काठमाडौँ।
मोडल तथा टिकटकर आँचल नाथ भनिने कल्पनाकुमारी नाथ मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
प्रतिवादीहरुमा दैलेखको भगवती नगरपालिका-१ घर भएका २६ वर्षीय सन्जु विक, रुकुम चौरजहारी गाउँपालिका-६ घर भएकी अनु भनिने उर्मिला विक, सिन्धुपाल्चोककी २६ वर्षीया सरु भनिने सरस्वती भण्डारी, कैलालीको गौरीगंगा गाउँपालिका-१ कि २२ वर्षीया राजेश बुढा र सोही ठाउँकी २२ वर्षीया लक्ष्मी बुढा छन् ।
उनीहरूमध्ये सञ्जु मात्रै पक्राउ परेका छन् । बाँकी चार जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरूविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा पाँच वर्षसम्म कैदको माग गरिएको छ ।
२१ वर्षीया नाथ पछिल्लो दुई वर्षदेखि भक्तपुरको थिमिमा डेरा लिएर बस्दै आएकी थिइन् । अहिले प्रतिवादी बनाइएका व्यक्तिहरुसँग उनको टिकटकमार्फत नै चिनजान भएको र टिकटक लाइभमै विवाद भएको त्यसपछि ज्यान मार्नेसम्मको धम्की आएको दाबी गरिएको छ। सोहीअनुसार उनले प्रहरीमा जाहेरी पनि दिएका थिए ।
९ असोजको दिन नाथ जलेको अवस्थामा कोठामा भेटिएकी थिइन् । उद्धार गरेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएको मा ११ गते उनको मृत्यु भएको थियो ।
अनुसन्धानपछि प्रहरीले धम्की दिनेहरुविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा चलाउनु पर्ने राय दिएको थियो ।











प्रतिक्रिया