उत्साहविनाको चहलपहलमा बित्यो यसपालिको दशैँ

752
Shares

युजी (घरमा पालिएको लेब्रोडग) निराश थियो । दशैँको चहलपहलसँगै घरमा टीका थाप्न आउने आगन्तुक पाहुनासँग रमाउँदै उफ्रने उसको चाहनामा तुषारापात भएको थियो शायद, किनभने प्रतिकूल समय र मौसमका कारण दशैँका पाहुना सीमित भएका थिए । जेनजी आन्दोलनपछिको पीडादायी संवेदनशील समयका कारण त्यसै पनि दशैँको रौनक हराएको थियो । झन् टीकालगत्तैको वर्षा र बाढी–पहिरोले मानवीय क्षतिसँगै माहौल बिग्रिएपछि दशैँको रौनक हराउने नै भयो ।

टीकाको दिन अपराह्न १२ बजेपछि चहलपहल शुरु हुने चरिकोटको सातदोबाटो चोक यो वर्ष सुनसानजस्तै भएको थियो । बजारका पसलहरु बन्द प्रायः थिए । निधारमा रातो टीका अनि टाउकोमा जमरा सिउरिएर हात गाँस्दै हिँड्ने जोडीहरु पनि यो वर्ष देखिएनन् । नातावाद, कृपावाद, भ्रष्टाचार अनि अहंकारी राजनीतिक प्रवृत्तिले थिलथिलो मनलाई जेनजी आन्दोलनको बालनरसंहार र ऐतिहासिक धरोहरको विनाशकारी वितण्डाले थला पारिदिएपछि हरेक नेपालीको दशैँ उत्साह, हुस्सुभित्र हराएको बस्तीजस्तै बनेको थियो । चरिकोटको सातदोबाटो चोक पनि त्यसैको मारमा उजाडिएको हो ।

टीकालगतै वर्षाको वितण्डा शुरु भयो । चरिकोटको सातदोबाटो चोक सवारीसाधन र मानिसले भरिभराउ बने । तर यो भीड दशैँ उत्साहको थिएन । बाढी वितण्डाको साइइ इफेक्ट थियो । अर्थात् दोलखासहित सिन्धुली, रामेछापतिरबाट काठमाडौँ गन्तव्य पहिल्याउँदै आएर चरिकोटमा अलपत्र परेका सवारीसाधन र यात्रुहरुको भीड थियो ।

त्यसो त दशैँ माहौल बिथोलिएको धेरै वर्ष बितिसकेको छ । कहिले विनाशकारी भूकम्पले बिथोलिदियो, कहिले कोरोना महामारीले बिथोलिदियो, कहिले आर्थिक सङ्कट र कहिले राजनीतिक अपराधीकरणले बिथोलिदियो । अनि यो वर्ष विगतका तिनै पीडादायी विकृत रापले तताएको जेनजी आन्दोलनको वितण्डाले बिथोलिदियो । जेनजी आन्दोलनमा ज्यान गुमाएका युवा तथा बालबालिकाको परिवारले दशैँ कसरी मनाउन सक्थ्यो र ! असल–खराब जेसुकै हुन्, घर हरेकको आश्रय स्थल हो । आश्रय स्थल गुमाएका ती नेता र व्यवसायीहरुको आँगनमा दशैँ कसरी आउन सक्थ्यो र ! केही नगुमे पनि ऐतिहासिक धरोहर सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायतका भौतिक संरचना नष्ट भएको पीडामा पिल्सिएका आम नेपालीको उत्साहमा दशैँ कसरी आउन सक्थ्यो र !

त्यसैले यसपटक कहीँ कसैको मन–मस्तिष्कमा दशैँ आउदै आएन । आफ्ना अग्रजको हातबाट टीका थापिए होलान्, मठ–मन्दिर पुगेर पूजा–आराधना गरे होलान्, केही थान नयाँ कपडा र केही धार्नी मासुको जोहो पनि भयो होला तर अहँ यसपटक कसैको घरमा पनि उत्साहको दशैँ आएन ।

दशैँकै सेरोफेरोमा इलामलगायत देशभर आएको बाढी–पहिरोमा परी ४३ जनाले ज्यान गुमाएको अप्रिय खबर र सामाजिक सञ्जालमा छरपस्ट बाढी–पहिरो वितण्डाको भयावह दृश्यले अलि–अलि रमाएका मनहरु पनि थकित र गन्तव्यविहीन बनेका थिए । र त युजी (लेब्रोडग) पनि निराश भयो । किनभने ऊ पनि प्राणी नै त हो । खालि बोल्न जान्दैन, भावना त छ नि ऊभित्र पनि ।
यसै मेसोमा मैले आफ्नो बाल्यकालको दशैँ सम्झिएँ । नयाँ कपडा लगाउँदा र अग्रजको घर–घरमा पुगेर टीका थाप्दा प्राप्त भएको नयाँ नोटले महिनौंसम्म उत्साहको पुलिन्दा चुलिएको हुन्थ्यो । पाँच, दश र बीसका नयाँ नोट महिनौं खल्तीमा कटकटाइरहेका हुन्थे । मन लागेका मिठाई र हलुवा–स्वारी, जेरी, रसवरी जति खाए पनि नोट नसकिने !

दशैँ उत्साह पनि कतिसम्म भने, नयाँ कपडा भनेकै दिन सिलाएर तयार नभएपछि टीका थाप्ने बिहान टेलर मास्टर (हामी मामा भनेर सम्बोधन गथ्र्यौं) को घरमा धर्ना कसेर त्यतैबाट नयाँ लुगा लगाई चरिकोट पुरानो बजारका घर–घरमा टीका थाप्न दौडन्थ्यौं । दशैँ दौडमा हामी धेरै परसम्मको कुरा सोच्न सक्दैनथ्यौं । फेरि पनि अग्रज अभिभावकको घर–घरमा पुग्दा नयाँ नोटका बण्डलसँगै सम्मान, संस्कार र स–हृदयताको अनुभूति भने प्रशस्तै हुने गथ्र्यो ।

त्यो समय र त्यो उमेर । शायद चेतना शून्य थियो । उमेर समूहले मात्र जेनजी थियौं हामी त्यति बेला । चेतना र अभियानमा हामी शून्य थियौं । जेनजी, उमेर समूह मात्र हैन, अभियान पनि हो । जेनजी अभियान स्मार्ट इन्टरनेट, रचनात्मकता, बोल्ड, रंगीन र सहभागितामूलक हुने गर्छ । जेनजी समूह सामाजिक न्याय, वातावरण, लैङ्गिक समानता र विविधताको विषयमा बढी नै सचेत रहने विश्वास गरिन्छ । तर हामी त्यति बेला यी सबै वियषसँग अनजान र अनभिज्ञ थियौं । एउटा कुरामा चाहिँ हामी धनी थियौं, त्यो भनेको अग्रजको सम्मान र संस्कार । अहिलेको जेनजी पुस्तामा कतै सम्मान र संस्कारको स्खलन हुँदै गएको हो कि ! केही उट्फट्याङ व्यवहारले शङ्का उब्जाउने गर्छ ।

दशैँमा राँगा, खसी–बोका काटेको दृश्यसँग डराउँदै र रमाउँदै उफ्रने । अग्रजहरुको घर–घरमा पुगेर टीका थाप्ने र नयाँ नोट जम्मा गरी मन लागेको कुरा किनेर खाने मात्र हाम्रो लक्ष्य हुने गथ्र्यो । हामी टेलिफोन र इन्टरनेटको पहुँचबाट कोसौं टाढा थियौं ।
मलाई तुलना गर्न मन लाग्यो, आफ्नो जेनजी उमेर समय र अहिलेको जेनजी अभियन्ताको जीवन शैलीबीच । आकाश–जमिनको फरक थियो । हामी टुकीमा अक्षर पहिल्याउँदै हुर्कियौं । अहिले इन्टरनेटमा सूचना पढ्दै हुर्किएका छन् । हाम्रो ध्येय आफ्नो खुशीसँग सरोकार राख्ने मात्र थियो र हाम्रो परिवेश आफ्नो परिवारसम्म मात्र सीमित थियो । अहिले विश्वको परिवर्तन ध्येय बोकेर ब्रह्माण्डभरि आफ्नो परिवेश खोज्ने पुस्ता बनेको छ जेनजी ।

अनि म झस्किएँ ! अहिलेको राजनीतिक नेतृत्व त टुकीमा अक्षर पहिल्याउँदै हुर्किएको पुस्तासम्म पनि आउन सकेको छैन । सल्लाको खोटो (दियालो) बालेर कालोपाटीमा खरीले कोर्दै अक्षर चिनेकाहरु नै राजनीतिक नेतृत्वमा थिए । यिनले जेनजीको इन्टरनेट ज्ञानको हेक्का राख्न सकेनन् । मोबाइलको स्क्रीनमा विश्वज्ञान बोकेर हिँडेका जेनजी उमेर समूहका अभियन्ताहरुको भावना बुझ्न सकेनन् । उनीहरुलाई अपत्यारिलो विद्रोहतर्फ धकेलिदिए । परिणाम, दशैँको मुखमा सबै नेपालीको उत्साहमा विसाद पसिदियो । त्यसो त जेनजी विद्रोहपछि सरकारको नेतृत्वमा पुगेकाहरु जेनजी उमेर समूह वा जेनजी अभियानमा जोडिएकाहरु छैनन् । तर उनीहरुको कार्यशैली जेनजी अभियानको गतिसँग अघि बढ्छ भन्ने अपेक्षा गरिएको छ ।

अहिलेको सरकारको कतिपय कार्यशैली विवादित नभएको पनि होइन । सरकार कसले, कसरी चलाएको छ भनेर आमरुपमा प्रश्न गरिन थालिएको छ । समयक्रममा यसको जवाफ मिल्ला नै, तर दशैँको माहौलमा प्राकृतिक प्रकोपको वितण्डामा सरकारले अपनाएको सजगताले भने जेनजी अभियन्ताको गतिलाई आत्मसात् गरेको महसुस भएको छ । यो गति नागरिकको दैनिक जीवनसँग जोडिएको हरेक विषयमा केन्द्रित भएर अघि बढ्न सक्यो भने दशैँको पीडामा मलहम लाग्न सक्छ ।

जेनजी विद्रोहपछिको राजनीतिक परिवर्तनको लयमा धिमा गतिमा अघि बढेको दशैँ उत्साह वर्षातको भेलले बगाइदिएपछि नागरिकको अपेक्षा पूर्णतः सरकारको गतिविधिमा निर्भर रहेको छ । युवाको समर्पण र इलामको पीडा यो वर्षको दशैँमा सधैँको खुड्को बनेको छ । त्यसैले समर्पण र पीडाको जगमा नयाँ नेपालको उदय हुनुपर्छ । जहाँ अग्रजको अनुभव र जेनजीको परिकल्पनाबीच फ्युजनको नयाँ मार्गचित्र कोरिएको होस् ।