काठमाडौं ।
मानव तस्करीविरुद्धका कठोर कानुनी प्रावधान र सरकारी प्रतिबद्धताका बीच पनि नेपाली नागरिकहरू अझै विदेशी भँमिमा बेचिन, शोषित र अपमानित हुन बाध्य छन् । भिजिट भिसा र ‘रोजगारीको सुनौलो सपना’ को नाममा दलालहरूको जालो यति फैलिएको छ कि वैध कागजातबिनै र नियामक निकायको आँखा छल्दै सयौं युवा तथा युवतीहरू प्रतिदिन दुबई, कतार, साउदी र मलेसियातिर पठाइँदै छन् ।
भोजपुरकी रिता सापकोटा (नाम परिवर्तन) त्यस्तै एउटा प्रतिनिधि पात्र हुन्, जसको कथा आज पनि नेपाली समाज र प्रशासनको संवेदनशीलतामा ठँलो प्रश्नवाचक चिह्न बनेको छ । आर्थिक कठिनाइ र घरको जिम्मेवारीले थिचिएकी रितालाई चितवन घर भएका विवेक तिमिल्सिना नामक व्यक्तिले टिकटकमार्फत रोजगारीको प्रस्ताव पठाए । टिकटकमार्फत सम्पर्कमा आएका विवेकले उनलाई दुबईमा घरेलु कामदारको रूपमा पठाउने, खाना र बस्न पैसा नलाग्ने, मासिक ५० हजार तलब पाउने र त्यसका लागि साढे तीन लाख खर्च लाग्ने भन्दै आफ्नो जालमा फसाए ।
रिताले ऋण खोजेर विवेकले दिएको खातामा रकम पठाइन् । केही दिनपछि उनी दुबई पुगिन् । तर, एयरपोर्टमै उनलाई लिन आएका अनिल र समीर नामका व्यक्तिबाट उनले आफँ बेचिएको थाह पाइन् । रिताले भनिन्– ‘मलाई तीन–चार ठाउँमा घरेलु कामका लागि पठाइयो । कतै मालिकले कुट्थे, कतै रातभर काम लगाउँथे । १५–१६ जना एउटै कोठामा कोचेर राख्थे । मलगायत त्यहाँ रहेका अन्य कामदारहरूलाई मान्छे हैन, जनावरलाई जस्तै व्यवहार गरिन्थ्यो ।’
दुबईस्थित केही सामाजिक कार्यकर्ताहरूले जब टिकटकमार्फत रिताको बिलौना सुने, त्यसपछि घटनाले नयाँ मोड लियो । जुझारु नेपाली युवक ‘मिस्टर गुरुङ’ (नाम परिवर्तन) को टोलीले उनको अवस्थाबारे थाहा पाएपछि १० मिनेटभित्र त्यहाँ पुगेर रितासहित सात महिला र छ पुरुषलाई उद्धार ग¥यो ।
बिरामी भएकी रितालाई तत्काल टिकट काटेर नेपाल फर्काइयो ।तर, कथा यत्तिकै सकिँदैन, दलाल विवेक तिमिल्सिनाले उल्टै युट्युबमा ‘उद्धारकर्तामाथि’ नै अपमानजनक टिप्पणी र लान्छना लगाउन थाले । पीडित नेपाल फर्केपछि मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिइन् । ब्युरोका प्रमुख कृष्ण पंगेनीका अनुसार जाहेरी दर्ता भइसकेको छ, अनुसन्धान अघि बढाइएको छ । यस्ता अपराधमा संलग्न जो भए पनि कारबाही अघि बढाईने छ ।
ब्युरोका एक अनुसन्धान अधिकृतका भनाइमा, भिजिट भिसामार्फत मानव तस्करी अहिले निकै बढेको छ । दलालहरूले भिजिट भिसालाई वैदेशिक रोजगार भिसाजस्तै प्रचार गर्छन् । दुबईस्थित नेपाली दँतावास, वैदेशिक रोजगार विभाग र श्रम मन्त्रालयको कमजोरी पनि यसै घटनाले उजागर गरेको छ । पीडित रिताको प्रश्न छ– ‘किन विमानस्थलमा सोधखोज हुँदैन ? किन दलालहरू खुला हिँड्छन् ? किन दूतावास मौन छ ?’
मानव अधिकारकर्मीहरूका अनुसार रिताजस्ता पीडित सयौँ छन् । प्रत्येक दिन कतिपय महिला र पुरुषहरू गलत जानकारीमा भिजिट भिसा लिएर खाडी मुलुक जान्छन् । भिसाको नाममा दलालहरूले रकम उठाउँछन्, अनि विदेशमा पुगेपछि शोषण, कुटपिट र यौन हिंसामा पार्छन् ।
प्रहरीका अनुसार गत वर्षमात्रै भिजिट भिसामार्फत तस्करी भएका दर्जनौं घटनामा संलग्न दलालहरूविरुद्ध मुद्दा चले पनि धेरैजना ‘संस्थागत आवरण’ भित्र लुकेका छन् । केहीले ‘एनजीओ’ र ‘कन्सल्टेन्सी’ को आवरणमा यो धन्दा सञ्चालन गर्दै आएका छन् ।
रिता सापकोटा आज नेपाल फर्केकी छिन् । तर, उनका शब्दमा अझै पीडा झल्किन्छ । यदि, मिस्टर गुरुङले उद्धार नगरेका भए म सायद ज्यानै गुमाउँथे ।
रिताको कथा एकजना महिलाको मात्र होइन, हजारौं नेपालीको साझा पीडा हो । जो ‘रोजगारी’ खोज्दै नर्कमा फसिरहेका छन् । किन अझै पनि भिजिट भिसाको आडमा नेपाली बेचिन्छन् ? किन दलालहरू जेल होइन, टिकटकमा छन् ? यसको उत्तर कोहीसँग छैन ।











प्रतिक्रिया