खेलकुद समितिको नयाँ भवन निर्माण

658
Shares

इलाम।

इलाममा अब खेलाडीका लागि नयाँ आशाको केन्द्र निर्माण भएको छ । वर्षौंदेखि जोखिमपूर्ण पुरानो भवनमै गतिविधि सञ्चालन गर्दै आएको जिल्ला खेलकुद विकास समितिले अब आधुनिक भवनमा प्रवेश गरेको छ । संघीय सरकारको बजेटमा बनेको यो भवनले जिल्लाको खेलकुद क्षेत्रमा नयाँ अध्याय लेख्ने अपेक्षा गरिएको छ ।

समितिको पहिलो चरणको नयाँ भवन निर्माण सम्पन्न भएसँगै वर्षौँदेखि जोखिमपूर्ण पुरानो भवनमा निर्भर रहँदै आएका खेलकर्मीहरूको समस्या समाधान हुने देखिएको छ । एको छ । संघीय शहरी विकास मन्त्रालयको बजेटमा निर्माण गरिएको यो भवन पहिलो चरणमा ५० लाख रुपैयाँ लागतमा एक तल्ला सम्पन्न गरिएको हो ।

डिपिआर अनुसार यो भवन चार तल्ले हुनेछ, जसको अनुमानित लागत पाँच करोड रुपैयाँ रहेको समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाको भनाई छ । “यो भवनले अब इलामका खेलाडीलाई सुरक्षित र व्यवस्थित वातावरणमा अभ्यास गर्न सहयोग गर्नेछ” अध्यक्ष बाँस्तोलाले बताए ।

समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाको नेतृत्वमा अघि बढाइएको परियोजनाले अब जिल्लामा खेलकुदका गतिविधि अझ सुदृढ हुने संकेत देखाएको छ । निर्माण सम्पन्न पहिलो तला र निर्माणाधीन दोस्रो तला व्यवसायिक प्रयोजनका लागि सञ्चालन गर्ने योजना छ ।

तेस्रो तलामा समितिको कार्यालय रहनेछ भने चौथो तलामा खेलाडीका लागि कभर्ड हल निर्माण गरिनेछ । ११ आनाको क्षेत्रफलमा फैलिएको यो भवन अहिले आंशिक रूपमा सञ्चालनमा आएको छ । यससँगै समितिले जिल्लामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई विकेन्द्रिकरण गरी २०७९ सालदेखि पालिका–पालिका स्तरमा सञ्चालन गर्दै आएको छ । हालसम्म तीनवटा पालिकामा प्रतियोगिता सम्पन्न भइसकेको छ भने अब माइ नगरपालिकामा आयोजना गर्ने तयारी भइरहेको छ ।

यसका लागि बजेटको अभाव भने समितिको मुख्य चुनौती बनेको छ । प्रदेश खेलकुद विकास बोर्डबाट वर्षमा अढाईदेखि तीन लाख रुपैयाँ मात्रै आउँछ, त्यो रकम जिल्लाका सम्पूर्ण गतिविधि सञ्चालनका लागि पर्याप्त नहुने समितिले जनाएको छ । धेरै योजना भएपनि स्रोत र बजेट सीमित रहेकाले खेलकुदका लागि तीनै तहको सरकारको ध्यान आवश्यक छ ।

जिल्लाको खेलकुद विकासमा अझ गति ल्याउन संघीय, प्रदेश र स्थानीय तहबीचको समन्वय र पर्याप्त बजेट अपरिहार्य भएको समितिको भनाइ छ । यसैबीच, अध्यक्ष खगेन्द्र बाँस्तोलाको नेतृत्वमा चार वर्षे कार्यकाल पूरा गरेको समितिलाई एक कार्यक्रमका बीच विदाई पनि गरिएको छ ।