उपयोगी पुस्तक: ‘मुटुका कुरा’

4.04k
Shares

नियमित रक्सी खानेबाहेक चाडपर्व, पिकनिक, पार्टी वा अरु कुनै जमघटको बेला रमाइलोको लागि प्रायः धेरैले रक्सी खाने गर्छन्, तर रक्सी खाँदा औषधि खाइरहेको व्यक्तिको मनमा रमाइलो भन्दा पनि एक किसिमको त्रास मडारिइरहेको हुन्छ । त्यो होः आफूले खाने गरेको औषधि र रक्सीका बीच कुनै अन्तरक्रिया भएर स्वास्थ्यमा हानी पुग्ने हो कि ? कतिपय व्यक्तिलाई औषधि र रक्सीले हानी पुग्न सक्छ भन्ने ज्ञान पनि हुँदैन । तर, कतिपयलाई हानी पुगिरहेको हुन्छ ।

विशेष गरी हिजोआज नसर्ने रोगबाट पीडित हुनेहरूको सङ्ख्या धेरै छ । उनीहरूले एउटा वा सोभन्दा बढी औषधि खाइराखेका हुन्छन् । रक्सी–चुरोट खाने बानी धेरैजनाको छ । रोग लागेपछि रक्सी–चुरोट छोड्न डाक्टरले दिएको सल्लाह धेरैले मान्दैनन् । उनीहरू औषधिको साथै रक्सी–चुरोट पनि खाने गर्छन्, जसले गर्दा बिरामीको उपचार राम्रोसँग  हुँदैन, रोगका जटिलताहरू उत्पन्न हुन्छन् र धेरैजनाको आकस्मिक मृत्युसमेत हुन्छ । कुनै–कुनै बिरामी बेलुकी खानुपर्ने औषधि बिहान खान पाए हुन्थ्यो भनेर चिकित्सकसँग जिज्ञासा राख्छन् । कतिपयले त बेलुकीको औषधि डाक्टरको सल्लाहविना नै छाडिदिन्छन् । चिकित्सकले यस बारेमा बुझ्दा उनीहरू बेलुकी सधैँजसो रक्सी पिउने गरेको अनि रक्सी र औषधिबीच रियाक्सन पो हुने हो कि भन्ने डरले औषधि खान छाडिदिने गरेको चिकित्सकहरु अनुभव सुनाउँछन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मी भन्नु हुन्छ, ‘रक्सी र औषधि विच अन्तरक्रिया हुन सक्छ, जसका कारण गम्भीर जटिलताहरू उत्पन्न हुन सक्छन् । रक्सी र औषधि अनि रक्सी र रोगको अवस्थाबीचमा हुने अन्तरक्रियाहरू धेरै छन् । 

धेरैले दैनिक खाने भनेको उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल, रगत पातलो पार्ने, ग्यास्ट्रिक, दम–खोकी, बाथरोग आदिका औषधिहरू हुन् । रक्सीले औषधिको असरलाई बढाउने, घटाउने वा थप अप्रिय लक्षणहरू उत्पन्न गराउने गर्न सक्छ । 

जस्तोःरगत पातलो पार्ने औषधिको असरलाई रक्सीले बढाउँछ । यस कारण यस्ता औषधिहरू (एस्पिरिन, वारफारिन) सेवन गर्नेहरूले रक्सी धेरै पिउँदा शरीरबाट रक्तस्राव हुने सम्भावना बढी हुन्छ । रक्सी धेरै पिउँदा रक्तचाप पनि धेरै बढ्छ, मुटुको धड्कन पनि बढ्छ । मुटुलाई बढी चाप पर्छ । रक्तचाप घटाउने कतिपय औषधिहरू रक्सीको प्रभावबाट निष्क्रिय हुन जान्छन् । यसो हुँदा  हृदयघात र मस्तिष्कघात हुने सम्भावना बढेर जान्छ । मधुमेहका औषधिहरूलाई पनि रक्सीले नकारात्मक असर पार्छ । कुनैको असर बढाउँछ, कुनैको घटाउँछ । रक्सीले निद्राको औषधि, मानसिक रोगको औषधि र एलर्जीको औषधिको असरलाई बढाइदिन्छ । थोरै औषधिले पनि धेरै लाग्ने हुन्छ । लठ्ठ पार्ने हुन्छ । सबैले बुझ्नुपर्ने के हो भने, रक्सी र औषधिबीच अन्तरक्रिया हुन्छ, जुन धेरैजसो अवस्थामा अप्रिय हुन्छ । रक्सी र रोगबीच अन्तरक्रिया रक्सीले निरोगीलाई रोगी बनाउँछ, रोगीको रोग बढ्छ ।’

डा रेग्मी भन्नुहुन्छ, ‘रक्सी र कुनै–कुनै औषधिका बीच यस्तो विशेष अन्तरक्रिया हुन्छ कि यसबाट अत्यन्तै अप्रिय शारीरिक स्थिति उत्पन्न हुन्छ, जसले मान्छेलाई अशक्त बनाउन सक्छ । यस्तो अन्तरक्रिया हुँदा  शरीर बेस्सरी तात्तिने, वाकवाकी लाग्ने, उल्टी हुने, पसिना धेरै आउने, रक्तचाप घट्ने, चक्कर लाग्ने, मुटु छिटो–छिटो धड्किने, मरिहाल्छु कि जस्तो आभास हुने आदि लक्षणहरू देखा पर्दछन् । त्यसैले मेरो सल्लाह छः विभिन्न कारणले औषधि सेवन गरिरहनुभएकाहरूले रक्सीको सेवन बन्द गरेकै राम्रो हो, रक्सी पिउनै पर्ने अवस्था हुनेहरूले डाक्टरको सल्लाहबमोजिम गर्नुभए उत्तम हुनेछ । ’ 

रक्सीको कुरा मात्र होइन, हाम्रो भान्सामा दैनिक रुपमा प्रयोग गरिने अनेक उपभोग्य बस्तुहरु पनि कुन र कति मात्रामा खाने भन्ने धेरैलाई ज्ञान हुँदैन, जसले गर्दा हामी गलत तरिका र अनुपयुक्त मात्रामा सेवन गरिरहेका हुन्छौं । जस्तोः कुखुराको अण्डा कतिवटासम्म खाने ? अण्डाको पहेंलो भाग खाने कि नखाने ? कोलेस्टेरोल बढी भएकाले अण्डा खाने कि नखाने ? यसमा विभन्न किसिमका मतहरु आइरहेका छन्, पछिल्लो बैज्ञानिक अवधारणा के हो त ?

यस्ता जिज्ञासाहरुको जवाफ दिदै यस सम्बन्धमा पछिल्लो बैज्ञानिक तथ्यहरुसमेत समेटेर वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले हालै ‘मुटुका कुरा’ नामक अत्यन्तै उपयोगी पुस्तक तयार गरी प्रकाशन गर्नु भएको छ । यो पुस्तक ज्यादै उपयोगी र लोकप्रिय भएकाले प्रथम संस्करण प्रकाशन भएको एक महिना नपुग्दै बृहत संख्यामा दोस्रो संस्करण प्रकाशन गर्न तयारी थालेको डा रेग्मीले जानकारी दिनु भएको छ । 

पुस्तकको सम्बन्धमा डा रेग्मीको भनाइ छ, ‘आफ्नो अध्ययन, कार्य अनुभव र अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सेवाग्राहीहरुका समस्या र सुझाव समेतको आधारमा यो पुस्तक तयार गरिएको छ । मैले सकेसम्म आम जनताको दैनिक जीवनमा उपयोगी हुने विषय वस्तुलाई यसमा समेट्ने प्रयास गरेको छु ।’

वास्तवमा ‘मुटुका कुरा’ नामक यस पुस्तकमा मुटु र मुटु रोगका विविध पक्षमा प्रकाश पार्नुका साथै दैनिक जीवनमा उपभोग गरिने बस्तु तथा हामीले दैनिक जीवनमा भोगिरहेका स्वास्थ्य समस्याहरु बारेमा सरल तथा बुझ्न सहज हुनेगरी स्पष्ट पार्नु भएको छ । जस्तो कि घिउ खाने सम्बन्धमा पनि भिन्न विचारहरु आएको सञ्चार माध्यममा देखिन्छ, सुनिन्छ । धेरै मानिस यसमा अलमलमा परेको भेटिन्छ । मुटुसम्बन्धी रोग भएकाहरु मध्ये कतिपय घिउ खान डराउँछन् भने कतिपय नडराइ खाइरहेका हुन्छन् । चिकित्सा शास्त्रको पछिल्लो खोजले यसमा के भनेको छ त ? त्यो कुरा लेखकले पुस्तकमा प्रष्ट्याई दिएर पाठकलाई गुन लगाउनु भएको छ । 

त्यस्तै गरी चिया दूध हालेको खाने कि कालो खाने ? नसा लाग्न सक्ने कफी कति फाइदाकारक छ ? स्वास्थ्यका लागि दूध फाइदा कि बेफाइदा ? नुन कुन राम्रो ? कति खाने ?, पानी कति पिउने ? खानका लागि कुन तेल ठीक ?, स्वास्थ्यका लागि कुन चामल ठीक ? गुलियो कति खाने ? नुन, चिनी र घिउ : कुन असल, कुन खराब ? खुर्सानीले स्वास्थ्यले स्वास्थ्यमा के असर गर्छ ? जड्ढ फूड के हो, किन खानुहुन्न ? भन्ने विषयमा पनि स्पष्ट पारिदिनु भएको छ ।

यस्तैगरी धेरैलाई देखिने स्वास्थ्य समस्या युरिक एसिड, कब्जियत,‘गानो–गोला’, तनाव व्यवस्थापन, मुटु हल्लिने समस्या, निद्रा, रोगसँग  लड्ने क्षमता बढाउने उपाय, औषधि नै रोगको कारण हुने सम्भावना, भिटामिन र सप्लिमेन्टको आवश्यकता लगायतका विषयमा ६२ वटा शीर्षकमार्फत सरल भाषा र मिठासपूर्ण शैलीमा प्रकाश पारिएकोले यो पुस्तक सबैका लागि पठनीय र उपयोगी छ ।

३०४ पृष्ठको यो पुस्तकको मूल्य पाँच सय रहेका छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान प्रकाशक रहेको यो पुस्तकको बिक्रीबाट प्राप्त रकम मुटुरोगको रोकथामका लागि उपयोग गरिने जानकारी दिइएको छ ।