नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा प्रक्रिया अगाडि बढ्छ : प्रधानमन्त्री कार्की

1.69k
Shares

भक्तपुर ।

प्रधानमन्त्री सुशीला  कार्कीले नेपाल राष्ट्र बैंकद्वारा निष्कासन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने बताएकी छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिद्वारा आज आयोजित शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा सम्मान समारोहमा बोल्दै उनले सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णयले सरकार यस सम्वतको संवर्धन, प्रवर्धन र व्यावहारिक रुपमा लागू गर्न तत्पर रहेको स्पष्ट रहेको बताइन् ।

उनले सरकारी कार्यालयमा नेपाल सम्वतको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिदै यसको अनुगमनका लागि प्रतिष्ठानसंग सहकार्य गर्ने समेत बताइन् । 

शंखधर साख्वाको समाज र देशप्रतिको अतुलनीय योगदान र सामाजिक न्यायको महान् कार्यको कदरस्वरूप वि.सं. ९३६ मा थालनी भएको नेपाल संवत कुनै राजाको शक्ति वा युद्धको विजयबाट नभई व्यापारीको त्याग र परोपकारको आधारमा लोकस्तरबाट उत्पत्ति भएको भएकोले यसको उच्च महत्व र लोककल्याणको विरासत बोकेको संवत् भएको चर्चा बताइन्  । 

शंखधर साख्वाःले जस्तै व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई आत्मसात् गरी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुने प्रधानमन्त्री कार्कीले बताइन्। 

उनले आगामी निर्वाचनमा नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध रहेको बताइन् ।प्रतिनिधिसभाको आगामी निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताइन्। 

निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउने कार्यमा सम्पूर्ण राजनीतिक दल र समाजका सबै वर्ग–समूहको साथ र सहयोग रहनेमा आफू विश्वस्त रहेको समेत बताइन्।