सभापतिमा तीन नेताबीच तीव्र प्रतिस्पर्धा


काठमाडौं ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनबारे विभिन्न चर्चा परिचर्चाका भइरहँदा पार्टीको केन्द्रीय समितिको बैठक १३ कात्तिकबाट नियमित हुँदै छ । असोज २८ बाट जारी बैठकको पहिलो दिन सभापति शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणासँगै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो ।

कांग्रेसलाई बलियो बनाउन सबै मिलेर अघि बढ्न आग्रह गर्नुभएका देउवाले आफ्नो उत्तराधिकारीका रूपमा खड्कालाई नै रोज्नुभएको हो । पार्टी विधानले पनि उहाँको विकल्प खोज्दा थप जटिलता उत्पन्न हुन सक्ने कुरालाई ख्याल गरेर देउवाले गरेको सहज बहिर्गमनले समग्रतामा निकै सकारात्मक सन्देश प्रवाह भएको छ ।

योसँगै कांग्रेसमा नयाँ नेतृत्व स्थापित हुने पक्का भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ३० असोजबाट बसेको बैठक कात्तिक १३ गतेसम्मलाई सारेर तिहार तथा छठ मनाउन बिदा दिइएको छ । यो बैठकले पार्टीको आन्तरिक राजनीतिक जीवनको महत्वपूर्ण पक्ष महाधिवेशन र देशको धुमिल राजनीतिलाई सङ्लो बनाउने विषयमा निर्णय लिने छ । कांग्रेसको बैठकलाई सबै तह र तप्काबाट विशेष महत्वका साथ हेरिएको छ ।

यो बैठकले पार्टी रूपान्तरण, नेतृत्वको पुस्तान्तण र देशको जटिल राजनीतिक अवस्थालाई आफ्नै नेतृत्वमा सहज अवतरण गर्ने निर्णय हुने भएकाले कांग्रेस केन्द्रीय समितिको बैठकलाई राजनीतिक महत्वका साथ लिइएको हो । १५औं महाधिवेशनको कार्यतालिकासहित निष्कर्ष निस्कने भएकाले नेताहरू आगामी नेतृत्वको तयारीमा व्यापक जुटेका छन् । कांग्रेसको यो महाधिवेशनमा ३ वटा समूह बलियो बन्ने देखिएको छ ।

अघिल्लोपटक देउवासँग सभापति लडेर दोस्रो भएका नेता शेखर कोइराला, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखरकै समूहबाट महामन्त्री जितेका गगन थापा सभापतिका लागि बलियो दाबेदार बन्ने पक्का भएको छ । वर्तमान संस्थापन समूहबाट खड्का, संस्थापनइतर समूहबाट कोइराला र नयाँ समूह बनाउने तयारीमा रहेका गगनबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ ।

सभापतिका लागि तीनैजना नेताहरूले आफ्नो पक्षमा समर्थन जुटाउन भित्रभित्रै तयारीलाई तीव्र पारेका छन् । करिब २ वर्षअघिबाटै सभापतिको तयारी गरेका नेता कोइरालाले तोकिएकै मिति २०८२ मंसिरमा महाधिवेशन गर्नुपर्ने अडानसहित देशभर सांगठनिक गतिविधिमा सक्रिय हुँदै आउनुभएको छ । त्यस्तै, महामनत्री गगन थापा पनि यसपटक कसैलाई नेतृत्व नछाड्ने योजनासहित पार्टीभित्रका युवा पुस्तालाई एकाकार गरिरहनुभएको छ । सभापति देउवाको समर्थन पर्खेर बसेका उपसभापति खड्कमा पनि कार्यवाहक सभापति पाएपछि संस्थापन पक्षको साझा उम्मेदवार हुने विश्वासका साथ विभिन्न नेताहरूसँगको भेटघाट बाक्लो बनाउँदै आउनुभएको छ ।

महाधिवेशनको निर्णय आफूअनुकूल हुने गरी केन्द्रीय समितिको बैठकबाट पारित गर्ने पक्षमा उहाँ हुनुहुन्छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले समेत पार्टी केन्द्रीय समितिको बैठकमा मंसिरमा नियमित महाधिवेशनको कार्यातालिका नै पेस गरिसकेका छन् । तर, संस्थापन पक्षले यो प्रस्तावलाई स्वीकार गरेको अवस्था छैन । उनीहरू चैतसम्ममा महाधिवेशन गर्ने गरी तयारीमा जुटेका छन् ।

सोहीअनुसार केन्द्रीय समितिको निर्णय आउने संस्थापन पक्षका नेता कार्यकर्ताहरू ढुक्क छन् । महामन्त्री थापा, शर्मा र संस्थापनइतर समूहका नेता कोइराला र उहाँ निकटका नेताहरूले भने मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने अडान यथावत राखेका छन् । नियमित महाधिवेशन नभएर विशेष महाधिवेशन गरेर जानुपर्ने तर, यही समितिलाई समय थप्न नसकिने महामन्त्रीसहित संस्थापनइतर समूहका अधिकांश नेताहरूले कार्यवाहक सभापति खड्कालाई प्रेसर दिइरहेका छन् । खड्का समूहका कतिपय नेताहरूले भने आफ्नो पक्षमा माहोल मिलाउन केही समय लाग्ने भएकाले केन्द्रीय समितिको कार्यकाल ५÷६ महिना थपेर महाधिवेशनको तयारी गर्ने पक्षमा देखिएको नेताहरूले बताएका छन् ।