स्याङ्जा ।
स्याङ्जाको भीरकोट नगरपालिका–६ एकुवारका मगर समुदायका महिलालाई दिएको नौमती बाजा तालिम फलदायी बनेको बनेको छ । वडा र नगरको संयुक्त प्रयासबाट दिइएको नौमती बाजा तालिमबाट २२ महिलाले सीपमात्रै सिकेका छैनन्, आयआर्जन गर्नसमेत सफल भएका छन् । तालिम लिएका महिलाले पञ्चेबाजा आमा समूह गठन गरेका छन् ।
गत आर्थिक वर्षमा वडाले महिलालाई तालिम दिन २ लाख बजेट छुट्याएको थियो । तालिम पश्चात् समुदायका विभिन्न चाडपर्वमा बाजा बजाएर समूहमार्फत २ लाख रुपियाँ कमाउन सफल भएको आमा समूहका अध्यक्ष धनमाया थापा मगरले बताउनुभयो । थापाले भन्नुभयो– ‘कमाइको केही अंश बाजा मर्मतसम्भारका लागि छुट्याएका छौं । अरू रकम समूहका सदस्यलाई दामासायी रूपमा बांँड्दै आएका छौं ।’
यहाँको नौमती बाजा महिला समूहमा ३० महिला आबद्ध छन् । समूहमा मगर समुदायका महिला सहभागी छन् । एकपटक नौमती बाजा बजाएको २५ देखि ३० हजार लिने गरिएको छ । समूहका महिलाले आफूलाई तीन टोलीमा विभक्त गराई विभिन्न स्थानमा नौमती बाजा बजाउन जाने गरेका छन् । केही समय पहिलेसम्म कुनै एक समुदाय विशेषका पुरुषले मात्र नौमती बाजा बजाउने चलन थियो । उक्त परम्परा तोड्दै जातीय भेदभाव हटाउने उद्देश्यले समुदायका सबैले नौमती बाजा बजाउन थालेका छन् । नौमती बाजामा पुरुष एकाधिकारको अन्त्य गर्दै कतिपय बाहुन, क्षेत्री समुदायका महिलाले पनि बाजा बजाएर आर्थिक आम्दानी गरिरहेका छन् ।
नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले मगर आमा समूहले संस्कृतिको संरक्षणमा देखाएको चासो र प्रयासप्रति सम्मान व्यक्त गर्नुभएको छ । स्थानीयको जीवनस्तर उकास्न नगरपालिकाले सीप विकासका साथै कृषि क्षेत्रमा जनताको माग र आवश्यकताअनुसार विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो । नगर उपप्रमुख भगवती रेग्मी अर्यालले कला, संस्कृति र परम्पराको संरक्षणका लागि महिला दिदीबहिनीको हिम्मतको प्रशंसा गर्दै उनीहरूको मागअनुसार नै पुनर्ताजगी तालिम दिएको बताउनुभयो । ‘महिलासँग उपमेयर कार्यक्रम’मार्फत पुनर्ताजगी तालिम दिइएको बताउँदै उहाँले महिलाहरू सक्षम र उद्यमशील भएकोमा खुसी व्यक्त गर्नुभयो ।
बाजा बजाउने तालिमको पुनर्ताजगी गर्न र थप सक्षम एवं सिर्जनशील बनाउन नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा सिन्धुली कलाघरका कलाकारमार्फत थप प्रशिक्षण दिएको छ । सिन्धुली कलाघरका उपाध्यक्ष पवित्रा रम्तेल र रीता थिङले समूहका सदस्यलाई पुनर्ताजगी तालिम दिएका हुन् । उपाध्यक्ष रम्तेलले भीरकोट नगरपालिकाले संस्कृति संरक्षण र महिला सशक्तीकरणका लागि गरेको प्रयासको खुलेर प्रशंसा गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले मौलिक संस्कृतिको संरक्षणमा आमा समूह र समुदायले देखाएको तत्परताको प्रशंसा गर्नुभयो । सीमित स्रोतको उच्चतम सदुपयोग गरेर आमा समूहले मौलिक संस्कृतिको संरक्षण र आयआर्जनमा जुटेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।











प्रतिक्रिया