सवारी दुर्घटनामा १५ जनाको मृत्यु


काठमाडौं।

सोलुखुम्बु, माप्य दुधकोशी गाउँपालिका-६ भिरकुनामा सोताङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०३१ च ५९२५ नम्बरको बोलेरो जिप बिहीबार साँझ दुर्घटना हुँदा जिपमा सवार महाकुलुङ गाउँपालिका-३ छेस्काम बस्ने १६ वर्षीया हबि राई समेत ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ६ जनालाई उपचारको लागि स्वास्थ्य चौकी वाकुमा पठाइएकोमा ४ जनालाई थप उपचारको लागि जिल्ला अस्पताल फाप्लुमा पठाइएको छ भने २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

सुनसरी, धरान उपमहानगरपालिका-१७ सर्दुपुलस्थित सडकमा चतराबाट धरानतर्फ आउँदै गरेको प्र.१-०२-०५० प ५२२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक उदयपुर चौदण्डीगढी नगरपालिका-४ बस्ने ५२ वर्षीय नगेन्द्र प्रसाद राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-११ स्थित सडकमा को.३७ प ३९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-८ बस्ने २६ वर्षीय राम सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१२ संविधान चोकमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४२६८ नम्बरको बसले प्र.२-०२-००१ प १६१२ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक इनरूवा नगरपालिका-७ बस्ने ४७ वर्षीय गोकुलराज भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । उक्त बस अनियन्त्रित भई को.२ ह ५६९४ नम्बरको अटो र उक्त मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको थियो । बस र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, विराटनगर महानगरपालिका-११ स्थित सडकमा प्र.१-०२-०४३ प ५६४० नम्बरको मोटरसाइकलले प्र.१-०२-०४५ प २९९० नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार विराटनगर महानगरपालिका-५ बस्ने ६१ वर्षीय दिलिप कुमार दासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरी, शम्भुनाथ नगरपालिका-१२ अर्नाहास्थित सडकमा राजबिराजबाट बोदेबरसाईनतर्फ जाँदै गरेको प्र.२ -०१-००२ प ३७९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक डाक्नेश्वरी नगरपालिका-८ भिमपुर बस्ने २२ वर्षीय प्रशुराम भन्ने सोमदेव मण्डल र मोटरसाइकलमा सवार बोदेबरसाईन नगरपालिका-३ कुशमहार बस्ने २० वर्षीय कैलाश कुमार मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोमदेवको जिवन ज्योती अस्पतालमा र कैलाश कुमारको कोशी अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएको मोटरसाइकलमा सवार १ जनाको जिवन ज्योती अस्पतालमा उपचार भइरहेको छ ।

कैलाली, गौरीगंगा नगरपालिका-१० उदासीपुरस्थित सडकमा साइकल दुर्घटना हुँदा साइकलयात्री कैलारी गाउँपालिका- ८ भङ्गाह बस्ने ७१ वर्षीय छोटेलाल चौधरीको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी कैलाली, भजनी नगरपालिका-४ स्थित सडकमा बा.१७ च ५९६ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ खैलाड बस्ने ४५ वर्षीया फुलबसनी चौधरीको बिहीबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी १ जना पैदलयात्रीलाई घोडाघोडी अस्पताल हुँदै थप उपचारको लागि धनगढीतर्फ रिफर गरिएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर, मनहरी गाउँपालिका-७ निर्मलबस्तीस्थित सडकमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना.८ ख १२५६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८४ वर्षीया ईन्द्र कुमारी स्याङतानको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली, गोलन्जोर गाउँपालिका-७ तल्लो बाराहास्थित सडकमा सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती एएए २०७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक धनुषा, धनुषाधाम नगरपालिका-९ बस्ने ३९ वर्षीय लोबसाङग होइदेनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङ, लमही नगरपालिका-५ लमही बसपार्क नजिकै लु.१ ख ९८७६ नम्बरको बसको ठक्करबाट पैदलयात्री राप्ती गाउँपालिका-५ सिङगे बस्ने ६६ वर्षीय राम प्रसाद भट्टराईको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दार्चुला, मार्मा गाउँपालिका-३ सारसीस्थित सडकमा लटिनाथबाट सारसीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ज १६६२ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका-३ बग्देखोला बस्ने ३४ वर्षीय करबिर सिह ठगुन्नाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लटिनाथ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।