नेपालीको दोस्रो ठूलो चाडको रुपमा रहेको तिहारको रौनक छाइसकेको छ । यतिखेर तिहारको खुशीयालीसँगै चारैतिर झिलिमिली वातावरणले सबैलाई मोहित पारिरहेको छ । घर–घरमा सरसफाइ र सजावट शुरु भएको छ, बजारमा फूलमालाको सुगन्ध फैलिएको छ र मुटु–मुटुमा हर्षोल्लास छ । तिहार केवल उज्यालो र दीपावलीको पर्व मात्र होइन, यो नेपाली समाजको सुसंस्कृत मूल्य, आत्मीयता र आपसी सम्बन्धलाई उजागर गर्ने महान् अवसर हो । तिहारका पाँच दिन काग, कुकुर, गाई, गोरु र भाइ तिहार जीवनका विभिन्न रूपहरूको सम्मानका प्रतीक हुन् । प्रकृति र पशुपक्षीप्रति कृतज्ञता, परिवारप्रति माया र सम्बन्धमा समर्पणको भाव तिहारको आत्मा हो । दिदीबहिनी–दाजुभाइबीचको स्नेह र सम्बन्धलाई सुदृढ बनाउने भाइटीकाको परम्परा नेपाली समाजको भावनात्मक एकताको सुन्दर अभिव्यक्ति हो ।
धनकी देवी महालक्ष्मीको आराधनादेखि दीपा प्रज्ज्वलनले समृद्धि र शुभताको सन्देश दिन्छ । उज्यालो सधैं ज्ञान, सत्य र विकासको प्रतीक हो । त्यसैले तिहारको दियो केवल घरको अँध्यारो हटाउने माध्यम होइन, मन र समाजको अन्धकार पन्छाउने सन्देश पनि हो । यो पर्वले हामीलाई अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न प्रेरित गर्छ । तर पछिल्ला वर्षहरूमा तिहारको मौलिक सौन्दर्यमा आधुनिकताका नाममा विकृति थपिँदै गएको देखिन्छ । पटका पड्काउने, जुवातास खेल्ने, मादक पदार्थ सेवन गर्ने, देउसी–भैलोलाई दान संस्कृतिको सट्टा आयआर्जन र कक्टेल संस्कृतिमा रूपान्तरण गर्ने प्रवृत्ति मौलाइरहेको छ । हामीले परम्परा तथा मूल्य–मान्यताहरुलाई बिर्संदै जान थालेको अनुभूति हुने गरेको छ ।
यदि यस्ता विकृतिहरु समयमा नै नियन्त्रण हुन सकेन भने यसले तिहारको धार्मिक, सांस्कृतिक र सामाजिक मर्मलाई बिर्साउने खतरा बढाएको छ । हाम्रा पर्वहरू खर्चिलो र प्रदर्शनमुखी बन्न थालेका छन्, जसले चाडपर्वको आत्मालाई फिका बनाउँछ । यस्ता प्रवृत्ति नरोकिने हो भने हाम्रा मौलिक संस्कृति लोप भएर जाने सम्भावना रहन्छ । जुन देशले आफ्नो संस्कृतिको संरक्षण गर्न सक्दैन, त्यो देशले विकास र समृद्धि हासिल गर्न कठिन हुन्छ । त्यसैले सरकारले नै यस्ता महत्वपूर्ण चाडपर्वको उचित संरक्षण र संवद्र्धन गर्न जरुरी छ ।
तिहारले सिकाउने सन्देश स्पष्ट छ– सद्भाव, सहअस्तित्व र समृद्धिको यात्रा । यस पर्वको अर्थ घर–घरमा झिलिमिली बाल्नु मात्रै होइन, मनमा उज्यालो बाल्नु पनि हो । समाजका अग्रज पुस्ताले यो सन्देश नयाँ पुस्तासम्म पु¥याउन जरुरी छ, ताकि हाम्रो संस्कृति केवल प्रदर्शनका लागि होइन, आचरणका लागि पनि जीवित रहोस् । देश अहिले इतिहासकै कठिन मोडमा उभिरहेको अवस्थामा यसलाई सही बाटोमा हिँडाउन सबै एकजुट भएर लाग्नुपर्छ । सबैले आ–आफ्नो स्वार्थ र लोभलालच त्यागेर देशलाई संकटमोचन गराउन पनि तिहार पर्वले आवश्यक सन्देश दिन सकोस् भन्ने शुभेच्छा छ । तिहारको मूल भाव सादगी, कृतज्ञता र समर्पण हो । घरमा दीप बाल्दा मनमा पनि उज्यालो बालौं, दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध मात्र होइन, सम्पूर्ण समाजमा प्रेम, सहिष्णुता र शुभकामना बाँडौं । देशलाई नै उज्यालो वातावरणतर्फ अघि बढाऔं । यही हो तिहारको साँचो अर्थ, यही हो उज्यालोको सन्देश । सबैमा शुभकामना !











प्रतिक्रिया