जेनजी पुस्तालाई विभाजित गर्ने प्रयास नगर्न गुरुङको चेतावनी


काठमाडौँ।

हामी नेपालका संयोजक सुदन गुरुङले राजनीतिक दलहरूलाई जेनजी पुस्तालाई विभाजित गर्ने प्रयास नगर्न चेतावनी दिएका छन्।बिहीबार माइतीघर मण्डलमा जेनजी आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा उनले पुराना राजनीतिक दलहरूले जेनजीहरूबीच फुट ल्याउने रणनीति अपनाएको आरोप लगाए। तर त्यो योजना असफल पारेको दाबी उनले गरे।

गुरुङले नेताहरूले युवापुस्तालाई विभाजित गर्न खोज्ने भ्रम अब नराख्न चेतावनी दिए। उनले केही नेताहरूले जेनजीको एकता भंग गरेर युवालाई पुनः पुराना दलहरूको पक्षमा मोड्ने प्रयास गरिरहेको बताए।

उनले आफू कसैको एजेण्ट नरहेको स्पष्टीकरण दिए। उनले जेन–जीहरूलाई विभाजित गर्न अनेक कुरा गरेर भ्रम छर्ने प्रयास भइराखेको बताए। ‘कहिले भारतीय बनाइरहेको छ, कहिले भुटानी बनाइरहेको छ’ गुरुङले भने, ‘म एउटा नागरिक हुँ । तपाईँ जस्तै हो म ।’

आफ्नोबारे अफवाह फैलाउने कार्यलाई उनले गलत तरिकाको राजनीतिको संज्ञा दिए। ‘पहिले राजनीति बुझेको थिइनँ, तर अब बुझ्दैछु। अब जान्दैछु र उनीहरूले बनाएको संविधान पनि पढ्दैछु’ गुरुङले भने ।