सुर्खेतमा महिला माथि जबरजस्ती करणी : प्रहरी जवान फरार, खोजी जारी


सुर्खेत ।

जाजरकोट भेरी नगरपालिका–४ गैरीखालीकी २२ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको उजुरी परेपछि प्रहरी अनुसन्धान अघि बढेको छ ।

पीडित महिलाले दैलेख भगवतीमाई गाउँपालिका–७ घर भई हाल सिन्धुलीस्थित नेपाल प्रहरीको दुधौली तालिम केन्द्रमा जवान पदमा तालिमरत भक्तबहादुर बि.क. (२२ वर्ष) विरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता गराएकी हुन् ।

उनका अनुसार, मिति २०८२ असोज १७ गते राति करिब १२ बजे वीरेन्द्रनगर नगरपालिका–७, इत्रामस्थित आफन्तको घरको कोठामा लगेर बि.क.ले जबरजस्ती करणी गरेका थिए । सो घटनाबारे पीडितले असोज २८ गते दिउँसो करिब १ बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लिखित उजुरी दिएकी थिइन् ।

उजुरी दर्ता भएसँगै जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षकको कमाण्डमा विशेष टोली खटाई अनुसन्धान अघि बढाएको जनाएको छ । तर, घटनापछि भक्तबहादुर बि।क। फरार रहेका कारण प्रहरीले खोजतलास जारी राखेको जनाएको छ ।

प्रहरीका अनुसार घटना स्थल जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट करिब दुई किलोमिटर पूर्वतर्फ पर्छ । प्रारम्भिक अनुसन्धानपछि पीडितको स्वास्थ्य परीक्षण र आवश्यक प्रमाण संकलनको कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस घटनाबारे थप विवरण संकलन भइरहेको र आरोपीलाई शीघ्र पक्राउ गरी कानुनी कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।