काठमाडौं।
आईसीसी टी–२० विश्वकपअन्तर्गत एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोटबाट नेपाल आगामी टी –२० विश्वकपमा पुगेको छ । बुधबार भएको खेलहरूमा नेपालको अनुकूल नतिजा निस्केपछि नेपाल दुई खेल खेल्नअघि नै टी–२० विश्वकपमा पुगेको हो । यो नेपालको लगातार दोस्रो र समग्रमा तेस्रो पटकको टी–२० विश्वकपमा सहभागिता हुनेछ ।
नेपालले तीन खेलमा ६ अंक जोडेको अवस्थामा जापान र सामोआ मुख्य रूपमा तगारो बन्ने सम्भावनामा थियो । तर, हिजो भएको खेलमा जापान कतारसँग र सामोआ संयुक्त अरब इमिरेट्ससँग पराजित भए । ती टोलीको हारले नेपाललाई सन् २०२६ मा भारत र श्रीलंकाद्वारा संयुक्त आयोजनामा हुने टी–२०विश्वकपमा पु¥यायो ।
नेपालसँगै ओमान पनि आगामी टी–२०विश्वकपमा पुगेको हुनाले तेस्रो टोलीका रूपमा अरब इमिरेट्स वा जापान प्रतियोगितामा छनोट हुन सक्नेछ । अरब इमिरेट्सको ४ अंक छ भने जापानको २ अंक छ ।
आगामी खेलमा जापान र अरब इमिरेट्सले एक अर्कोसँग खेल्ने भएको हुँदा यी दुई टोलीमध्ये एकलाई प्रतियोगितामा पु¥याइने तथा सामोआ र कतारको सम्भावना समाप्त भइसकेको हुनाले नेपाल छनोट भएको हो । यस क्षेत्रीय छनोटबाट तीन टोलीले आगामी टी–२० विश्वकपमा खेल्ने प्रावधान रहेको छ । साथै आगामी विश्वकप प्रतियोगितामा २० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकपमा खेलेको थियो । त्यसबेला पारस खड्काको नेतृत्वमा रहेको नेपाली टोलीले प्रारम्भिक चरणमा खेलेको थियो । तर, २०२४ को टी –२० विश्वकपमा भने नेपालले अन्तिम चरणकै प्रतियोगितामा खेलेको थियो । अहिले नेपाली टोली रोहित पौडेलको कप्तानीमा रहेको छ ।
नेपालले समूह चरणमा जापान र कुवेतलाई हराएको थियो । जसमा, जापान सुपरसिक्समा पुगेपछि नेपाललाई सुपर सिक्समा स्वतः २ अंकको लाभ भयो । यसपछि सुपरसिक्समा नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्सलाई १ रनले र दोस्रो खेलमा कतारलाई ५ रनले हराएको थियो । नेपालले ओमान र सामोआसँग खेल्न बाँकी छ ।











प्रतिक्रिया