काठमाडौं ।
‘जेन–जी आन्दोलन’को नाममा देशभर प्रचारबाजी गर्दै हिँड्ने अर्जुनबहादुर शाही फेरि विवादमा परेका छन् । ठगी र चेक बाउन्स मुद्दामा पक्राउ परेका शाही पछिल्लो समय विभिन्न सरकारी कर्मचारीसँग नजिकिएका दृश्य सार्वजनिक भएपछि उनको गतिविधि पुनः शंकाको घेरामा आएको छ ।
सामाजिक सञ्जालमा शाहीलाई केही सरकारी अधिकारीले ‘ज्यू हजुरी’ गर्दै गरेको दृश्य सार्वजनिक भएपछि उनको भूतपूर्व आपराधिक रेकर्ड पुनः चर्चामा आएको हो । प्रहरीका अनुसार, शाहीमाथि विगतमा आकर्षक युवतीहरूलाई विदेश पठाइदिन्छु भन्दै रकम असुल्ने र पछि सम्पर्कविहीन हुने आरोपमा मुद्दा चलिसकेको छ । त्यस्तै, उनले जारी गरेको केही चेक बाउन्स भएर अदालतसम्म मुद्दा पुगेको प्रमाण पनि प्रहरीले फेला पारेको छ ।
शाही पछिल्लो समय आफूलाई ‘जेन–जी आन्दोलनका अभियन्ता’ भनेर प्रस्तुत गर्दै विभिन्न सरकारी कार्यालय, गैरसरकारी संस्था र संघसंस्थासँग सम्पर्कमा रहेका छन् । तर, उनको गतिविधि आन्दोलनको वास्तविक उद्देश्यभन्दा ठ्याक्कै उल्टो रहेको युवाहरूको आरोप छ ।
युवाहरूको भनाइमा, हामीले प्रणाली परिवर्तन र पारदर्शिता माग्यौं, तर उनीजस्ता ठगहरूले आन्दोलनको नाममा व्यक्तिगत फाइदा उठाउन थाले ।
शाहीले केही सरकारी निकायका कर्मचारीसँग मिलेर आफ्नो ‘सामाजिक छवि’ पुनः बनाउने प्रयास गरिरहेका छन् । उनीसँग नजिकिएका केही व्यक्तिहरू अहिलेसमेत अनुसन्धानको दायरामा परेका छन् ।
पक्राउ परेका बेला शाहीमाथि दर्ता भएका पुराना मुद्दा अहिले पुनः कानुनी प्रक्रियामा छन् । प्रहरी स्रोतका अनुसार, उनले युवतीहरूबाट विदेश पठाउने नाममा ठूलो रकम असुली गरेका थिए । पछि जब पीडितले सम्पर्क गर्न थाले, उनी गायब भएका थिए । सो घटनामा उनी पक्राउ परे पनि पछि धरौटीमा छुटेका थिए ।
त्यसपछि पनि उनले चेक बाउन्स र कागजी ठगीका फरकफरक मुद्दा भोगेका थिए । अहिले फेरि सरकारी कर्मचारीहरूसँगको सम्पर्कमार्फत आफ्नो छवि सुधार्ने र ‘सफा’ देखिने रणनीतिमा लागेको देखिन्छ ।
सामाजिक सञ्जालमा शाहीको गतिविधि र पुराना मुद्दा पुनः सार्वजनिक भएपछि नागरिकहरूबाट तीव्र प्रतिक्रिया आइरहेका छन् । धेरैले उनलाई जेन–जी आन्दोलनको बदनाम पात्र भन्दै समाजबाट बहिष्कार गर्न आह्वान गरेका छन् ।
एक सामाजिक अभियन्ताले भने– ‘हामीले परिवर्तनका लागि आन्दोलन ग¥यौं, ठगीका लागि होइन । यस्ता व्यक्ति नपक्रने हो भने फेरि अर्को वितन्डा मच्चिन्छ ।’ शाहीको प्रकरण केवल व्यक्तिगत आपराधिक विषय होइन, अहिलेको नयाँ पुस्तामाथि लगाइएको कलंक पनि हो । जेन–जी नाममा युवा आन्दोलनले आम नागरिकमा विश्वास कमाएको बेला यस्ता ठगहरूको सक्रियता आन्दोलनकै विश्वसनीयतामाथि प्रश्न उठाउने कारक बनेको छ ।
राजनीतिक आन्दोलन, युवा असन्तोष र विदेशी प्रलोभनको त्रिकोणबीच अहिले ठगहरूले नयाँ अवसर देखेका छन् । यदि राज्य संयन्त्रले यस्ता पात्रहरूलाई छिटो नियन्त्रणमा लिएन भने, आन्दोलनको नाममा अर्को ठगी र हिंसाको श्रृंखला सुरु हुने जोखिम बढ्दै छ ।
राजनीतिक नारा र सामाजिक आन्दोलनको आवरणमा ठगहरू घुसिरहेका छन् । यसलाई छिटो नछोट्याउने हो भने जनआन्दोलन र अपराधबीचको रेखा मेटिने खतरा छ । जेन–जीको नाममा आफूलाई अगुवा भनेर चिनाउने शाहीजस्ता पात्रहरूलाई अब समाजले मात्र होइन, राज्यले पनि कडा कानुनी कारबाहीको दायरामा ल्याउनु आवश्यक छ ।











प्रतिक्रिया