नेपाल शक्ति राष्ट्रहरूको चेपुवामा परेको मुलुक हो । यो चेपुवाको दबाब पछिल्ला तीन दशकयता झनै बढ्दो छ । भारत र चीन दुवैको दृष्टिमा नेपाल एउटा ‘बफर जोन’ मात्र होइन, आफ्नो रणनीतिक प्रभाव क्षेत्र पनि हो । दुवैले नेपालको राजनीतिक दिशा आफ्नो अनुकूलमा राख्न प्रयत्न गर्दै आएका छन् ।
नेपालले स्वतन्त्र नीति अपनाउने संकेत दिँदा हरेकपटक कतै न कतैबाट संकटको जाल बुन्ने काम भइरहन्छ । पछिल्लो दशकमा त नेपालको असफलताको कथा विश्वमञ्चमा लेखाउने अभियान नै चलेको छ । ‘नेपालले केही गर्न सकेन, असफल राष्ट्र बन्दै छ’ भन्ने धारणा सिर्जना गराउने प्रयत्न भइरहेका छन् र त्यो पनि नेपालीकै अनुहार प्रयोग गरेर । देश छोडेर विदेशी नागरिकता लिएका केही नेपालीभाषी पात्रहरू विदेशी सञ्चार र कूटनीतिक वृत्तमा नेपालबारे नकारात्मक आख्यान फैलाउने माध्यम बनेका छन् ।
तर दोष केवल बाहिरका शक्तिलाई मात्रै दिएर उम्कन सकिँदैन । यहाँका दलहरूले पनि देशभक्त नीतिको सट्टा दलभक्त अभ्यासलाई नै परम्परा बनाइदिए । परिणामस्वरूप कुनै पनि सरकारलाई जनताका पक्षमा दीर्घकालीन नीति कार्यान्वयन गर्न नदिने संस्कार बन्यो । संसदीय प्रणालीका नाममा हुने–नहुने सबै प्रयोग गरियो । परिणाम शासन ‘जनताको लागि’ होइन, ‘दल र नेताका लागि’ मात्र सीमित रह्यो ।
त्यो कमजोर शासन व्यवस्थाको रिक्त ठाउँमा अहिले ग्लोबल ‘डिपस्टेट’ हरूले हात हालिरहेका छन् । विदेशी लगानीमा यहाँ ‘स्वतन्त्र युवाहरू’ निर्माण भइरहेका छन्, जसले नेताको विरोध गर्ने नाममा मुलुकविरुद्ध घृणा फैलाउने काम गरिरहेका छन् । सामाजिक सञ्जालमा लाखौं सेयर पाउने यस्ता आवाजहरूमा केही यथार्थ भने छन् । नेताका सन्तान लुटपाटमा मस्त छन्, भ्रष्टाचार व्याप्त छ । तर त्यसैका आडमा देशविरुद्धको जनमत निर्माण हुनु अर्को खतरनाक प्रयोग हो ।
नेपालका युवालाई ‘देश सकियो’, ‘यहाँ केही हुँदैन’ भन्ने निराशाको खेती गराएर सत्ताको उलटफेरमा प्रयोग गरियो । पाश्चात्य शक्तिहरूले यही निराशालाई इन्धन बनाए । आन्दोलनका नाममा सत्ता परिवर्तन गर्ने नयाँ रणनीति यही थियो । यसबीच दलहरू पनि उन्मादमा थिए, ‘हामीबाहेक कोही छैन’ भन्ने अहंकारले ढाकिएका । तर जनविद्रोहको केही घण्टाको आँधीले ती सबैको शक्ति शून्यमा पुग्यो । सात दशक लामो संघर्षपछि आएको लोकतन्त्र एकै झट्कामा ‘शिशाको घर’झैँ ढल्यो ।
अहिले दलका नेताहरू पानीले झिजेका मुसाझैँ प्वालबाट संसार हेर्न बाध्य छन् । विदेशी शक्तिलाई नेपालभित्र खेल्ने ठाउँ दिने गल्ती यिनै दलहरूले गरे, जसको परिणाम आज आम नेपालीले भोगिरहेका छन् । आज ‘जेनजी आन्दोलन’ को नाममा भएको घटनाले कसलाई फाइदा पु¥यायो भन्ने प्रश्न अझै खुला छ । जसरी नयाँ सरकार बनाइएको छ, त्यसले पनि स्पष्ट सन्देश दिन्छ– नेपाललाई अझै परनिर्भर दिशातर्फ धकेल्ने खेल जारी छ ।
पश्चिमी शक्तिहरू असन्तुष्ट छन् । उनीहरूलाई आफ्नो स्वार्थ पूरा गर्न नदिइए आउँदो केही महिनामै अर्को उलटफेरको तयारी भइरहेका सूचना सार्वजनिक भइरहेका छन् । त्यो कति सत्य हो, समयले नै देखाउनेछ । तर यतिचाहिँ निश्चित छ कि देशको भू–राजनीतिक सन्तुलन बुझ्न नसक्ने दलहरू, विदेशी इशारामा चल्ने नेतृत्व र निराशामा बाँच्न थालेका युवा पुस्ताले नेपाललाई पुनः संकटतर्फ लैजाने संकेत देखिन थालेको छ ।
सुरक्षा निकायहरूसमेत अहिले आफ्नै अस्तित्व जोगाउने संघर्षमा छन् । नेपाल प्रहरीजस्तो संस्था पनि ‘आफ्नो बास’ खोज्दै हिँड्नुपर्ने अवस्था स्वतन्त्र राष्ट्रको संकेत होइन । नेपाललाई अब पुनः उठाउने जिम्मेवारी सबै नेपालीका सामु छ । विदेशीको इशारामा होइन, आफ्नै आत्मसम्मानको जगमा देशको दिशा तय गर्न सक्ने दृढ नेतृत्व आवश्यक छ । नत्र आजको अस्थिरता केवल शुरुवात हो, सिंगो प्रणाली नै ढल्ने सम्भावना बढ्दै जान्छ ।











प्रतिक्रिया