काठमाडौं।
उज्यालोको पर्वका रूपमा लिइने चाड तिहारको यमपञ्चक शनिबारदेखि सुरु भएको छ । नेपालीहरुको दोस्रो ठूलो पर्वका रुपमा रहेको तिहार प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । यमपञ्चकको पहिलो दिन शनिबार धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाइयो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यमदीपदान पनि शनिबारदेखि नै सुरु भएको छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा. देवमणि भट्टराईले आइतबार काग तिहार परेको जानकारी दिनुभयो ।
यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ । धनवन्तरी जयन्ती पनि आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ ।
कात्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन रहेको छ । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहेको छ । यस वर्ष कात्तिक ४ गते मङ्गलबार औँसी तिथि दिउँसो ४ः२९ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व परेको छैन । कात्तिक ४ गते यमपञ्चक अर्थात् तिहारको मध्य समय परे पनि शास्त्रले तोकेअनुसार कुनै कर्म परेको छैन ।











प्रतिक्रिया