विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण


काठमाडौँ।

प्यालेस्टिन कट्टरपन्थी समूह हमासले बन्धक बनाएको अवस्थामा मारिएका नेपाली युवा विपीन जोशीको शव सोमबार काठमाडौं आइपुगेको छ । इजरायल सरकारले उनको शव काठमाडौंसम्म ल्याइदिएको हो ।

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल पुगेर प्रधानमन्त्री सुशीला कार्कीले विपीनको शवमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएकी छन्। साथै प्रधानमन्त्री कार्कीले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीसँगै ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल लगायतले विपीनलाई श्रद्धाञ्जली दिएका थिए ।

उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लगिने छ । कञ्चनपुरमै भोलि उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।