नेपाल समाचारपत्र दैनिकका नियमित स्तम्भकार प्रेम रावत भारतको तेलङ्गाना राज्यका गभर्नर एवं डा. बी.आर. अम्बेडकर खुला विश्वविद्यालयका कुलपतिद्वारा ‘डाक्टर अफ लेटर्स’ उपाधिबाट सम्मानित हुनुभएको छ । डा. बी.आर. अम्बेडकर खुला विश्वविद्यालयको २६ औँ दीक्षान्त समारोहका अवसरमा गत सेप्टेम्बर ३० मा हैदरावबादस्थित भवन्नम वेंकट्रम सभागृहमा सम्पन्न समारोहमा तेलङ्गाना राज्यका गभर्नर तथा विश्वविद्यालयका कुलपति जिष्णुदेव वर्माले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ता, लेखक एवम् शान्तिदूत प्रेम रावतलाई ‘डाक्टर अफ लेटर्स’ उपाधिले सम्मानित गर्नुभएको हो ।
सो अवसरमा गभर्नर एवं कुलपति जिष्णुदेव वर्मा, प्रमुख अतिथि प्रा. उमा कञ्जिलाल (कुलपति, इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय), प्रा. घण्टा चक्रपाणि, तेलुगु साहित्यका प्रख्यात कवि गोरटी वेङ्कन्नासहित विश्वविद्यालयका डिन, प्राध्यापक, विद्यार्थी र तिनका परिवारका सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।
विश्वविद्यालयले प्रेम रावतको जीवनभर शान्ति र मानव कल्याणप्रतिको समर्पणलाई उच्च प्रशंसा गर्दै उहाँको योगदानलाई ‘अतुलनीय र अनुपम’ भनेर उल्लेख गरेको छ । सम्मानपत्रमा उहाँले आफ्ना विभिन्न पुस्तक, प्रशिक्षण कार्यक्रमहरू, डिजिटल सामग्रीहरू तथा संयुक्त राष्ट्रसंघ, युरोपेली संसद्, हार्वर्ड, अक्सफोर्ड, आईआईएम अहमदाबाद, आईआईटी दिल्ली र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा गर्नुभएका प्रयासहरूले विश्वभरका लाखौँ मानिसलाई आफ्नो आन्तरिक शक्ति पहिचान गर्न र जीवनमा सन्तुष्टि प्राप्त गर्न प्रेरित गरेको कुरा उल्लिखित छ ।
उहाँको शान्ति शिक्षा कार्यक्रम उहाँका अन्तर्राष्ट्रिय व्याख्यानहरूमा आधारित छ । हाल विश्वभरका १५ सयभन्दा बढी शैक्षिक संस्थानमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । यसबाट ५ लाख १७ हजारभन्दा बढी मानिसहरू लाभान्वित भएका छन् । यो कार्यक्रम ८० देशका ८ सय ९० भन्दा बढी कारागारहरूमा समेत सञ्चालन भइरहेको छ । यसमा तेलङ्गानाका जेलहरूसमेत समावेश छन् । यो कार्यक्रम ४० भन्दा बढी भाषामा उपलब्ध छ । यसले कैदीबन्दीहरूमा पुनः अपराध गर्ने प्रवृत्ति घटाउन महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।
हालै उहाँको द प्रेम रावत फाउन्डेसनद्वारा विशेषतः शिक्षक, विद्यार्थी र शिक्षा–विशेषज्ञहरूका लागि तयार गरिएको पेप ईडीयू नामक नयाँ संस्करण प्रारम्भ गरिएको छ । यस फाउन्डेसनले भारत सरकारको शिक्षा मन्त्रालयसँग एउटा सम्झौता गरेको छ । यसअन्तर्गत उक्त कार्यक्रम भारतकै सबैभन्दा ठूलो अनलाइन शिक्षा प्लेटफर्ममध्येको ‘स्वयं प्लस पोर्टल’ मा उपलब्ध गराइएको छ ।
उहाँको विश्वविख्यात कृति ‘हियर योरसेल्फः हाउ टु फाइन्ड पिस इन अ नोइजी वल्र्ड’ न्युयोर्क टाइम्सको सर्वाधिक बिक्री भएको पुस्तक हो । यसलाई हालसम्ममा नेपालीसहित १८ भाषामा अनुवाद गरिसकिएको छ । सङ्गीत, कला तथा फोटोग्राफीप्रति पनि उहाँको गहिरो रुचि रहेको छ ।
हैदराबादमा आयोजित समारोहमा आफ्नो विचार व्यक्त गर्दै प्रेम रावतले तेलङ्गानाका गभर्नर तथा विश्वविद्यालयका कुलपति जिष्णुदेव वर्मा, कुलपति प्रा. घण्टा चक्रपाणि, सम्पूर्ण शिक्षकमण्डल, कर्मचारी र विद्यार्थीहरूप्रति आभार प्रकट गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, ‘यस्तो संस्थाको सानो अंश बन्न पाउनु मेरा लागि गौरवको विषय हो । म पनि आफ्नो तर्फबाट ढोका खोल्ने प्रयास गर्छु । व्यापार वा बाह्य खोजका लागि होइन, आन्तरिक खोजका लागि, शान्ति र आन्तरिक क्षमताका लागि ।’
प्रेम रावत अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ता, न्युयोर्क टाइम्सको सर्वाधिक बिक्री भएको पुस्तकका लेखक, शिक्षक तथा शान्तिदूत हुनुहुन्छ । पाँच दशकभन्दा पनि अघिदेखि उहाँको शान्ति सन्देशले १ सय १० भन्दा बढी देशका लाखौँ मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ । सन् २०२३ देखि २०२५ सम्मको अवधिमा उहाँले तीनवटा गिनिज विश्व कीर्तिमान कायम गरिसक्नुभएको छ ।











प्रतिक्रिया