपछि साह खुसी देखिएका छन्’ –एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने । ‘प्रपअको विरोधमा कुरा लगाउने गरेका थिए, अहिले १० करोडदेखि अर्बभन्दा माथिसम्मको बजेट स्वीकृत गर्ने अधिकार पाएपछि मेयर सचिवालयलाई खुसी बनाएका मात्र छैनन्, आफैं मख्ख छन्’ – खरिद इकाइ प्रमुख साहको टिप्पणी गर्दै एक उच्च कर्मचारीले भने ।

अधिकार पाएका इकाइ र विभागीय प्रमुखले काम देखाउने अवसर पाएको अनुभूति गरेका छन् भने केहीले काम गर्न नसकेर कहिले फाइल फिर्ता गर्ने त कहिले कानुनी सल्लाह माग्न थालेका छन् । मेयर बालेन्द्र साहको चाहनाअनुसार विभागीय प्रमुखले अधिकार पाए पनि खासै काम गर्न नसकेको गुनासो पुगेको छ । दैनिक बिहान साढे १० बजेदेखि कार्यालय समयसम्म कार्यकक्षमै बस्ने गरेका मेयर साह विभागीय प्रमुखको कामको सुस्तताप्रति असन्तुष्ट हुनुहुन्छ । सुरुमा अधिकार चाहियो भनेर गुनासो गर्ने विभागीय प्रमुखले अहिले किन काम गर्न सक्नुभएन ? भन्ने मेयर साहले कारण खोजी गर्नुभएको छ ।

जेन–जी आन्दोलनअघि प्रमुख प्रशासकीय अधिकृतलाई जसरी भए पनि सरुवा गर्न प्रधानमन्त्रीदेखि मन्त्रीलाई पटकपटक आग्रह गर्ने गरेका मेयर साह अहिले यही कार्यकारी नै ठीक छ, सरुवा गर्न हुँदैन भनिरहनुभएको स्रोतले बताएको छ । ‘चुनाव आउनै लाग्दा कस्तो प्रमुख प्रशासकीय अधिकृत आउँछन् थाहा छैन, अहिलेकै कार्यकारीले काम गरिरहनुभएको छ भन्दै मेयर सचिवायले समेत गुरागार्इंको सरुवा गराउने पक्षमा छैनन्’ –स्रोतको भनाइ छ ।