‘ममाथि भएको आक्रमण व्यक्तिगत नभई पद्धतिमाथिको प्रहार’

कांग्रेसमा महाधिवेशनका लागि हस्ताक्षर बुझाइने

1.88k
Shares

काठमाडौं ।

नेपाली कांग्रेसमा विशेष महाधिवेशन बोलाउने तयारी अन्तिम चरणमा पुगेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा संकलन गरिएको हस्ताक्षर आज बुधबार दिउँसो ३ बजे कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइने तयारी भएको छ ।

दुवै महामन्त्रीका अनुसार कांग्रेस विधानअनुसार विशेष महाधिवेशनका लागि आवश्यक ४० प्रतिशतभन्दा बढी प्रतिनिधिको समर्थन प्राप्त भइसकेको छ । १४औं महाधिवेशनमा ४ हजार ७ सय ४३ जना प्रतिनिधि सहभागी थिए भने मृत्यु, परित्याग तथा स्वतः प्रतिनिधित्व हराएका व्यक्तिहरू घटाउँदा हाल कायम ४ हजार ५ सय ५६ प्रतिनिधिमध्ये २ हजार ४ हजार ८७ जनाले हस्ताक्षर गरेका छन् । जुन कुल संख्याको ५४ दशमलव ५८ प्रतिशत हो ।

गगन–विश्वप्रकाश समूहले मंसिरभित्र नियमित महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशन अनिवार्य रूपमा बोलाउनुपर्ने तर्क गर्दै आएको छ । उनीहरूको भनाइमा, पार्टीमा नेतृत्व परिवर्तन र विचारात्मक पुनर्संरचनाको आवश्यकता अहिले अत्यन्तै बढेको छ । तर, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री थापाको हालैको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनुभएको छ ।
थापाले जेन–जी आन्दोलनपछि दिएको भाषणमा सभापति शेरबहादुर देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समेत अब राजनीतिबाट बिदा लिनुपर्ने बताउनुभएको थियो । महतका अनुसार यस्तो अभिव्यक्तिले पार्टीभित्र एकताभन्दा बढी विभाजनको सन्देश दिन्छ । उहाँले भन्नुभयो– ‘सिंगो पार्टीमाथि आक्रमण भएको छ, यस्तो बेला नेतृत्व परिवर्तनको बहसभन्दा पनि एकता र संगठन सुदृढीकरणमा ध्यान जानु आवश्यक छ । सभापतिले कार्यवाहक तोकेर अबको महाधिवेशनमा नउठ्ने घोषणा गरिसक्नुभएको छ, त्यसपछि पनि त्यही कुरा दोहो¥याउनु नेतृत्वभन्दा बढी पार्टी कमजोर बनाउने हो ।’

उहाँले अहिले पार्टीभित्रका भ्रातृ संस्थाहरूमा देखिएका समस्या समाधानका लागि केन्द्रीय समिति जिम्मेवार रहेको उल्लेख गर्नुभयो । साथै, सरकार प्रतिशोधको राजनीतिमा लागेको आरोप लगाउँदै संसद् पुनःस्थापनाको बाटो खुला राखिएको बताउनुभयो ।

४८ जिल्ला कार्यालय र १२५ घरमा आक्रमण

देउवाका अनुसार, भदौ २३ र २४ का घटनामा कांग्रेसका केन्द्रीय कार्यालयसहित ४८ जिल्लाका पार्टी कार्यालय र १२५ जना नेताको निजी आवासमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी भएको छ ।

विराटनगरको कोइराला निवासदेखि काठमाडौंको गणेशमान सिंह निवास र ललितपुरको कृष्णप्रसाद भट्टराई आश्रमसम्म आगजनी हुनु कांग्रेस नेताहरूका लागि ‘इतिहासकै सबैभन्दा मर्मान्तिक दिन’ भएको उहाँले बताउनुभयो । उहाँले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गर्दै भननुभयो– ‘देशका सबै निकायको मनोबल गिरेको छ । यस्तो अवस्थामा अदालत र सुरक्षा निकायहरूलाई उच्च मनोबलका साथ काम गर्न आह्वान गर्न चाहन्छु ।’

कांग्रेसभित्र अहिले देखिएको गतिविधि केवल महाधिवेशन तयारीमात्र होइन, नेतृत्वको पुस्तान्तरणको संकेत पनि हो । गगन–विश्वप्रकाश समूहले देउवा–महत नेतृत्वमाथि वैचारिक चुनौती दिएका छन् भने, देउवा समूहले स्थायित्व र एकताको पक्षमा सन्तुलन खोजिरहेको छ ।

देउवामाथि भएको आक्रमणले पार्टीलाई सहानुभूति दिलाए पनि, संगठनभित्रको असन्तुष्टि फेरि बढ्न थालेको छ । अब हस्ताक्षर बुझाइएपछि विशेष महाधिवेशनका माग औपचारिक हुनेछन्, जसले कांग्रेसको राजनीतिक दिशानिर्देश पुनर्लेखन गर्न सक्ने सम्भावना बढाएको छ । कांग्रेस अहिले ‘संवेदनशील मोडमा’ उभिएको छ । जहाँ निर्णय एउटा हस्ताक्षर वा एउटा भाषणले मात्र होइन, भविष्यको कांग्रेस र नेपाली लोकतन्त्रको दिशा तय गर्न सक्छ ।


देउवाको तीन निर्णय

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो मन्तव्यमै पहिलो निर्णय उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा गर्नुभएको छ । त्यसै गरी दोस्रोमा उहाँले विधानले तोकेको अवधिभित्र १५औं महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ भने तेस्रोमा फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले भाग लिने उल्लेख गर्दै देशलाई संवैधानिक बाटोमा फर्काउने आधार नै निर्वाचन भएको बताउनुभएको छ ।

देउवा जेन–जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुँदै उहाँले आफ्नो निवासमाथिको आक्रमणलाई ‘सुनियोजित’ र ‘पद्धतिमाथिको प्रहार’ भएको भन्दै भावनात्मक सम्बोधन गर्नुभयो । उहाँले भन्नुभयो– ‘गत भदौ २४ गते सिंगो मुलुक जलेको बेला मेरो ज्यान लिने मनसायले सांघातिक हमला गरियो । घरमा तोडफोड, लुटपाट र आगजनी गरियो ।

सुरक्षाकर्मीको अथक प्रयासले हामी जोगियौं । यो आकस्मिक होइन, योजनाबद्ध आक्रमण थियो ।’
देउवाले आफ्नो निवासमा नगद रकम भेटिएको भन्ने प्रचारलाई असत्य र षड्यन्त्रपूर्ण भन्दै त्यसबाट आफ्नो छवि बिगार्ने प्रयास गरिएको टिप्पणी गर्नुभयो । उहाँका अनुसार घटनाक्रमले व्यक्तिगत आक्रमणझैँ देखिए पनि, वास्तवमा यो देश, पद्धति र पार्टीमाथिको प्रहार हो ।

देउवाले घटनामा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै सुरक्षाकर्मी, शुभचिन्तक र राष्ट्रपति रामचन्द्र पौडेलप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘त्यो प्रतिकूल समयमा राष्ट्रपतिजीको परिपक्व भूमिकाले अर्को संकट टरेको छ ।’