प्रकृति पूजन– १: ‘इनर्जी क्यान नाइदर बि क्रिएटेड नर डिस्ट्रोएड’

376
Shares

म तत्कालीन काठमाडौं म.न.पा. ४ वडा (हाल १२ वडा) ब्रह्मटोल, वरननीस्थित गल्लीको कुनामा गरिबी र अविकसित टोल प्रायः ज्यापू बस्तीमा जन्मेको मान्छे । मेरो पिता अङ्ग्रेजी भाषा नास्ति भए पनि नेपालीमा ११ पास गरेको मान्छे । टोलमा बुबाले बालबच्चालाई सित्तै पढाउँदै गर्दा पनि बच्चाका आमा–बुबा ‘पढेर के पाइन्छ ? खेतमा गए खान पाइन्छ’ भनेर खेततर्फ आकर्षित गर्न खोज्ने बासिन्दा ।

यस्तै साथीसङ्गतमा हुर्केकाले आनीबानी र स्वभावमा पनि त्यसको असर पर्न त कुनै नौलो भएन । त्यसैले एकपटक फेल भई दोस्रोपटक तेस्रो श्रेणीमा एस.एल.सी. उत्तीर्ण हुँदा पनि आनन्दित मान्छे म । त्यसताका नागरिकता बनाउन सेक्सन अफिसरको सिफारिस चाहिनेमा बल्लतल्ल टोलसँगैको ‘हाकु मार्साहेब’ भानी बोलाउने हेडमास्टर तुलसीबहादुर सिंहको सिफारिस पाइयो । उति बेला मलाई मेरो परिवारमा पनि एक सेक्सन अफिसर, इन्जिनियर वा एक डाक्टर हुँदो हो त जीवन कति सुखमय होला हुँदो हो भन्ने लागेको थियो । तर यस ८१ वर्षको उमेरसम्म ठडिँदा ‘एक इ. सेनाको प्रमुख सेनानीसहित तीन डाक्टर परिवारमा जिउँदै हुँदा पनि सुख पाइएन जस्तो लागिरहेको छ । आखिर सुखको अन्तिम स्वाद त सन्तोष नै रहेछ ।ब्रह्म स्पोर्टस् क्लबका ११ जना संस्थापकहरूमध्ये आफू एकमात्र जीवन्त संस्थापक भए पनि सोचविचार र भावना सार्वजनिक गर्दै यहाँहरुसमक्ष उपस्थित भएको छु।

आफ्नो चाहना, आवश्यकता र इच्छाको फलस्वरूप मानिसले समूह बनाई समाज खडा गरेका हुन् । यसरी समाजमा रहँदा उनीहरूको उद्देश्य परिपूर्ति हुँदै गएकाले मानवजाति समाजप्रति आकर्षित भएको हो । यो भावनाको विकास मानवमा मात्र नभई पशुपक्षी, कीटपतङ्गमा पनि भएको पाइन्छ । विभिन्न लतालहरा, खहरा, प्वालभित्र कीटपतङ्गले झुन्ड नै बनाई आफ्नो आहारा, खाना वा गहौँ पदार्थहरू घिसारिरहेको र तानिरहेको त देखेकै छौँ । मांसाहारी जीवजन्तुको भयबाट सुरक्षित रहन साकाहारी जीवजन्तु पनि समूह वा हुल बनाई जङ्गलमा चरन गरिरहेको दृश्य त टी.भी., मोबाइल आदिमा हेरिरहेकै वा देखिरहेकै विषय हो । तसर्थ सबै जीवजन्तु, मानिस, पक्षी, कीटपतङ्गले पनि क्षमताअनुसार संरक्षित वा सुरक्षित हुन प्रयास गर्दा रहेछन् भन्ने त खुलस्त भयो नि !

मानिसलाई सर्वश्रेष्ठ प्राणीको रूपमा गनिएको छ । मानिसले जन्मदेखि मृत्युसम्म र मृत्युपश्चात् पुनर्जन्ममा समेत भलो र कल्याण होस् भन्ने भावनाले अनेकौँ दान, धर्म, पूजा, पाठ, व्रत, उपवास गर्दै समाजलाई परिष्कृत गर्न चाहनु त राम्रै हो नि ! अनि अनेकोँ रीतिरिवाज, परम्परा, थितिबिती, उत्सव, महोत्सव, मेला, पर्वको साथै देव, देवालय, मन्दिरको दर्शन, घुमफिर आदि गर्दै सरसल्लाह र वार्तालाप हुँदा ज्ञान, गुण, बुद्धि, विचार, सोच, समझको विकास पनि अवश्य नै हुन्छ होला नि !
प्रकृतिमा स्थापित सबै देव–देवालय, मठ–मन्दिर, ईश्वर, भगवान्, विधाता, परमात्मा आदिको मूर्ति, प्रतिमा, शिला, तस्वीर, रूप, स्वरूप आदि साक्षात् भगवान् वा ईश्वर प्रकट वा अवतरण भई विराजमान भएको त पक्कै होइन होला । बरु उत्खनन गरेर, खोदेर, गोडेर, कोरेर वा अन्य कुनै प्रकारले स्थापित गरेकोमा विश्वस्त हुन सकिन्छ ।

समाजमा व्याप्त नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपा माओवादी दलहरूको जननी पनि मानव नै हुन् भनी कदापि बिर्सनुहुँदैन । नेपोलियन, हिटलर, पुष्पकमल दाहाल प्रभाकरण, ओसामा बिन लादेनजस्ता खुङ्खार शासक वा नेताहरू पनि मानव नै त हुन् । जापानको हिरोसिमा र नागासाकीमा खसालेको बमले हताहत र ध्वस्त संरचना पनि आखिर मानवले बनाएको यन्त्र वा उपकरण हुन् भनी संयमित हुनुपर्छ । आखिर उन्नतिको मुख्य मार्ग शान्ति नै हो भन्ने यथार्थ जान्नुपर्छ ।

यसरी शान्तिको सुन्दर पक्षलाई छाडी हत्या, हिंसालगायत जघन्य अपराध प्रवृत्तिमा लाग्ने पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरू, नेताहरू यस देशमा पनि छ्यापछ्याप्ती रहेका छन् । धोकाबाजी, ठगी, चोरी, डकैती, गुन्डागिरी, बलात्कार, जग्गाकाण्ड, सुनकाण्ड, सहकारी काण्डदेखि सर्वमान्य नेताको पगरी र पहिचानमा समेत धब्बा लाग्ने गरी उनकै शाखा सन्तानबाट मानहानि वा मानमर्दन हुनु भनेको त इतिहासमै कलङ्क लागेको होइन र ? सर्वमान्यको आन, वान र शानलाई धूलो चटाएन र ?
एस.एल.सी. बोर्डफस्ट भई विद्वान्मा चर्चित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको ‘ब्रह्म’ पनि शून्यतामै बिलाएको छ भने के.पी. ओलीको पूर्वराजाप्रति व्यङ्ग्य ‘कुशको मूर्ति’ भन्ने अति घिनलाग्दो होच्याउने भावना अङ्कित स्तरहीन शब्दले त नीचता र किड्नी फेरेको झझल्कोसमेत बिउँताएको देखिन्छ ।
माथि अभिव्यक्त मेरो धारणा र विचारले कसैलाई ठेस वा चोट पुगेको भएमा यसलाई सन्दर्भ र वास्तविकताको कसीमा मापदण्ड गर्न हुन आग्रह गर्दै मेरो मुख्य उद्देश्य तः प्रकृतिसँगै खुलुल्ल, सुलुल्ल बग्ने मनसाय रहेकाले यसैमा बग्दै छु ।

परापूर्वकालमा यस सृष्टि अन्धकारमय भई ब्ल्याक होल (कालो धब्बा) को रुपमा देखिन्थ्यो रे ! समयको कुनै कालखण्डमा यो ब्ल्याक होल एकाएक ह्वात्त खोलिएर अर्थात् आवरण उदाङ्ग भएर प्रकृति, धरती, जगत्, पृथ्वी, विश्व वा ब्रह्माण्डको दर्शन गर्न संसारले पाएको भन्ने जनश्रुति पनि व्याप्त छ । जे होस्, अघि वा पछि यसको दर्शन पाई मनुष्यले समेत भोग गरिरहेको त यथार्थ नै हो नि !

प्रकृतिविना शक्ति र शक्तिविना प्रकृति असम्भव याने कल्पनातीत रहेको छ । त्यसैले होला ‘इनर्जी क्यान नाइदर बि क्रिएटेड नर डिस्ट्रोएड’ भन्ने भावना व्याप्त छ । अर्थात् प्रकृतिसँग शक्तिको कहिल्यै नछुट्टिने र ननाशिने अगाध सम्बन्ध गाँसिएको छ । प्रकृतिविनाको शक्ति र शक्तिविनाको प्रकृति कल्पना नै गर्न सकिँदैन ।

यो प्रकृति वा धरती शक्तिसँग कहिल्यै नछुट्टिने गरी मायामोह र बाचाबन्धनमा बाँधिएको छ । प्रकृतिविना शक्ति र शक्तिविना प्रकृति असम्भव याने कल्पनातीत रहेको छ । त्यसैले होला ‘इनर्जी क्यान नाइदर बि क्रिएटेड नर डिस्ट्रोएड’ भन्ने भावना व्याप्त छ । अर्थात् प्रकृतिसँग शक्तिको कहिल्यै नछुट्टिने र ननाशिने अगाध सम्बन्ध गाँसिएको छ । प्रकृतिविनाको शक्ति र शक्तिविनाको प्रकृति कल्पना नै गर्न सकिँदैन । सृष्टिको आरम्भमा भएको प्रकृतिको भार र वर्तमानमा भएको शक्तिको भारमा एक रती पनि फरक नभएको र पानीमा समेत एक थोपा पनि घटबढ भएको छैन । पानी कहिल्यै एकरूपमा नरही बाफ र बरफमा परिणत भएर पुनः पानीमै रुपान्तरण मात्र भएको हो भनिन्छ ।.

जे भए तापनि सम्पूर्ण सजीव, निर्जीव, तत्व, जीवजन्तु, पक्षी, पदार्थ र मनुष्यसमेत प्रकृति, धरती, पृथ्वी, जगत् वा ब्रह्माण्डकै उपज हुन् भन्नेमा त दुविधा छैन र व्यवहारमा पनि यिनीहरूलाई मातापिताकै रूपमा पूजाआजा, अर्चना, वन्दना गर्दा श्रद्धा, भक्ति र भाव नै प्रकट होला भन्ने ठानेको छु ।

आखिर देवता अर्थात् ब्रह्मा र महेश्वर पनि तः प्रकृति देवी वा धरती माताकै सन्तान हुन् । ब्रह्मा र महेश्वरको पनि आयु तोकिएको छ । राम, कृष्ण भगवान्ले तः प्रकृति वा धरतीमै जन्म लिनुभएको कथा रहेको छ । यसर्थ प्रकृति वा धरतीलाई नै देवी वा माताको रूपमा पूजाअर्चना गर्नु नै सर्वोत्तम लागे तापनि सनातनदेखि चलिआएका देवीदेवता कृष्ण, राम, महादेव, ब्रह्मा आदिलाई पनि चटक्कै त्याग्न त अति गाह्रो हुन्छ नि ! बेला–बेलामा पुज्ने र भज्ने गरिन्छ । (बाँकी भाग क्रमशः आगामी सोमबार ।)

(लेखक वज्राचार्य पद्मोदय स्कूल, काठमाडौँका पूर्व–शिक्षक हुनुहुन्छ ।)