इलामका बाढीपीडितलाई पाकिस्तानी दूतावासको राहत वितरण


काठमाडौं

काठमाडौंस्थित पाकिस्तानी दूतावासले नेपाल–पाकिस्तान युवा परिषद्सँगको सहकार्यमा इलाम जिल्लाका माङसेबुङ र फाकफोकथुम गाउँपालिकाका बाढीपीडित परिवारहरूलाई राहत सामग्री वितरण गरेको छ।

नेपालका लागि पाकिस्तानका राजदूत महामहिम अब्रार एच. हाश्मी, प्रथम सचिव मोहम्मद हारुन रसिद र युवा परिषद्सका संयोजक ऋचुमणि लुइटेलले माङसेबुङ गाउँपालिकाको गजुरमुखी धाममा राहत सामग्री वितरण गर्दै प्रभावित परिवारहरूसँग भेट गरेको पाकिस्तानी दूताबासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

सो कार्यक्रममा इलामकी प्रमुख जिल्ला अधिकारी सुनीता नेपाल, जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइराला, माङसेबुङ गाउँपालिकाका अध्यक्ष तथा स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा राजदूत हाश्मीले पीडित परिवारप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दै पाकिस्तानका जनताको प्रेमको प्रतीकस्वरूप राहत सामग्री हस्तान्तरण गरे । उनले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई झनै मजबुत बनाउने प्रतिबद्धता जनाए। उनले नेपाल सरकारका तीन तहका संस्थाहरूले गरेको राहत तथा उद्धार प्रयासको प्रशंसा गर्दै बाढीपीडितको सहनशीलता र साहसको उच्च मूल्याङ्कन गरे।

सो अवसरमा राजदूत हाश्मीले इलाम जिल्लाका बाढीपीडित छात्रछात्राका लागि पाकिस्तान टेक्निकल असिस्टेन्स प्रोग्रामअन्तर्गत एमबीबीएस, बिडिएस र फार्मेसी कार्यक्रमका चार छात्रवृत्ति तथा उच्च माध्यमिक तहका अध्ययनका लागि ५० छात्रवृत्ति नेपाल–पाकिस्तान युवा परिषद्मार्फत उपलब्ध गराउने घोषणा गरे।

यसअघि, राजदूत हाश्मीले विराटनगरमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री माननीय रिवती भण्डारीसँग भेट गरी हालै आएको बाढीका कारण प्रभावित जनताप्रति पाकिस्तान सरकार र जनताको तर्फबाट हार्दिक संवेदना व्यक्त गरेका थिए। उनले आफ्नो इलाम भ्रमणको उद्देश्य र प्रभावित समुदायहरूसँगको प्रत्यक्ष भेटघाटबारे मन्त्रीलाई जानकारी गराएका थिए।