जेन–जी आन्दोलनपछि ओली पहिलोपटक पार्टी कार्यालय च्यासलमा

सुरक्षा चुनौतीका कारण निर्वाचन नहुने दाबी


काठमाडौँ।

निवर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलसँग संवाद नगरी निर्वाचनको वातावरण बन्न नसक्ने दाबी गर्नुभएको छ । उहाँले वर्तमान सरकारको राजनीतिक दलसँग संवाद गर्नै नचाहने रबैया र बढ्दो सुृरक्षा चुनौतीका कारण देखाउँदै आगामी २१ फागुनमा निर्वाचन हुन नसक्ने ठोकुवा गर्नुभयो ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि अध्यक्ष ओली पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा पुग्नुभएको हो । जेन–जी आन्दोलनका क्रममा प्रधानमन्त्रीबाट अपदस्थ हुनुभएका उहाँलाई सेनाको हेलिकप्टरबाट भागेको आरोप लाग्दै आएको छ । आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालय पनि जलेर क्षतिग्रस्त भएको थियो ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रहरीका एक हजार २ सय हतियार र एक लाखभन्दा बढी गोली लुटिएर बाहिर रहेको तथा साढे पाँच हजार कैदी फरार रहेका अवस्थामा निर्वाचनमा जान कठिन हुने दाबी गर्नुभयो ।

‘जेन–जी भाइबहिनीले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि राखेका माग जायज छन्, तर त्यसका नाममा हिंसा मच्चाउने तत्वले गरेका अराजक क्रियाकलापको हामी समर्थन गर्न सक्दैनौं ।’ ओलीले भन्नुभयो– ‘ समाजमा त्रासको वातावरण राखेर सरकार चलाउन वा निर्वाचन गराउनुहुँदैन । हामी लोकतान्त्रिक प्रणालीमा छौं । हाम्रो सुरक्षा र स्वतन्त्रताको रक्षा राज्यले गर्नुपर्छ । नागरिकले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने अवस्था आउनुहुँदैन ।’

उहाँले आफूहरू कुनै कमजोर शक्ति नभई लोकतन्त्रका लागि लडेर आएका दल भएको जिकिर गर्दै भन्नुभयो– ‘हामी लोकतन्त्र र शान्ति सुव्यवस्थाको पुनःस्थापना गर्न लाग्नेछौं । त्यसका लागि एमाले सक्रिय रहनेछ ।’

एमाले अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापना आफ्नो पार्टीको अडान भएको जनाउँदै पार्टीको नीतिमा स्पष्ट र ढुक्क भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।