भाइटीका आत्मीयता, माया र एकताको पर्व 

मेरो रहरले जन्मिएको मेरो भाइ

9.12k
Shares

भाइटीका-एक शब्द, तर यसमा समेटिएको छ हजारौं भावनाहरूको रंग, सम्झनाहरूको सुगन्ध र सम्बन्धहरूको गहिरो अर्थ। यो केवल निधारमा राखिने सात रंगको टीका होइन; यो त दिदी–भाइबीचको आत्मीयता, आशीर्वाद र ममताको जीवित प्रतीक हो।दिदीले भाइको दीर्घायु र सुखको कामना गर्दै टिका लगाउँछिन्, भाइले पनि माया, उपहार र जीवनभरको सुरक्षा दिने वाचा गर्छन  । दूरीले शरीर टाढा पार्न सक्छ, तर यो पर्वले मनलाई सधैं नजिक ल्याउँछ। व्यस्त जीवनका बीच पनि दिदीबहिनीको ममताले बोलाउँछ,

र दाजुभाइको स्नेह र सम्झनाले मन फर्काउँछ। त्यो निधारको सप्तरङगी   टीका, त्यो गलाको  मखमली र  दुबोको माला र त्यो आत्मीय मुस्कान — यी सबैले मिलेर एउटा अमिट सम्झनाको चित्र कोर्छन्।

 रहरले जन्मिएको  नाता मेरो भाइ  

मेरो लागि भाइटिका केवल पर्व मात्र  होइन, यो मेरो रहरले जन्मिएको  नाता हो।

बाल्यकालमा सधैं सोच्थें — “काश! मेरो पनि सानो भाइ भए कति रमाइलो हुन्थ्यो।”

शायद ईश्वरले त्यो  मेरो  चाहना सुन्न्नुभयो — र ऊ जन्मियो।

त्यो दिनदेखि हाम्रो घर उज्यालोले भरियो। उसलाई पिठ्युँमा बोकेर हिँड्दा, म उसको हाँसोमा हराउँथेँ।

मेरो संसार नै उसको वरिपरि घुम्थ्यो।त्यो रहरले मेरो जीवनलाई अर्थ दिएको थियो — एउटी दिदीको सपना पूरा भएको थियो।

 बाल्यकालका सम्झना र आत्मीय यात्रा

जब ऊ पहिलोपटक स्कुल जान्छु भनेर तयार भयो,

म उसको लागि सबैभन्दा खुसी थिए, र सबैभन्दा डराएकी पनि थिए। भाईलाई हात समातेर स्कुल पुराए।

तर कक्षामा पस्ने बित्तिकै ऊ मेरो हात छोड्न नमानेर रुँदै बाहिर म सँग नै आयो।त्यो क्षणबाट मैले महसुस गरेँ —अब म केवल दिदी मात्रै होइन, उसको संरक्षक र अभिभावक पनि रहेछु ।घर फर्किँदा लाग्थ्यो, मानौं मुटुको टुक्रा स्कुलमै छोडेर आएकी छु।

मेरो भाईको पहिलो एक्लो यात्रा — र मेरो डर

समयसँगै  मेरो भाइ  जिम्मेवार, अनुशासित र लगनशील हुँदै गयो।पढाइमा सधैं उत्कृष्ट, व्यवहारमा विनम्र र सोचमा ठूला सपना बोकेको ऊ,बिस्तारै परिवारको  गर्वको कारण बन्दै गयो।तर त्यो गर्वसँगै कहिलेकाहीँ  चिन्ता पनि जोडिँदै गइरहन्थ्यो।किनभने ऊ मेरो लागि केवल भाइ होइन — मेरो आत्माको टुक्रा थियो।मलाई अझै त्यो दिन स्पष्ट सम्झना छ —जब ऊ SLC पास भयो, र हामीले उसलाई काठमाडौं इन्ट्रान्सको लागि ल्याइम।अमृत साइन्स क्याम्पसमा पढाउने सोच थियो,तर इन्ट्रान्सपछि काठमाडौंमा बस्न मानेन “ म काठमाडौंमा होइन, विराटनगरमै पढ्छु भन्यो।”।त्यो उस्को निर्णयले  एउटा ठुलो   जिम्मेवारी पनि ल्याएको थियो।मेरो त्यो सानो भाइ पहिलोपटक एक्लै लामो यात्रा गर्दै थियो  — काठमाडौं देखि विराटनगरसम्म। त्यो बेला अहिले जस्तो मोबाइल फोन थिएन ।

 बसको सिटमा उसलाई राखेर फर्किँदा मेरो मन धेरै रोएको थियो। म त्यो क्षण सम्झिँदा अझै पनि आँखा रसाउँछन्।तर त्यो यात्रा नै उसको जीवनको मोड बन्यो।त्यो यात्रापछि ऊ कहिल्यै डराएन, कहिल्यै पछाडि फर्किएन।त्यो क्षणले उसलाई मात्र होइन हाम्रो परिवार लाई नै परिपक्व बनायो।त्यो दिनदेखि मेरो भाइले हरेक परिस्थिति एक्लै सामना गर्न सिक्यो।सानैदेखि ऊ आज्ञाकारी, पढाइमा लगनशील र अनुशासित थियो। ऊ कुनै पनि काम सुरु गरेर अधुरो छोड्दैन — गरेपछि पुरा गरेर नै छोड्छ  । यही दृढता, यही प्रतिबद्धताले  ऊलाई आज यहाँसम्म ल्याएको छ — त्यस क्षणबाट मैले महसुस गरेँ —ऊ मेरो सानो भाइ मात्र होइन, अब ऊ स्वयं आफ्नो जीवनको कप्तान बनेको छ। 

संघर्ष, अनुशासन र सफलता

सानै देखि मेरो भाइ आर्मी अफिसर बन्ने चाहना राख्थ्यो।त्यो समय देशमा माओवादी द्वन्द्वको कालो छायाँ फैलिएको थियो —र अभिभावकहरूको मन डरले भरिएको थियो।तर ऊ अडिग रह्यो — बिहान तीन बजे देखी  उठेर दौडन्थ्यो,,दिनरात तयारीमा जुट्थ्यो।अन्धकार भित्र ऊ आफ्नो प्रकाश खोजिरहेको थियो।

हामीले उसलाई रोक्ने प्रयास गर्यौं, तर उसको दृढ आत्मबल र अटल इच्छाशक्तिले हामीलाई नै हिम्मत दियो। अन्ततः ऊ नेपाली सेनाको अफिसर बन्न सफल भयो।तालिमका दिनहरू असाध्यै कठिन थिए —घाउ, थकान, निराशा — तर ऊ कहिल्यै हार मान्दैनथ्यो। जब ऊ पहिलोपटक वर्दीमा देखा पर्यो, त्यो दृश्य मेरो जीवनको गौरवपूर्ण क्षण थियो।आँखाबाट बगेका आँसुमा गर्व,  र प्रेम मिसिएको थियो।मेरो रहरले जन्माएको भाइ, आज राष्ट्रको ढाल बनेको छ —जनताको भरोसा, परिवारको अभिमान। 

 भाइटिकाको बिहान : माया र गर्वको संगम

पर्व हरु मा मेरो सबै भन्दा मन पर्ने पर्व तिहारको “भाइ टिका” हो अनि मेरो भाइ को पनि । हामी दिदी भाइ लाई नै भाइ टिका दिन बिसेस लाग्छ । नेपाली सेनामा भाइ कार्यारत रहेकोले संधै  भाइ टिका लगाउन त पाउदिन तर मिलेको बेलामा असाध्य बिसेस लाग्छ । घरभरि सयपत्रीको सुगन्ध, मखमली फुलको माला र  हरियो  दुबोको माला, पूजाको थालीमा मिठाइ र दियो —यी सबै केवल सजावट मात्र होइनन्,त्यो सप्तरङ्गी टिका केवल रंग मात्र होइन —हाम्रो सम्बन्धको प्रतीक हो,माया, गर्व र आशीर्वादको संगम हो।

 भाइटिका : आत्मीयता, आत्मसमीक्षा र एकताको सन्देश

आजभोलि कतिपय घर–परिवारमा दिदी–भाइ,चेली–माइतीबीचको दूरी बढ्दो छ।‌ मायाको ठाउँमा अभिमान आएको छ, आत्मीयताको ठाउँमा स्वार्थ र प्रतिस्पर्धा। पैसामुखी सोच, नेतृत्वहीन अग्रजहरू र ठूला–सानाबीचको हेपाहा व्यवहारले  ‌धेरै परिवारहरु  बिखण्डनको मूल कारण बनेका छन्।तर सबैभन्दा दुखद कुरा के हो भने —

यस्ता व्यवहार गर्नेहरू अझै पनि आफ्नो गल्ती स्वीकार गर्न तयार छैनन्।।तिनीहरू बुझ्दैनन् कि सम्बन्धको विखण्डन केवल घर टुट्नु मात्र होइन,।मनको घर टुट्नु हो, जसको असर दीर्घकालसम्म ‌रहिरहन्छ।

भाइटिकाले हामीलाई यही सन्देश दिन्छ —

 “सम्पत्ति होइन, सम्बन्ध नै घरको वास्तविक सम्पदा हो।”

 “अभिमानले होइन, आत्मीयताले परिवार चल्छ।”

“आदर र सहानुभूतिको पुलले मात्र एकता सम्भव हुन्छ।”

यसैले भाइटिका केवल रंगको उत्सव होइन —

यो त आत्मसमीक्षा, क्षमायाचन र माया पुनःजोड्ने अवसर हो।

जस्ले जस्ले यस्तो गरिराख्नु भएको छ  , यस भाइटिकामा   मनदेखि यो संकल्प गर्नुहोस  —“कुनै चेलीको कारण माइतीको आँखामा आँसु नझरोस्, र कुनै माइतीको कारण चेलीको मन नदुखोस्।” भाइटिकाको सप्तरङ्गी टिका केवल निधारमा मात्र होइन, तपाइहरुको  हृदयमा पनि एकताको रङ फेरि पलाओस  । 

 रहरदेखि गौरवसम्म मेरो भाइ  

मेरो लागि भाइटिका केवल एउटा पर्व मात्र  होइन —

यो मेरो बाल्यकालको रहर, दिदी हुनुको  यात्रा र गर्वको प्रतिविम्ब हो।

मेरो रहरले जन्मिएको   त्यो भाइ आज राष्ट्रको शिर उचाल्ने

गौरवको प्रतीक बनेको छ।उसको अनुशासन, इमान र जिम्मेवारी देख्दा

मेरो मनमा गर्व र कृतज्ञताको आँसु आउंछ  ।

किनकि म जान्दछु —त्यो केवल उसको मेहनतको जित होइन,

दिदीको प्रार्थनाको उत्तर र परिवारको बिस्वासको   फल हो।

हरेक भाइटिकाको बिहान,

जब म सप्तरङ्गी टिका हातमा लिएर ऊतर्फ हेर्छु,

मेरो मन ईश्वरसमक्ष यही प्रार्थनाले निथ्रुक्क भरिन्छ —

“हे ईश्वर, मेरो भाइ सधैं सुरक्षित रहोस्,

मेरो भाइ  सधैं स्वस्थ रहोस  , निडर, बलियो र दयालु बनिरहोस ।

मेरो भाइ मा अनुशासन, करुणा र देशप्रेम झल्किरहोस्,

ऊ जहाँ पुगे पनि परिवार र राष्ट्र दुवैको गर्व बनिरहोस्।” 

बाल्यकालका झल्काहरू आँखामा नाच्छन् —

पहिलो रुने स्वरदेखि स्कुलको पहिलो दिन,  इन्ट्रान्सको दौडधूप,

काठमाडौंबाट विराटनगरसम्मको त्यो एक्लो यात्रा —

र आज, राष्ट्रसेवकको अनुहारमा झल्किएको जिम्मेवारीको तेज।

यी सबै क्षणहरू मिलेर लेखिन्छ एउटा अद्भुत कथा —

यी सबै सम्झनाहरू मिलेर एउटा कथा बन्छ —

“मेरो रहरले जन्मिएको भाइ।”

भाइटिका — केवल रङको उत्सव मात्रै होइन

यो मायाको गहिरो स्पर्श, आशीर्वादको स्वर,

र एकताको अनन्त उज्यालो हो।हामी सबैको जीवनमा पनि

त्यही उज्यालो ले भरियोस  , यही  एकता रहोस् — कहिले नओइलिने त्यो मखमली फुलको माला  र दुबो को माला  जस्तै  भाइटिकाको सप्तरङ्गी टिका सधैं हाम्रो हृदयमा झल्किरहोस्। मेरो भाइ — प्रकाश नाम जस्तै उज्यालो छ उसको काम पनि।जहाँ जान्छ, त्यहाँ ऊ आशा, इमान र अनुशासनको प्रकाश फैलाउँछ।जीवनका हरेक मोडमा ऊ हाम्रो गर्व बनेको छ —साँचै, प्रकाश नाम जस्तै छ उसको काम। भाइटिका को  शुभकामना — माया, आशीर्वाद र एकताको अमर प्रतीक।