काठमाडौं।
नेपालमा आधुनिक स्नायु स्वास्थ्य विज्ञानका प्रवर्तक प्रा.डा. उपेन्द्र देवकोटाको नाममा स्थापना भएको उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाइड साइन्सेज (न्युरो अस्पताल, बाँसबारी) ले अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सेवा प्रणाली थप गर्दै स्नायु सम्बन्धी उपचारमा नयाँ उचाइ लिएको छ ।
देशकै पहिलो स्नायु विशेषज्ञ संस्थाको रुपमा स्थापित यस अस्पतालले मस्तिष्क, मेरुदण्ड, स्नायु र मांशपेशीसँग सम्बन्धित जटिल रोगहरुको उपचारमा आधुनिक उपकरणमार्फत सेवा विस्तार गरेको हो । अस्पतालले हालै भित्र्याएका अत्याधुनिक उपकरणहरु विश्वस्तरीय स्नायु शल्यक्रिया तथा उपचारलाई थप सुरक्षित, सहज र प्रभावकारी बनाउने दाबी गरिएको छ ।
यो उपकरण नेपालमै पहिलोपटक भित्र्याइएको स्टेल्थ–८ न्युरो नेभिगेसन सिस्टमले मस्तिष्क र मेरुदण्डको हुबहु चित्र प्रदान गर्ने भएकाले रोगग्रस्त भाग मात्र लक्षित गरी शल्यक्रिया गर्न सकिनेछ । यसले पार्किन्सन, मिर्गी लगायत चालसम्बन्धी समस्यामा प्रयोग हुने डिप ब्रेन स्टिमुलेशन (डिविएस) जस्ता प्रविधिमा समेत सहयोग पु¥याउनेछ ।
त्यस्तै, हालै थपिएको केनोभो ९०० रोबोटिक माइक्रोस्कोपले न्युरो शल्यचिकित्सकलाई दृश्य र स्वतः फोकस सुविधा प्रदान गर्नेछ, जसले जटिल र समय लाग्ने शल्यक्रिया सहज बनाउनेछ । तीनवटा माइक्रोस्कोपको प्रयोगबाट एकैदिन धेरै शल्यक्रिया सम्भव हुँदा सेवाग्राहीलाई प्रतिक्षा गर्नुपर्ने अवस्था हट्ने अस्पतालले जनाएको छ ।
मेरुदण्डसम्बन्धी अपरेशनमा प्रयोग हुने ओ–आर्म प्रविधिले शल्यक्रियालाई अझ सटीक र सुरक्षित बनाउनेछ । यो प्रविधि स्टेल्थ–८ सँग मिलेर डीबिएस र लिजनिङ्ग प्रविधिमा समेत प्रयोग गर्न सकिने जानकारी गराइयो ।
शल्यक्रियाका बेला बिरामीको स्नायु प्रणालीको तरङ्ग मापन गर्ने इन्ट्रा अपरेटिभ न्युरो मनिटरिङले अपरेशनको समयमा सम्भावित जोखिम न्यून गर्नेछ । यसले बेहोस बिरामीमा नसाको क्रियाशीलता निगरानी गर्न सहयोग पु¥याउने अस्पतालले बताएको छ ।
देशकै पहिलो १२८ च्यानलयुक्त ईइजी मेसिन प्रयोगमा ल्याइएपछि छारे रोग (एपिलेप्सी) को प्रभावकारी पहिचान र उपचार सम्भव भएको छ । यसले विशेष गरी बालबालिकामा देखिने जटिल झट्का, गम्भीर बेहोसी अवस्थाको निदानमा सघाउँछ ।
यसैगरी, च्यानलयुक्त ईइजी मेसिनको प्रयोगबाट केही न्युरोलोजिकल समस्यामा शल्यक्रिया नगरी रेडियो फ्रिक्वेन्सी प्रविधिबाट उपचार सम्भव भएको छ । यो प्रविधि ट्राइजेमिनल न्युराल्जिया लगायत दुखाइ सम्बन्धी समस्यामा प्रभावकारी मानिएको छ ।
संस्थाले स्थापना कालदेखिनै आर्थिक कारणले कसैलाई पनि उपचारबाट वञ्चित नगरिने नीति अवलम्बन गर्दै आएको संस्थाका अध्यक्ष डा. मधु देवकोटाले बताए । अस्पतालले सबै सेवा चौबिसै घण्टा एउटै छानामुनि उपलब्ध गराउँदै आएको छ । भविष्यमा सेवा स्तर उकास्दै स्नायु स्वास्थ्यमा उप–विशेषज्ञता प्रवर्धन गर्दै लैजाने लक्ष्य समेत लिएको जानकारी गराए ।











प्रतिक्रिया