
उपेन्द्र प्रधान, दोलखा
नेवाः देय् दबु केन्द्रीय सदस्य
गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको दोलखा सहरको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषता रहेको छ । किराँतकाल, लिच्छविकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्त्यहरू रहेको यस प्राचीन सहर दोलखा हाल आएर भीमेश्वर नगर दोलखा नामले प्रख्यात रहेको छ । विशेष गरी नेवार जातिको बसोबास रहको यस भीमेश्वर नगर दोलखामा आफ्नै किसिमका रहनसहन, परम्परागत चाडपर्व, रीतिरिवाज मनाउनुका साथै आफ्नै मौलिक दोलखाको नेपाल भाषा प्रचलनमा रहेको छ । मल्लकालमा डेढसय दशक स्वतन्त्र राज्यको रूपमा रहेर यसले गरेको संस्कृतिको विकासले गर्दा आजसम्म नेपालको इतिहासमा जवसम्म दोलखाको इतिहास पूरा हुँदैन तबसम्म नेपालको इतिहास अधुरो हुन्छ भन्ने प्रशिद्धता पाइएको छ ।
दोलखा सहर, यसको ऐतिहासिक नाम मल्लकालीन शासनकालसम्म अभयपुरबाट चिनिएको थियो भने विक्रम संवत १५३८ मा यक्षमल्लको मृत्युपछि उपत्ययकाको राज्य टुक्रा भएपश्चात् दोलखाको त्यसताकाका शासक उदयदेवको पालामा दोलखाधिपतिको रूपमा एउटा स्वतन्त्रराज्यको खडा भयोे । त्यसपछि अभयपुर शब्दको लोप र दोलखा शब्दको उत्पत्ति भयो । यसरी दोलखा शब्दको उत्पत्ति कसरी भयो भन्ने सन्दर्भमा त्यसताका भेट्टाइएका प्रमाणहरूअनुसार ढ्वाकु–ठूलो लुखा–ढोका अर्थात द्वाल्खा, ठूलोढोका भएकोले द्वाल्खा शब्द अप्रभंश हुंदै दोलखा भएको भन्ने मान्यता रहेको छ ।
वि.सं. १५९१ देखि १६०५ सम्म तत्कालीन दोलखा सहरका राजा जयइन्द्रसिंह देवले हिन्दू राज्यकै सबभन्दा पहिलो पटक चाँदीको सिक्का निकाली आफ्नो शासनकालमा आफ्नो र रानी विजयालक्ष्मी महादेवी नामको टक छापी प्रचलनमा ल्याएका थिए जुन तथ्यलाई सावित गर्न ताडपत्र, शिलापत्र र भोजपत्र जस्ता ऐतिहासिक प्रमाणहरू र छाउनी संग्रहालयमा आजसम्म पनि विद्यमान रहेको छन् ।
नेपालको इतिहास निर्माणमा बाबुराम आचार्यले दोलखाको ऐतिहासिक अस्तित्वको शंखनादपश्चात् धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठको अथक प्रयासबाट वि.सं. २०३१ सालमा दोलखालाई इतिहासको पानाभित्र राखीराख्ने जमर्कोस्वरूप “दोलखाको ऐतिहासिक रूपरेखा” तयार भयो । पर्यटकीय एवं प्राकृतिक रमणीय स्थानको हिसाबले महत्वपूर्ण मानिएको दोलखा सहरको पूर्वमा आफ्नै विशेषता बोकेको चम्पुजा र उत्तरमा मञ्जुश्री पार्क अवस्थित छ ।
यहाँबाट मनोरम प्राकृतिक दृश्यले सु–सज्जित स्थानहरूलाई चिर्दै कलकल सुमधुर आवाजमा गौरीशंकर हिमालको चिसो हावा सँग–सँगै आफ्नै तालमा बगिरहेको तामाकोशीको मनमोहक दृश्य हेर्न सकिन्छ । सोही स्थानबाट देखिने प्राकृतिक एवं धार्मिक महत्वको गौरीशंकर हिमाल पर्यटकीयहरूको स्वागतमा हाँसिरहेको भान हुन्छ ।
समुद्र सतहदेखि करिव ७१३४ मिटरको उचाइमा अवस्थित गौरीशंकर हिमाल हिन्दू धर्मावलम्वीहरूका आराध्यदेव शिव र माता पार्वतीको प्रतीक मानिने भएकोले आन्तरिक र बाह्य पयर्टकहरूलाई आरोहण गर्न निषेध गरिएको छ । यस्तै गरी समुद्र सतहदेखि करिब १३ हजार ६ शय २ फिटको उचाइमा अवस्थित कालिञ्चोक भगवतीलगायत गणेश ट्वापर यहाँबाट सजिलै हेर्न सकिन्छ । यी ऐतिहासिक एवं धार्मिक देवस्थलहरूले यस सहरलाई नेपाल अधिराज्यकै महत्वपूर्ण ऐतिहासिक एवं धार्मिक स्थलका रूपमा स्थापित गरेका छन् । तसर्थ ऐतिहासिक दोलखा सहर र नेपाल संवत्को बारेमा यहाँ विश्लेषण गर्न खोजिएको छ ।
नेपालमा लगभग लिच्छविहरूले ७०० सय वर्ष जति राज्यसत्ता सञ्चालन गरेको कुरा इतिहासबाट थाहा पाउन सकिन्छ । सात सय वर्षको राज्य सत्ता सञ्चालनमा लिच्छवि वंशहरूले दुईवटा संवत् चलाएको देखिन्छ जुन संवत् एक “शक” हो भने अर्को संवत् “लिच्छवि” हो । शक संवत् संस्कृतिको रूपमा विकास गरिएको र लिच्छवि संवत् राष्ट्रको नाउँमा सञ्चालन गरिएको भन्ने मान्यता रहेको पाउँछौं । यसपछि नेपाली संस्कृतिमा यी संवत् केही समय हराएका थिए भन्ने भनाइ रहेको छ । तैपनि लिच्छवि संवत्का बारेमा नेपालका इतिहासकारहरूवीच मत भिन्नता देखा नपेरका होइनन् । इतिहासकारहरू कसैले लिच्छवि संवत् नै हो भनेर भन्ने गरेको पाउंछौं भने कुनै इतिहासकारहरूले कार्तिकाढी विक्रम संवत् भनेर दाबी गरेको पाइन्छ । आखिरमा जस्तोसुकै मत भिन्नता भए पनि लिच्छवि वंशहरूले नेपालको भुमिमा संस्कृति र राष्ट्रको परिचय गराउन खोजेको कुरा इतिहासले देखाएको छ । लिच्छवि वंशहरूले छोडेर गएको संवत् धर्म, कला संस्कृति आदिले वर्तमान परिवेशमा आएर नेपालको पहिचान र गौरब कायम गर्न सफल रहेको महसुस गरिएको छ । लिच्छविकालको अन्त र मध्यकालको उदय पछि अर्को नयाँ“ संवत्को सुरुवात भएको हामीले पाउंछौं, जुन संवत् हो नेपाल संवत् ।
नेपाल संवत् नेवारहरूको मात्र संवत् होइन यो संवत् हामी सम्पूर्ण नेपालीको संवत् हो । कसै कसैले यो संवत् नेवारहरूको मात्र संवत् ठानेका छन्, यो एउटा भ्रम मात्र हो । विशेष गरी नेवार समूदायहरूले प्रचार प्रसार गर्नुका साथसाथै मनाउँदै आएको कारणले गर्दा पनि नेवारहरूको संवत् हो भन्ने गरेको पनि हुन सक्छ ।
राजा राघवदेवको शासनकालमा शंखधर साख्वाः भन्ने एक जना व्यक्तिले आफ्नो सम्पतिले नेपाली जनताको ऋण–मोचन गरीदिएपछि नयां संवत् ल्याएको हो । यसरी नयां संवत्लाई ल्याइसकेपछि नेपाल संवत्लाई नेपाली जनताले इज्जत र गौरवका साथ मनाउँदै आउँनुका साथसाथै शंखधर साख्वाः लाई विभूति मानिएको छ । हुन त हामीकहाँ बिभिन्न संवत्हरू रहेका छन् तर यो नेपाल संवत् र बुद्ध संवत्बाहेक अरू सबै संवत् बाहिरबाट ल्याइएका संवत् हुन् भन्ने मान्यता रहेको पाउँछौं । नेपाल संवत् म्हःपूजाको दिनमा शुरु हुन्छ भने यो संवत्मा प्रयोग गरिएको तिथिमिति चन्द्रमासको आधारमा बनाइएको पाइएको छ ।
मल्लकालमा नेपालमा देखा परेका बिभिन्न लेख, रचना, ग्रन्थ एवं अभिलेखहरूमा नेपाल संवत्को प्रयोग भएको तथ्य हामीहरूले अहिलेसम्म पनि पाउँछौं । त्यसै गरी त्यसताकाका मूर्तिकला, वास्तुकला, शिलालेखजस्ता आदि लेखौटहरूमा पनि नेपाल संवत्को प्रयोग भएको पाउँछौं । यी विभिन्न आधारहरूले गर्दा नेपाल संवत्को सुरुवात वि.सं. १३८२ तिरबाट भएकोे भन्ने तथ्य हामीले पाउँछौं । राजा राघवदेवको पालादेखि लिएर राणा शासनकालको सुरुवात नहुन्जेलसम्म नेपाल संवत्को प्रयोग भइरहेको थियो भने राणाशासनको सुरुवात भएपछि यो संस्कृतिबाट हराउन पुग्यो । यसै गरी राणा शासनको अन्त्य र पञ्चायती व्यवस्थाको उदयपछि पनि नेपाल संवत्को बारेमा चर्चा चलेको थियो तर त्यसबेलाका सरकारले पनि मान्यता दिएको भने पाइदैन ।
यसपछि पञ्चायती व्यवस्थाको अन्त र देशमा बहुदलीय ब्यवस्था आइसकेपछि नेपाल संवत् मान्दै आइरहेको पाउँछौं । यसै गरी जव नेपालमा गणतन्त्र आयो त्यसपछि नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता प्राप्त भयो । यो संवत् नेवारहरूको मात्र संवत्को रूपमा हेर्नु हुदैन यो संवत् सम्पूर्ण नेपालीहरूको संवत् हो ।
वागमती प्रदेश सरकारले कामकाजी भाषा ऐन २०८०, कार्यान्वयन गत २०८१ वैशाख २४ गते सोमबारदेखि लागु गरिएको छ । जस अनुसार नेवार जातीको बाहुल्य रहेको स्थानीय, प्रदेश र केन्द्र रहेको कार्यालयहरूमा कामकाजीको भाषामा नेपाल संवत् प्रयोग गर्ने घोषणा गरिसकेको छ । तर यसको कार्यान्वयन पक्ष अलि कमजोर भएको छ ।
नेपाल संवत्ले नेपालभित्रका उपत्यकाका जिल्लाहरू कान्तिपुर, ललितपुर, भक्तपुर, कीर्तिपुर र उपत्यका बाहिरका जिल्लाहरू दोलखा, रामेछाप, सिन्धुपाल्चोक, संखुवासभा, भोजपुर, धनकुटा, पाल्पा, नुवाकोट, प्यूठान, नेपालगञ्ज, विराटनगर, धरान, सुर्खेत, आदि जिल्ला र सहरहरूमा यसको आफ्नै छुट्टै पहिचान र ऐतिहासिक महत्व रहेको पाइन्छ ।
नेपाल संवत् ११४६ को पावन अवशर प्राप्त भएको छ । यसैले ऐतिहासिक सहर द्वाल्खा र नेपाल संवत्को बारेमा विश्लेषण गर्नु सान्दर्भिक हुन्छ । प्राचीन दोलखा सहरमा नेपाल संवत्को प्रचलन किराँतकालदेखि नै प्रयोग हुंदै आएको हो । त्यसकारण नेपाल संवत् दोलखामा पनि स्वाभाविक रूपले प्रयोगमा आएको कुरालाई नर्कान सकिन्न । यसअनुसार औपचारिक रूपमा नेपाल संवत् दोलखामा कुन सालदेखि मनाउन थालियो भन्ने आधिकारिक जानकारी हालसम्म पुष्टि भएको छैन । तर, विशेष गरी २०४६÷४७ सालपछिमात्र यस संवत्लाई यहाँका नेवार समूदायहरू एवं दोलखाका आदिवासी वासिन्दाहरूले नयाँ वर्षको रूपमा मनाउँदै आइरहेका छन् । यहाँ स्थित सामाजिक संघ संस्थाहरूले नेपाल संवत्को उपलक्ष्यमा आफ्नो मातृभाषाबाट कविता प्रयोगिता, हाजिरीजवाफ प्रतियोगिता र ¥यालीको आयोजना गरिँदै आइरहेको छ । त्यस्तै गरी नेपाल संवत् १११८ को उपलक्ष्यमा काठमाडौ स्थित नेवारी संस्था निभा पुचः र दोलखा स्थित दोलखा सेवा समाजको संयुक्त आयोजना एवं काठमाडौ र दोलखाबासी नेवार समुदायहरूको सहयोगमा काठमाडौं दोलखा मोटरसाइकल ¥यालीको आयोजना गरिएको थियो । यसरी हुँदा–हुँदा विगत वर्षदेखि दोलखा स्थित एक दर्जनभन्दा बढी विभिन्न सामाजिक संघ–संस्थाहरूको प्रतिनिधित्व रहेको अभयपुर संघ–संस्था समन्वय समितिको पहल र हाल स्थानीय संघ–संस्थाको पहलमा नेपाल संवत्को उपलक्ष्यमा ¥यालीको आयोजना सहभागी हुर्दै आएका छन् ।
यसै गरी उपत्यकावासी दोलखाली नेवार समुदायले मूल समारोह समितिले आह्वान गरेको नेपाल संवत् ¥यालीमा सहभागी हुर्दै मनाउँदै आएका छन् ।
प्राचीन सहर दोलखामा नेपाल संवत्को प्रयोग :
इतिहासमा उल्लेख भएअनुसार त्यसताका दोलखा जिल्ला पनि एक राज्य थियो भन्ने प्रमाण ग्रन्थावलीबाट थाहा पाउन सकिन्छ भने दोलखाको पूर्वमा सुनकोशी, पश्चिममा दूधकोशी, उत्तरमा तिब्बतको सिमानादेखि लिएर दक्षिणमा तामाकोशी र सुनकोशीको संगम बिन्दुसम्मको सिमाना रहेकोछ । इतिहासकार शिरोमणि बाबुराम आचार्यको भनाइअनुसार किरांतकालदेखि लिच्छविकालसम्म नेवारी बस्ती रहेको पाउँछौं । त्यस वेला नेपाल संवत् ४४६ देखि शुरु भएको पाइन्छ । यसरी दोलखामा नेपाल संवत्को प्रयोग ४४६–९५१ सम्ममा बिभिन्न ऐतिहासिक कला–कौशलमा प्रयोग गरिएको पाइन्छ । यसै गरी दोलखामा हालसम्म उपलब्ध भएका भीनपा वडा नं. –२ स्थित नसुको ढुंगेधारामाथि अवस्थित नारायण भगवानको मूर्तिमा कुँदिएको अभिलेखमा पनि नेपाल संवत्को प्रयोग भएको पाउँछौं । जसमा नेपाल संवत् ५८० अर्थात बिक्रम संवत् १५१६ मा स्थापित भएको भनी उल्लेख भएको छ ।
यसै गरी भीनपा –२ पिंगल स्थित छोपती नामले प्रख्यात रहेको ढुंगेधाराको शिरानमा सानो नारायणको मुर्ति रहको छ । त्यसै गरी यसै धारामा दोलखाधिपति श्री उद्धवदेव ठाकुरले नेपाल संवत ६११ मा कृष्ण भगवानको मूर्ति स्थापना गरेको उल्लेख रहेको छ । यसै गरी राजा यक्ष मल्लको राज्य विस्तारको समयमा ने.स. ५७४ लेखिएको पाउँछौ ।
त्यसमा नेपाल संवत् ५८० मा स्थापना गरेको भन्ने उल्लेख छ । त्यसै गरी हरेक इन्द्रजात्राको बेलामा प्रदर्शन गरिने आकार भैरवको मूर्ति हाथ्वमा पनि नेपाल संवत् ५८० लेखिएको पाइन्छ । भीनपा –२ स्थित तलेजु मन्दिर स्थित २ वटा बौद्ध चैत्य मन्दिरहरू रहेका छन् तीमध्ये एउटा चैत्य सँगै उक्लने सिँढीमा सुताएर राखेको ढुंगामा नेपाल संवत ६२२ उल्लेख गरेको पाइन्छ । यसै गरी दोलखा सहरको पूर्व उत्तरपट्टि अर्थात भीनपा –२ स्थित प्रख्यात भीमसेन (भीमेश्वर) मन्दिर अवस्थित रहेको छ ।
यस मन्दिरको उत्तर पट्टिको गिर्दामा केही मूर्तिहरू छन् यीमध्ये माझमा उमामहेश्वरको मूर्ति रहेको छ यस मुर्ती श्री उजोतदेदव ठाकुरकी पत्नी श्रीमा रूपमाले चर्तुदशी ब्रत पुरा गरेको उपलक्ष्यमा नेपाल संवत ६४० स्थापना गरेको उल्लेख गरिएको छ भने संगै अर्को गोपिनारायणको मूर्ति रहको छ यसमा नेपाल संवत् ६४४ उल्लेख गरिएको छ । यसै गरी जिवसिंह भारोले आफ्नो पुत्र र पत्नीको नाउँमा नेपाल संवत् ६४४ मा भीनपा –२ तीनधारा (राइती) स्थित गोपिनारायणको मन्दिर स्थापना गरेको पाइन्छ ।
राजा इन्द्रसिंह देव ६५५ मा राजा भएको बेला दुंगल, कोर्छे बहारमा सुनको आकास भैरव बनाई इन्द्र जात्रामा प्रदर्शन गर्न प्रारम्भ गरेको पाइन्छ । यसै गरी भीमसेनको भण्डारमा केही गदाहरू राखिएका छन् । तीमध्ये श्री जयजितादेवको शासनकालमा नेपाल संवत ६८९ मा चढाएको गदाहरू पनि रहेको पाइएको छ ।
यसै गरी महेश्वरदासले चढाएको ताम्रपत्रमा पनि नेपाल संवत् ७०४ उल्लेख गरिएको पाइन्छ । भीमसेन (भीमेश्वर) मन्दिरको दक्षिणपट्टि केही घण्टाहरू छन् ति मध्ये एउटा घण्टामा नेपाल संवत् ८७१ उल्लेख गरिएको छ भने अर्को घण्टा नेपाल संवत ९५१ उल्लेख गरिएको छ । यसरी दोलखाका अधिकांश पुराना मठ–मन्दिरमा अवस्थित पूरा कला कौशल, शिलाका मूर्तिहरूमा नेपाल संवत्को बढी प्रयोग भएको र्पान्छ । यी विभिन्न प्रमाणहरूको कारणले गर्दा नेपाल संवत् र दोलखाको गाढा सम्बन्ध रहेको पुष्टि हुन्छ ।
अन्तमा नेपाल संवत् ११४६ अवसरमा नेपाल संवत् मनाइरहेका छौं । जुन संवत् नेवार समूदायहरूको मात्र संवत् होइन यो इतिहासले देखाएको छ । त्यसैले गैर नेवार समुदायहरूमा जुन भ्रम सिर्जना भएको छ । त्यसलाई अध्ययनको खाँचो रहेको महसुस गरिएको छ । त्यसैले ढुक्कले नेपाल संवतलाई हामी सम्पूर्ण नेपाली जनताले हर्षोल्लासले मानेर जानुको विकल्प अर्को छैन । यस वर्षदेखि नेपाल संवत्लाई सरकारको दैनिक कामकाजमा समेत उल्लेख गर्नु पर्ने निर्णय गरिएको छ । यो नेपालको मौलिक संवत् हो ।











प्रतिक्रिया